पछिल्लो घटनाक्रमले हाम्रो मुलुकलाई राजनीतिक संगठनको अभ्यास गर्ने एउटा मैदान बनाइदियो । स्थिर प्रजातान्त्रिक सरकारको अपेक्षा गरेर बहुमत प्रदान गर्दा समेत थ्याङ्थिलो पारेपछि आफू राम्रो हो भन्ने पुष्ट्याइँमा नेकपाको दुई कित्ता डटेर लागेको छ । सत्तामा रहने र सडकमा उत्रिने दुवै नेकपालाई अहिले खाली आरोप लगाएर सत्तोसराप गर्ने अनि संगठन विस्तारको अग्नि परीक्षामा होमिने होडबाजी छ । को कौरव र को पाण्डव भन्ने कुराका बारेमा त सामान्य जनता मात्रै होइन सच्चा विश्लेषकहरू पनि अलमल्ल हुने स्थिति छ । को कस्तो र कुन सिद्धान्त कति बलियो भन्ने कुराले विपन्न मुलुकमा उस्तो असर पार्दैन । जनतामा त केवल समृद्धि, सुशासन र रोजगारको उचित प्रबन्धको आवश्यकता र तीव्र चाहना मात्रै छ । घोषणापत्रका पानामा जनता झुक्याउन कोरिएका कनीकुथी विचारमा अडिने अक्षरले जनताको बिहान बेलुकाको जोहो गर्दैन । खाली राजनीतिक पदलोलुपतामा केही नेतृत्वले खोजेको भाग नपाएका कारण अहिलेको द्वन्द्व बढेको हो । जनतालाई यही भासमा ल्याएर जाक्ने जघन्य अपराध नेताबाटै भएको हो तर हामीले समर्थन र साथ जति दियौँ त्यति विश्लेषण र विमर्श गरेनौँ । यो पनि अचम्मकै मूर्खता होइन र ! अरू जे कुरा गरे पनि जनताचाहिँ साँढेको जुधाई बाच्छाको मिचाइमा परिरहेकै छन् । नेपालमा राजनीति फोहोरी खेल हो भन्ने कुराको दह्रो दृष्टान्त पक्कै बनेको छ । यही फाइदालाई मौका पारेर विदेशी शक्तिले सानो देशमा ठूलो आँखा नलगाउला भन्न सक्ने अवस्था नभएको पनि होइन ।
अहिले मुलुकमा प्रायः धेरै पार्टीहरू जनताको मन भाँडेर सडकमा उतार्ने होडबाजीमा छन् । जब जब नेताको स्वार्थ अधुरो हुने स्थिति हुन्छ तब तब जनतालाई ढाल बनाएर भाँड्ने र लडाउने होड चलिरहन्छ । नेता तबसम्म मात्र नेता हुन्छ जबसम्म जनताले उसलाई साथ दिन्छ । तर, कुनै पनि पार्टीले कस्को चुलो बल्दैन, को दुःखी छ भनेर तिनलाई पहिचान गर्ने र सहयोग गर्ने होडबाजी गरेको कहिल्यै देख्न पाइन्छ र ? कोरोना महामारीको अर्को डरलाग्दो रूप आयो भन्ने सुन्दासमेत बेवास्ता गरेर मान्छे सडकमा ओइरिएको छ । यो विचार कदापि पनि सदनधारीको समर्थन भन्ने अर्थमा होइन । विषयको प्रष्टोक्तिका आधारमा जनताको सेवा हो कि स्वार्थको दुर्गन्ध हो त भन्ने एउटा विश्लेषण मात्र हो । यत्तिका समय कामधन्दा ठप्प भएर बल्लतल्ल यसो सञ्चालन हुन लागेको व्यवसायलाई भन्दा पार्टीकै भक्त भएर कुर्लने मान्छेले साँच्चै विकासका लागि नै आन्दोलन गरेको हो ?
प्रचण्ड–नेपाल समूहको भिड हे¥यो उत्तिकै बाक्लो र विशाल लाग्छ । अर्कातिर, प्रतिपक्षी काङ्ग्रेसको त्यस्तै, राप्रपाको उस्तै भिड त्यसपछि त यस्तो पनि लाग्छ, नेपाली जनता के आन्दोलन गर्नलाई जन्मेका हुन् ? हिजो २००७ सालदेखि २०४६, २०५२ देखि माओवादी द्वन्द्व, ०६२/०६३ को आन्दोलन हुँदै अस्थिर सरकारको क्रमिकतादेखि आजसम्म जनताले गरेका दर्जनौँ आन्दोलनको परिघटनाले एउटै लक्ष्यमा पाइलो टेक्न खोजेको हो– मुलुकमा स्थिर शान्ति र उच्च समृद्धि चाहिएको छ । बलिको बोको बन्न रुचाइरहने कार्यकर्ताले देखेको राजनीतिक परिवर्तन केवल चाकडी मात्रै हो । एकदिन के सनक चढ्छ अर्थात् मोलमोलाइमा कुरा मिल्छ तब नेताजीले भन्नुहुनेछ– ‘हामी मिल्यौँ’ तब यही आज सडक र सामाजिक सञ्जालमा रोइलो मच्चाइरहेको नागरिक फेरि चुपचाप बस्छ । कस्तो अचम्मको सोच हाम्रो ? वास्तवमा त जनताले राजनीति गर्दैन र देशको उन्नति चाहन्छ भने जनताले पनि सही र गलत समय र सोचलाई छाम्न आवश्यक छ । आपसमा शत्रुता साँधेर विकासमा बाधा नै हुने हो । स्वार्थी नेताको सोचलाई साथ दिएर विकासवादी समय खर्चिनुको कुनै तुक देखिँदैन ।
यत्तिका भिड सडकमा उत्रिएको देख्दा तिनले होटलमा खाने, बस्ने, पेट्रोल, झन्डा, पर्चा पम्प्लेट, ब्यानर आदिको खर्च कति हुन्छ होला ? के कुनै पार्टीले त्यो खर्च र शक्ति प्रदर्शनको साटो गरिबहरूका लागि केही सेवा गरौँ र जनताको मन जितौँ भनेर नयाँपन बोकेको छ ? जनताको मन जित्न लाखौँ खर्चेर शक्ति प्रदर्शन गर्ने कि जनताकै सेवा गरेर जनमतलाई तान्ने ? दिनभरि श्रम गरेर बेलुका छाक टार्नेको अवस्थालाई घोषणापत्रमा राखेर महलमा भुजा ज्युनार गर्ने/गराउने राजनीतिक परिपाटीका पछि लाग्ने हामी जनता साँच्चै अचम्मकै प्राणी पनि हौँ । भोलि चुनावको कुरा छ– फेरि देखिने गरी लाखौँ अनि नदेखिने अर्बौँ खर्च हुन्छ तर विपन्नको वेदना, दूरदराजको मानिसको व्यथा, बेरोजगारको छटपटी, अस्थायी जीवन बाँच्ने मानिसको दुर्दशा, विसङ्गतितिर अलिकति पनि पैसा खर्च हुने छैन । यो चुनावमा खर्चिने रकम कहाँबाट र कसरी ह्वारह्वार्ती आउँछ, त्यो अचम्मकै विषय हो । यसरी मुलुकको ढुकुटीमा दाहीँ हुँदैन भन्ने अभ्यासै छैन । पाँच वर्ष काम गर्न दिएको जिम्मेवारी टिकाउन नसकेर पदको लालसाको लालकिल्ला बाँध्नका लागि नै नेकपाले यो महामारी निम्त्याएको छ । यदि मुलुकमा यही कारणले जनताले शहीद हुने अवस्था आयो भने यो दोष त सडक र सदन दुवैलाई उत्तिकै जानुपर्छ नै । तब नेपालमा एउटा नेकपा भन्ने नाम गरेको पार्टी थियो जसले बहुमतको घिउ पचाउन नसकेर शौचालयमा झगडा ग¥यो भन्नुपर्ने इतिहास लेखियो भने !
अरूबेला विकासका लागि छिरिक्क सहयोग गर्न नसक्ने पार्टीले चुनावका बेलामा कसरी यत्ति धेरै सक्षम हुन्छ ? चाहे कोरोना महामारीका बेला जनता भोको हुँदा एक माना चामल र एउटा ओच्छ्यान दिने मन नहोओस् तर चुनावमा नेताजीले पैसाका बिटा सर्वहारा वर्गलाई बाँढ्ने होडबाजी गर्नुहुनेछ । हरेक नागरिक नागरिक होइन एक भोटको मूल्यमा गनिने छन् । एक पटक सोचौँ– यत्तिका धेरै पार्टीले प्रचारका नाममा, आन्दोलन र विरोधका नाममा गर्ने गरेका खर्चका बिटालाई अख्तियारले किन खोजी गर्दैन ? यो कुरा त प्रष्ट छ तर सबैले झिनो स्वार्थमा बिक्नुलाई आवश्यक ठान्छन् । ‘बिग्रेको पार्टीको फुटेको घर, फुटेको पार्टीसँग केको भर’ भन्ने भान त जनतामा भइसकेको छ । प्रधानमन्त्री ओली पक्ष या त प्रचण्ड–नेपाल समूह दुवैसँग बहुमतको मृगतृष्णा हुनु वास्तवमा नैतिकताका आधारमा लज्जास्पद अपेक्षा हो । जनतासामु जाने राजनीतिक एजेन्डा दुवैमा नैतिकताका आधारमा लाजमर्दो नहुँदा पनि हुने हो । ठूलो अवसर पाउँदा नपचेर अब आकाशमा महल ठड्याउने सपना बोक्दै हिँड्नुको तुक के रहन्छ र ? यसो भनिरहँदा नेपालमा राजनैतिक वितृष्णा यति धेरै छ जब कि जनताले औँला भाँचेर राष्ट्रवादी नेतालाई गन्न खोज्दा शून्य अङ्क नै स्थिर भइरहने अवस्था छ । यो त प्रजातान्त्रिक मुलुकका लागि असह्य विडम्बना हो । यसर्थ जोसुकैले जिते पनि जनताले त नहुनु मामाभन्दा कानो मामा जाति भन्ने दरमा नेतृत्वलाई भोट दिनु परेको हुन्छ ।
आखिर सबै पार्टीको बुद्धिमा कुर्सी र सत्तामोहको नसा मात्रै चढेको हो । अहिलेको भइरहेको विशाल नाटक मञ्चन पनि त्यति मात्रै नै हो ।
यसको अर्थ जनताको दिमाग भुटेर उही स्वार्थको ढोल पिट्ने होडबाजीमा आज जनताले उसै गरी पार्टीको मोह बोकेर दगुरिरहेको छ । पार्टी चाहिन्छ तर गुट चाहिँदैन भन्ने हिम्मत बोकेर कसैले कसैसँग पनि असहयोगको भावना राख्ने हिम्मत गर्दैन । विभाजित दुई शक्तिले आपूmलाई जतिसुकै पानीमुनिको ओभानो बनाउने प्रयास गरे पनि त्यो सबै जनअभिमतमाथि गरिएको नृशंस हत्या होइन र ? को बाध्यतामा प¥यो र किन कोचाहिँ अटेरी बन्यो भन्ने विषयको पुष्ट्याइँले जनताको आशा र मुलुकको समृद्धिसँग बिलकुलै सम्बन्ध राख्दैन । यो समय सडकमा र सदनमा हुने दोहोरीले सामान्य वर्गलाई बनाइदिएको खण्डीकृत बुद्धि नितान्त असचेतनाको द्योतक हो । ‘म राजनीतिक नेतृत्वप्रति असहमत छु’ वा ‘म भोट दिन्न’ भन्ने र कचिङ्गलप्रेमी नेतालाई बिदाइ गर्ने कुरा गर्ने हो भने के होला ? गुट र स्वार्थका विरुद्धमा हिँड्ने सोच जनतामा जाग्नु आवश्यक छ । तब त यतिखेर सडकमा देखिएको भिड सायद त्यो असहमतिमा गएर थुरिन पनि सक्छ । आज चिरिएको नेकपा र अस्थिर सोचमा गुटको पोको बोकेर हिँड्ने चाकडीबाज एकाएक विकासवादतिर मोडिन सक्छ । फलतः जुन क्रान्तिको कुरा आज सुनिँदै त त्यो नितान्त स्वार्थपूर्ण छ किनकि यो राष्ट्रवादी नभएर व्यक्तिगत हिसाब र पद नमिलेको माथापच्ची मात्रै हो ।
पदलिप्सामा थ्याङ्थिलो भएको नेकपा साँच्चै न यता न उता त छँदै छ । कमसेकम चियाचौतारीमा बस्नेले गर्ने अनावश्यक भाषण र टोलवासीमा गुटकै झोला बोकेर वैमनस्यता साँध्ने बुद्धिलाई सायद सबाल्टर्नको अवधारणाले छुँदो हो त मुलुक यसरी पट्टि बाँधेर कुर्लने थिएन । कमजोर शासकले विशाल समृद्धिका सपना देखाएका कुरा जनताका लागि कति विश्वासघाती होलान् भन्ने भान हुनुपथ्र्याे । हामीसँग प्राकृतिक सम्पदा, सांस्कृतिक धरोहरको जग, बहुमतको सरकार, ४० प्रतिशत सक्षम युवाशक्ति सबै कुरा कति सानदार थियो ! तर, अझै पनि बहुमतको सरकारबाहेक अरू कुरा यथावत छँदै छन् । जनताले सडकमा ओर्लिएको प्रचण्ड–नेपालको भिडसँग पनि सोध्नुपर्ने हो– यो लडाइँ निर्मला न्याय, ऊखु किसान, नयाँ नक्साको आधिकारिकता, कोरोना कहरको अन्त्यको अभियान, जनताको रोजगारका लागि या कुन प्रयोजनका लागि हो ? एकहप्ताअघिसम्म आफैँ डाडुपुन्यौँ बोकेकाहरू नै सत्तोसराप गरिरहँदा जनता किन भेडो बन्दै छ ? नेताको सनकका पछि, स्वार्थका पछि, पदलिप्साका पछि जनताले कहिलेसम्म सती गइरहनुपर्ने हो ! भोलि उहाँहरू सत्तामा पुगेपछि फेरि उही कुर्सीको जुहारी अर्को तरिकाबाट सुरु होला अनि त्यसबेलामा हामी जनताले फेरि के भन्ने हो ? अर्थात्, विकासविरोधी स्वार्थ जोडिएका विषयका विरुद्ध अझ भनौँ देशलाई अझै अस्थिर नै बनाउने सोच बोक्ने नेताका विरुद्ध आन्दोलनमा साथ नदिएर असहयोग गर्न पनि त मिल्ला नि । आफ्नै मान्छेलाई भर्ती गर्ने दाउमा लागेकाहरूको यो अनौठो जात्रामा सामेल हुने स्यालको हुइँयाले हाम्रो समाजलाई नराम्ररी गाँजेको छ । सडकमा हिजो पनि नारा लाग्थ्यो र आज पनि उस्तै : “आर्यघाटले के भन्छ ?, फलानालाई फाँसी दे !” आदि । अर्कोतिर सत्तामा हुनेले बोलेका शब्द र प्रहार पनि उत्तिकै परम शत्रुको स्वरमा । हिजो टाउकोको मोल तोक्ने र तोकिने आज सँगै हिँड्नुपरिरहेको छैन र ? अलिकति त हेक्का हुनुपर्ने हो । विद्यार्थीले सिकेका राजनीतिक संस्कारको विरासत आज पनि हिजै जसरी अराजक भएर धानिएकै देखिन्छ । यो त मुलुकको उन्नतिमार्ग रोक्ने बुद्धि हो । अब त विरोधको शैली र तरिकालाई पनि चेतनाले चिरेर विदुर नीति खोज्नु आवश्यक भएको छ ।
राजनीति पटक्कै नबुझ्नेलाई पनि लोकतान्त्रिक युगमा राजनीतिको ज्ञान हुन थालेको छ । गान्धारीले देख्ने आँखालाई किन पट्टि बाँध्नुपर्छ अनि धृतराष्ट्र किन त्यति धेरै अराजक शासक बन्नुपर्ने हो र ? द्रौपदीको चीरहरणका रमितेहरूले भोग्नुपरेको सम्मानजनक जानजानको हार र वेदनाको तहलाई पनि मनन गर्नुपर्ने होइन त ! अब युगले पृथक् परिवर्तनको माग गर्दै छ । पूरा ज्ञान नभए पनि अल्पज्ञान बोकेर भौँतारिएको वर्तमान नेपाली समाजले ग्रामीण दूरदराजलाई चटक्कै बिर्सिएको छ । विडम्बना त मानिस जति धेरै बाठो भयो त्यति नै राजनीतिक झमेलामा अल्झिएर समयलाई सिर्जनशीलताबाट वञ्चित हुन पो सिक्दै छ । राजनीति गर्नु गलत होइन तर गलत राजनीतिलाई अन्ध समर्थनचाहिँ महागलत हुने रहेछ । दुई गुटको प्रतिशोध व्यक्तिवादी छ भनेर देखिरहँदा पनि जनता कुँडुलो लागेर चिरा पर्नुले मुलुकको भविष्य उही मुङ्ग्रे बलमा सञ्चालन हुने भय छ । वास्तवमा अहिलको तमासा त अवसर र भाग नपाएको प्रतिशोधमा लड्ने कलाकारहरूको चटके कलाकारिता मात्रै हो ।
वर्तमान राजनीतिक परिवेशले जनतालाई केवल कार्यकर्ता मात्रै बनाइरहेको छ । हिजो राजाले प्रजा बनाएको र आज कार्यकर्ता बनाएर संगठन विस्तार गरिएको पद्धतिमा नाम फरक तर लक्ष्य उही हो । सत्तामा बहुमत लिएर बसेको दर्बिलो पार्टी नै प्वाट्ट फुटिसक्दा खुलेरै आपसी विरोध गर्ने स्थिति कसरी उत्पन्न भयो ? भोलि दुई धारले दामकाम मिल्ने सहमति गरिसक्दा तपाईंले आज कमाएको शत्रुता पनि अन्त्य हुन सक्छ ? आखिर पदको लालसाभन्दा ठूलो जनभावना पनि त होइन रहेछ । मानिस दुई तहमा विभाजित हुँदा विचार पनि एउटा नैतिकताको आधारमा अर्को अवसरको कोणबाट विभाजित देखिन्छ ।
अहिले आक्रोश र आवेशको राजनीति चर्केको हो । के सही के गलत भन्ने कुरा नै अस्पष्ट भइरहँदा को असली र को नक्कली भन्ने पनि अन्योल अवस्थामै छ । तथापि, एउटा दुखद् सत्यचाहिँ के हो भने नेकपाले गुमाएको स्वर्णिम अवसर पदलिप्सा र व्यक्तिगत इगो भए पनि मुलुकले नै ठूलो दुर्गति व्यहोर्न विवश बन्नुपरेको छ । यसमा हामी सामाजिक सञ्जालमा पक्ष र विपक्षमा लड्ने जनता र यथार्थ छोडेर पत्रकारिताको धर्म बिर्सने पत्रकार पनि निर्दोष छैनौँ ।
अबको चिन्ता संसद्मा के हुन्छ र चुनाव कसरी हुन्छ भन्ने भन्दा पनि जनतासँगको हिजोको प्रतिबद्धता र आजको व्यवहारको तहमा ठोक्किने वितृष्णा हो । नेतृत्व परिवर्तन र समीकरणको विषय त पार्टीभित्रको हो तर जब अभिभावकले झगडा गर्छन् तब छोराछोरीको पढाइ, सोचाइ, काम गराइ सबै क्षेत्रमा नकारात्मक प्रभाव पर्छ नै । ‘घाम चिन्ह कसको हो ? नेकपा कसको हो ? हँसिया हतौडा कसको हो ?’ लगायतका विषयले जनतालाई केही फरक पार्दैन । कोरोना महामारीले जन्माइरहेको अप्ठ्यारोभन्दा पनि पदको लडाइँ ठूलो मानेर देखाएको मानवताहीन आवेग र प्रतिशोध, असहयोग, छिर्के हान्ने व्यक्तिवादी सोचले मुलुक अप्ठ्यारोमा परेको हो । यो आम जनताले बझ्नुपर्ने सवाल पनि हो । कसमेकम यस्ता गुटवादी राजनीतिलाई असहयोग गर्ने सोच सबै पार्टीभित्र सबैले विकास गरौँ । एकढिक्का हुने राजनीतिक सोचलाई प्रश्रय दिएर कुरा होइन काम गर्न साथ दिऔँ ।
Discussion about this post