भरतपुर । प्रधानमन्त्री सुशील कोइरालाले गरेको अपिल प्रचार आचारसंहिताविपरीत भएको भन्दै प्रचार नगर्न सचेत गराइएको छ । प्रमुख निर्वाचन अधिकृत विनोदमोहन आचार्यले आचारसंहिताको पालना नभएकाले सचेत गराएको बताउनुभयो ।
केही दिनअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कोइरालाको फोटोसहितको प्रचार गर्दै क्षेत्र नं. ४ का जनतासामु मत मागिएको विज्ञापन आचारसंहिताविपरीत भएको भन्दै निर्वाचन कार्यालय चितवनले प्रचारप्रसार नगर्न सचेत गराएको हो ।
आफूहरुको सचेत निर्देशनलाई बेवास्ता गरिए थप कारबाही गर्ने निर्वाचन आयुक्त इला शर्माले बताउनुभयो । निर्वाचनको तयारी सकिएको भन्दै आयुक्त शर्माले असार पाँच गते सवै मतदान केन्द्रमा सामग्रीसहित मतदान अधिकृतहरु पुग्ने बताउनुभयो । असार ८ गते आइतबार चितवन क्षेत्र नं. ४ मा उप निर्वाचन हुँदैछ ।
त्यस्तै उपनिर्वाचनमा चितवन क्षेत्र नं. ४ मा आचारसंहिता उल्लङ्घन भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा उजुरी परेका छन् । आचारसंहिता लागू भएपछि पृथ्वी उच्च माध्यमिक विद्यालयका शिक्षक नियुक्तिको हुन लागेको भन्ने जानकारी आएकोले उक्त नियुक्ति पनि रोकिएको आचार्यले जानकारी दिए । त्यस्तै, चितवनको एउटा रेडियोबाट उम्मेदवारलाई आक्षेप लगाउने गरेर विज्ञापन बजाइएको उजुरी परेपछि उक्त विज्ञापन पनि तत्काल बन्द गर्न लगाइएको आचार्यले जानकारी दिए ।
Discussion about this post