–केशव भट्टराई
शक्तिखोर । नेपालमा व्यवसायिक बाख्रापालन उत्साहप्रद भइरहेको सन्दर्भमा चितवनमा विभिन्न पेसाकर्मीदेखि पर्यटन व्यवसायीसम्मले सामुहिक लगानी गर्न थालेका छन् । रत्ननगरबाट करिव २० किलोमिटर उत्तरमा पर्ने शक्तिखोर–४, बुङखोलास्थित गैरीबारीमा चिकित्सकदेखि संरक्षणकर्मीसम्मले बाख्रापालनमा हात हालेका छन् । एकवर्ष अघिदेखि ३५ जनाको लगानीमा सुरू भएको सहकारी अहिले नेपालमै नमुना बन्ने रणनीतिमा जुटेको छ ।
शक्तिखोरको गैरीबारीबाट आधा घण्टाको पैदल यात्रापछि उपरदाङगढी कृषि तथा पशुपक्षीपालन सहकारी संस्थामा पुग्न सकिन्छ । चितवनका व्यवसायी, संरक्षणकर्मी, सौराहाका होटल तथा पर्यटन व्यवसायी तथा विभिन्न पेसाकर्मीहरुको लगानीमा सात बिघा जग्गा किनेर बाख्रापालन गरिएको हो ।
संस्थाका सदस्य एवम् शहीद स्मृति क्याम्पसका स्टोर शाखा प्रमुख स्वागत अधिकारी भन्छन्, ‘आत्मनिर्भर बन्न र सामुहिक हितको उद्देश्य राखेर बाख्रापालन सुरू गरेका हौँ ।’ एक करोड पाँच लाख रूपैयाँमा जग्गा खरिद गरेर यो व्यवसाय सुरू गरिएको उनले बताए । १० कठ्ठा क्षेत्रफलमा आधुनिक गोठ निर्माण गरेर ७० वटा बाख्राबाट सुरू गरिएको सहकारीमा अहिले १२५ वटा बोका–बाख्रा छन् ।
संस्थाले बाख्राको रेखदेखका लागि चार जना स्थानीयलाई रोजगारसमेत दिएको छ । बाख्रापालनसँगै १५० वटा लोकल कुखुरा पनि पालिएको छ । ‘जग्गा वरपर डाले घाँस र विभिन्न प्रजातिका बिरूवा लगाउने काम भएको छ । अब छिट्टै बाटो निर्माण गर्ने र विद्युत् तथा खानेपानी विस्तारका काम गर्ने योजना छ’, अधिकारीले भने ।
संस्थामा पशुसम्बन्धी देश विदेशमा लामो समय काम गरेका विज्ञहरुको पनि लगानी छ । रामपुर विश्वविद्यालयका डा. भूमिनन्द देवकोटा, डा. श्यामबहादुर राउत, डा. चिरञ्जीवी पोखरेल र डा. भीमबहादुर श्रेष्ठजस्ता चिकित्सकहरू पनि संस्थामा आवद्ध छन् । प्रजनन् र दानासम्बन्धी विज्ञहरुको लगानी भएकाले व्यवसायिक रुपमा छिट्टै कृतिम गर्भाधान (एआई) सेवा सुरूवात् गर्ने लक्ष्य पनि सहकारीको छ । संस्थाका अध्यक्ष बद्रीनाथ घिमिरे, सरकारले कृषिमा झुकाव राखेका कारण बाख्रापालन व्यवसाय गर्न प्रोत्साहन मिलेको बताउँछन् ।
सुरूवात्मा केही कठिनाइ भए पनि परम्परागत पशुपालनलाई व्यवसायिक रुप दिन आफूहरु सफल भएको उनको भनाइ छ । विदेश पलायन भइरहेका युवालाई केही हदसम्म न्यूनीकरण गर्न र लगानीमा प्रतिफल होस् भन्ने उद्देश्यले सामुहिक बाख्रापालनमा आकर्षित भएको अध्यक्ष घिमिरेको भनाइ छ ।
अध्यक्ष घिमिरे आफैँ पनि सरकारी सेवाबाट अवकासप्राप्त कर्मचारी हुन् । यस संस्थामा सौराहाका पर्यटन व्यवसायी तथा संरक्षणकर्मीहरूको पनि लगानी छ । शेयर सदस्यका रूपमा रहेका सौराहाका हरिभक्त घिमिरे, रामकुमार अर्याल, रामप्रसाद रिजाल, गोपीकृष्ण श्रेष्ठ, योगेश अधिकारीजस्ता व्यवसायीहरुले सहकारीलाई ‘होमस्टे’का रुपमा अघि बढाउने सोच बनाएका छन् ।
सो सहकारीमा संरक्षण अधिकृत लालबहादुर भण्डारीले पनि शेयर हालेका छन् । अध्यक्ष घिमिरे भन्छन्, ‘बाख्रापालनसँगै पर्यटकहरुलाई होमस्टेका रुपमा सञ्चालन गर्न सौराहाका होटल व्यवसायीहरुले इच्छा देखाउनु भएको छ । पर्यापर्यटनलाई माया गर्ने साथीहरु पनि भएकाले यस संस्थालाई नेपालकै नमुना सहकारीका रूपमा स्थापना गर्ने हाम्रो लक्ष्य छ ।’
संस्थाका सचिव शिवलाल श्रेष्ठ सामाजिक संस्थामा संलग्न छन् । उनी पेसाले फेन्सी व्यवसायी हुन् । उनी भन्छन्, ‘नेपालमा १८ अर्ब बराबरको मासु विदेशबाट आउने गर्दछ, चितवनमा पनि खसीबोकाको माग बढ्दो छ, हामीले केही हदसम्म आयात न्यूनीकरण गर्न सक्छौँ भनेर बाख्रापालनमा हात हालेका हौँ ।’ उपभोक्तालाई प्रशोधित र चिकित्सकबाट प्रमाणित स्वस्थकर मासुको प्रबन्ध गर्न छिट्टै ‘फ्रेस हाउस’ खोल्ने लक्ष्य रहेको सचिव श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार संस्थामा ब्याड बोकाहरु तयार भइसकेका छन् । एउटा ब्याड बोकाको ३० हजारदेखि ४० हजार रूपैयाँसम्म बिक्री हुने गर्दछ । उन्नत जातको बाख्रा उत्पादनका लागि कृतिम गर्भाधान सेवा दुई महिनाभित्रै सुरू गर्न लागिएको उनले बताए । कृतिम गर्भाधानबाट तीन महिनामा २० केजी तौलको बोका उत्पादन गर्न सकिने विज्ञहरुको अनुभव छ ।
गैरीबारीमा पानीको भने असुविधा छ । संस्थाले सौर्य ऊर्जामार्फत् पानीको व्यवस्था गर्ने तयारी गर्दैछ । जसका लागि सरोकारवालाहरुले ३५ हजार डलर अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । संस्थाले बाख्रापालनसँगै आधुनिक कृषिमा आधारित अर्गानिक तरकारी खेती पनि सञ्चालन गर्ने योजनामा छ । पर्यटकलाई ट्रेकिङ गराउने, अर्गानिक खानेकुरा खुवाउने र होमस्टे सेवा दिने गरी ‘प्याकेज’ कार्यक्रमसमेत सुरू गर्ने योजना रहेको सचिव श्रेष्ठले जानकारी दिए ।
Discussion about this post