हाम्रो गाउँको उत्तरतर्फ नारायणी नदीको किनारछेवैमा सिमरा नामको रमाइलो गाउँ थियो । त्यहाँ लगभग नै थारु सम्प्रदायको बसोबास थियो । उनीहरु सरल स्वभावका मेहनती र स्वावलम्बी जाति थिए । कसैप्रति वैरभाव र दुश्मनी गर्न जान्दैनथे । मेरो ख्यालमा उनीहरु जन्मजातै समभावका उदाहरण थिए । आफूलाई आवश्यक पर्ने सबै वस्तुहरु उनीहरु आफैँ निर्माण गर्थे । उनीहरुको माझमा आपसको जातीय एकता नङ–मासुजस्तै अभिन्न र अखण्ड थियो । उसबेलामा धर्मराज महतो, पृथीराम महतो, मोहन महतो, डिल्लीराम चौधरी, देवेश्वर चौधरी, चूडामणि चौधरी र हिरामणि चौधरी मेरो स्मृतिका केही नेतृत्वका अगुवा पात्रहरु हुनुहुन्थ्यो । स्मृतिका डोबहरुमा ताजा रहे पनि यस समयसम्म आइपुग्दा हालको सिसै निवासी देवेश्वर चौधरीबाहेक उहाँहरु सबै यस धरतीदेखि बिदा भइसक्नुभएको छ ।
आर्थिक विपन्नता झेल्नै परेता पनि बाल्य उमेरको जीवन अत्यन्त उत्सवमय थियो । अप्ठेराहरुसँग जुध्नपर्दा सिकाइको क्रम निरन्तर थियो । अभाव र सङ्कटमा समाधान खोज्न लगाउनुपर्ने मिहिनेत विविध जुक्ति र उपायले गर्दा हरकदम मानौँ प्रत्येक क्षण खेलझैँ लाग्दथ्यो । सानो उपलब्धिले गहिरो सुख प्रदान गर्दथ्यो । परिवारका सबै भाइ सदस्यहरुका बीचमा अविचलित प्रेमको सम्बन्ध थियो । अहिलेको यात्रासम्म आइपुगेर पूर्वजीवनको स्मृतिलाई अनुभूत गर्दा त्यो सबै हराएजस्तो लाग्दै छ ।
मैले पूर्वस्मृतिहरुलाई सुखका आधार पाइलाहरुको रुपमा लिएको छु । अहिलेलाई उसबेलासँग तौलिएर हेर्नुपर्दा अपार आनन्दको वजन उसैबेलातर्फ बढी हुन्छ । सबैका जीवनमा व्यतीत भइसकेका पाइलाहरुले यत्तिकै धेरै अर्थ र मूल्य राख्छन् अथवा राख्दैनन्, म यकिन गरी भन्न सक्दिनँ ।
त्यससमयका गाईभैँसीहरुले अहिलेकोझैँ चौबीस घन्टा गोठमा दाम्लोले बाँधिएर बस्न पर्दैनथ्यो । बिहानदेखि साँझसम्म चरनमा रम्न पाउँथे । पेट उतै भर्थे र साँझ भकारोमा आउँथे । घरमा पालिएका गाईभैँसीको साथ लागेर हामी गोठालो जान्थ्यौँ । दिव्यनगर र सिमरा क्षेत्रका फराकिला खेतीयोग्य जमिन हाम्रानिम्ति गाईभैँसी चराउने स्वतन्त्र ठाउँहरु थिए । विभिन्न गाउँका फरक गोठ र भकाराबाट चरनमा आइपुगेका पशुचौपायाहरु आपसमा रमिताको जुधाइ गर्दथे । कुनै न कुनै चौपायाले दैनिकजसो सिङ भाँचेकै हुन्थे । विशेषतः गोरूहरु खुब लड्न जोसिन्थे । आफ्नो अहम् र गर्जनको हाँकसहित अगाडि, पछाडिका खुट्टाले जमिन कोपर्दथे । लडाइँमा व्यस्त गोरूहरु पुच्छर ठाडो बनाउँथे र गोब्राउँदै भिडन्त गर्दथे । एक किसिमको सर्कस थियो त्यो । उदेक के थियो भने एकदिन जितार भएको गोरू दोस्रो दिनदेखि सधैँका निम्ति जितार ठहरिन्थ्यो । उसको सामुन्ने लड्न अर्को कुनै पनि गोरूले आँट गर्न सक्दैनथ्यो ।
मोहन महतोको एउटा सिङ्गो मौजा थियो । एक किसिमले भन्ने हो भने सानो मौजाभित्रका एक राजा थिए, मोहन महतो । त्यस मौजाभित्र सुन्दर आँप बगैँचा पनि थियो । उमेरले पाका गोठालाहरु आँप कुरूवाका आँखा छलेर आँप चोर्थे । हाम्रो सानो उमेर हरदृष्टिकोणले उत्सुकता र रहस्यको सन्दुक थियो । मनमा नयाँ विषय जान्ने इच्छा मात्र उम्रन्थ्यो । उसबेला १० र ११ वर्षे उमेरका हामी केटाकेटीले त्यही कुलत सिक्दै थियौँ ।
महात्मा गान्धी भन्छन्, सानाहरु त्यही सिक्छन् जे ठूलाहरुले गर्छन् । मेरा काकाले बिँडी पिउँथे, मैले त्यही देखेको थिएँ । मेरो बाल कौतुहलताले त्यही गर्न हौसायो । त्यही सिकेँ । पछि त्यस्तो कुलतबाट मुक्ति पाउन धेरै प्रयास गर्नुप¥यो ।
कृष्ण भाइ, विष्णु र मैले पनि आँप चोर्ने गलत निर्णयमा एकता स्थापित गरियो । आँपका बोटहरु अजङका थिए । कुरूवाका आँखा छलेर तीनैजना होसियारीसाथ रुख चढ्यौँ । केहीछिनपछि कुरूवाले सम्भवतः थाहा पाए होलान्, बडेमाको कटबाँसको लाठी लिएर हामी भएतिर दगुर्दै थिए । भाइ विष्णु र म झटपट रुखबाट ओर्लिएर दगुर्न भ्यायौँ, तर कृष्ण भाइ चढ्न सकेजसरी ओर्लिन सकेनन् । उनी अल्झिए । बन्धनमा परे । हामी दगुरेको देखेर कुरूवा पनि हामीतिरै पछि लागे । भाइ कृष्ण भने थपक्क रुखको हाँगामा आँखाले नदेखिने गरी ओझेल परेर बसे । खासमा कुरा के थियो भने उनमा रुख चढ्ने सीप थिएन । रुख चढ्दा मैले उनको हात पक्रेर रुखमा उक्लिन मद्दत गरेको थिएँ । उनलाई त्यसैगरी ओर्लिनुपर्दा पनि मेरो साथ आवश्यक थियो तर हतारमा भाग्नुपर्दा उनी छोडिए । जीवनको हरेक भागदौड र अप्ठेरोमा व्यक्तिले समस्यालाई आफैँ सामना गर्न अनिवार्य छ भन्ने कुराको पुष्टि थियो त्यो ।
मेरा जेठाबाबा त्रियानब्बे वर्षको यो उमेरमा अहिले एक्कासि पित्तसम्बन्धी क्यान्सरले थला पर्नुभएको छ । कुनैकुनै बेला त पीडा असह्य भई उहाँ अत्यन्त हृदयविदारक छट्पटी गर्नुहुन्छ । मेरो संवेदनाले उहाँको पीडालाई गहिरो अनुभूत त गर्छ तर उहाँ स्वयम्ले आफ्नो पीडा सहन गर्नुको कुनै विकल्प छैन । सुख र सजिलो अवस्थामा सबै सहयोगी बन्न सक्दा रहेछन् । दुःख र अप्ठेरोमा भने व्यक्ति आफैँले एक्लो उभिन र सहन गर्न तयार हुनुपर्ने अस्तित्वको विधान रहेछ ।
विसं २०३३ सालतिरको कुरा हो । म उमेरले १३ वर्षको मात्र थिएँ । दिनरात बर्खाको झरी एकतमासले बसिरहेको थियो । हाम्रो झुप्रो घरको झ्यालसँग टाँस्सिएर गाई बाँधिएको थियो । मच्छर र अनेक जातथरीका कीटपतङ्गको टोकाइले होला पटकपटक गाई उफ्रिरहन्थ्यो । खुट्टाहरु फट्काथ्र्यो ।
कतिपय बेला त गाईले शरीरै कुप्रो बनाएर बुरूक्क बुरूक्क गर्दथ्यो । रगत चुस्न पल्किएका मच्छरहरु टसको मस नगरी स्वाद लिइरहन्थे । कहिलेकाहीँ गाईको उफ्राइले ठाउँ सरे पनि स्वाद लिन पल्केका मच्छर र भुसुनाहरु आफ्ना तिखा सुँडहरुले तुरून्तै शरीरको अर्को भागमा पुगेर जोत्न सुरू गरिहाल्थे ।
मेरो भरोसा र आधार थियो काली गाई । म उसलाई चराउन बर्दाहा चौर पुग्दथेँ । उसको गोठालो हुन पाएकोमा मख्ख थिएँ । उसकै आधार बनाएर नारायणी नदीको काखमा रमाइलो गरीगरी पौडी खेल्न पाउँथेँ । खुबै रमाइला थिए, ती दिनहरु ।
स्वीमिङ पुल भनूँ अथवा प्रकृतिको निःशुल्क उपहारमा मिलेको काख, तर खेलको मज्जा लिने ठाउँ त्यही नारायणी नदी थियो । म सामान्य पौडन मात्रै जान्दथेँ । मेरा सँगीसाथीहरु सजिलै नारायणी नदीको छालसँग जुधेर नदी तर्न सक्दथे । ती बेलाका मेरा घनिष्ठ साथीहरुमध्ये गोरे गुरूङ ज्यादै नजिकका बालसखा थिए । ती आफ्ना कलिला हातहरु फैलाउँदै पुतलीले पङ्ख चलाएजस्तै गरी नदीको छाललाई पन्छाएर नदी वारपार गर्न खप्पिस थिए ।
केही वर्षदेखि म भाग्यवश बालसखा दोर्जसिं गुरूङ उर्फ गोरे गुरूङसँग घर टाँसिएर बनेको होस्टलमा बस्दै आएता पनि उनले अल्पआयुमा नै जीवनबाट विश्राम लिन पुगे । शरीर र जीवन रहँदै गर्दा उनी आफ्नो कामधन्दामा व्यस्त हुन्थे र म आफ्नो नियमित दिनचर्याको घडी पूरा गर्न लागिपरिरहेको हुन्थेँ । एकछिन पनि नछुट्टिने बाल संसारका मेरा निकटमित्र गोरे गुरूङसँग घर जोडिएरै पनि भेट हुन सक्दैनथ्यो । यसरी बेखबर रहन पर्दा जिन्दगी जिउने संसार पनि उमेरअनुसार खण्डखण्ड र पृथक् हुँदोरहेछ जस्तो लाग्छ ।
१. पहिलो त बाल समयको संसार, स्वतन्त्र संसार ।
२. दोस्रो युवावस्थाको रमझम र जिम्मेवारीले लदाएको संसार ।
३. तेस्रो वृद्धावस्थाको संसार । यसलाई बिदाइको तयारीमा लाग्दै रहनुपर्ने संसार भनेर भन्दा पनि सही हुने होला । फरक–फरक
संसारहरु हुँदारहेछन् । हिजोआज गोरे गुरूङ मेरो स्मृतिमा मात्रै भेटघाट हुन आउँछन् । जीवनले नितान्त फरक मोड लिएको छ । हिजोका यावत् परिवेशहरु बदलिएका छन् । ४० र ५० वर्षअगाडिको वस्तुस्थिति अहिले समूल नयाँ अनुहारमा देखा परेको छ । त्यससमयको हाम्रो जीवन भोगाइको कुरा गर्दा अहिलेका परिवार र स्रोतालाई कथाजस्तै उदेक बनाउन थालेको छ ।
गीतामा भगवान् कृष्णले पनि गाई चराएर दूध, दही र मख्खनसँग साथसंगत गरेकै हुँदा ठूलो सम्मान पाउन सकेको कथाले त्यससमय मलाई औधी बल प्रदान गर्दथ्यो । त्यसैले पनि मेरो काली गाईले परजीवीहरुबाट त्यसरी टोकिनुपर्दा मेरो संवेदनाले पनि दुःखेको अनुभूति गर्दथ्यो ।
पुराना झुत्रा लुगाहरु सल्काएर गाईको वरपर धुवाइँदिएँ । केही हदसम्म राहत मिलेको होला भन्ने लाग्यो । रातभर पानी परिरह्यो । एकैछिन पनि नरोकिई बर्खे झरी बर्सिरह्यो । निष्पट्ट अँध्यारो रात थियो । बेलाबेलामा कानै फुटाउने गरी आकाश गर्जिएको हुन्थ्यो । लगत्तै अनि बिजुलीको चर्को उज्यालोमा काली गाईलाई छर्लङ्गै देख्न सकिन्थ्यो । ऊ कान ऊठाएर उभिएको हुन्थ्यो र प्रेमिल भावले मलाई हेर्दथ्यो । म र उसबीचको सम्बन्धमा मानौँ कुनै अलौकिक नाता थियो ।
बिहानको ७ः३० बजेतिर पानी ओभाउनै लाग्दा घरबाट निक्लेर घोलतिर लागेको थिएँ । त्यहाँ एउटा नयाँ परिपन्च सिर्जिएको थियो । खेतका गराहरु पानीले भरिएका थिए । भ्यागुताहरु घाँटी फुकाएर मानौँ वर्षाको झ्याउरे गीतमा तँभन्दा म के कम भन्ने प्रतिस्पर्धाको बाजी जित्न उर्लंदै थिए । निर्दोष बच्चोले फुकेको बेलुनजस्तै प्रत्येक भ्याकुताको गला फुलेको देखिन्थ्यो । ज्यादै रमाइलो गायन मञ्च थियो भ्याकुताहरुको । अघाइन्जेल हेरेँ उनीहरुको मेला, रमझम र बर्खे उत्सव । ज्यादै सुन्दर लाग्ने प्रकृतिको त्यो अनुपम दृश्यले मलाई आफैँभित्र डुबाएको थियो ।
धानका बिरूवाहरु बाढीलाई थेग्न नसक्दा सर्लम्म सुतेका थिए । जलथल एकै भएको थियो । घाँसे बोटहरुमा गुँड लगाएका चराहरु बिचल्लीमा परेका थिए । बचेरासहितका गुँडहरु पानीको सतहमा बग्दै थिए भने तिनका माउहरु उँड्दै र आफ्ना बचेराछेउ पुग्दै गरेका देखिन्थे । सन्तानको माया सबैलाई उस्तै हुँदोरहेछ तर ती चराहरु आफ्ना बचेराहरुलाई टिपेर उडाउन असक्षम थिए । चाहन्थे होलान्, आफ्ना बचेराहरु जोगाउन र न्यानो अँगालोले बचेरालाई अंकमाल गर्न तर ती असमर्थ थिए ।
एकपटक मेरी आमा बिरामी हुनुभएकीले भरतपुर अस्पतालमा आमाको साथमा बसेको थिएँ । रातको समय भए पनि पटकपटक भिन्नभिन्न प्रकृतिका उल्झन र पीडा मिसिएका आवाजहरु झ्यालबाहिरबाट छिरेर कानसम्म आइपुगेका हुन्थे । सबै त सुन्दै थिएँ, सहँदै थिएँ तर एक्कासि एउटा अलाप सुनियो ।
बृद्ध हजुरबाबाले काखको नाति गुमाएछन् । ज्यादै चर्कोचर्को आवाजले परमेश्वरको पुकार गर्दै र रूँदै थिए । मृत बच्चो अघिल्तिर सुतेको थियो । हजुरबाबा म्वाइँ खाँदै र रूँदै थिए । कुनैकुनै बेलामा भगवान्प्रति घृणाका शब्दहरु पनि बोल्दथे । मेरो ख्यालमा उनी लगभग बेहोस भएका थिए । मभित्रको अन्तरमनले निरीह पक्षीहरुको व्यवहार दशालाई त्यससमयका वृद्ध हजुरबाबासँग जोडेर हेरेको थियो । समयको क्रूर प्रहार र दुर्भाग्यको दुःखद अवस्था आफूमाथि बज्रिन आइपर्दा कोही पनि मान्छे र पक्षी, राजप्रासाद र भिखारी कसैको पनि केही जोर चल्दोरहेनछ भन्ने लाग्यो ।
भ्यागुताहरु रमाउँदै थिए । त्यसै समयमा पक्षीहरु बिचल्लीमा परेर रूँदै थिए । मान्छेहरु तमासा हेर्नकै निम्ति रङ्गीचङ्गी छाताहरु ओढेर ठाउँठाउँमा भेला भएका थिए । अन्जना तालको नजिकै भएर बग्ने दुईवटा पुलहरु थिए । बाढीको उर्लंदो कहरले पानीका माछाहरु थलिएका थिए । धमिलो पानीमा ती अस्तव्यस्त भएका थिए होलान् । यत्रतत्र फुत्रुक्क फुत्रुक्क उफ्रिएका देखिन्थे । मौकाको उपयोग गर्दै केही मान्छेहरु पुल तलको छाँगोमा तन्नाहरु टाँगेर माछा छोप्ने दाउमा देखिन्थे । खुबै खुसी थिए, ती माछा छोप्ने मान्छेका अनुहारहरु । एउटाको विपत्तिले अर्काको सुखलाई आमन्त्रण गर्दोरहेछ जस्तो पनि लाग्यो । लाखौँ वर्षदेखि प्रकृतिको सृजनामा त्यस्ता प्रक्रियाहरु निरन्तर चलिरहेछन्, चलिरहने पनि छन् भन्ने निर्णयले हलुको भएँ ।
एकाध घन्टापछि घर आइपुग्दा काली गाई रातभरिको पानीले चुटिएर जीउ थरथराउँदै भोकै उभिएको थियो । नजिकै राखिएको पराल अँगालोले सोरेर काली गाईलाई टक्र्याएँ । केही त्यान्द्रा पराल चपाउँदै गर्दासमेत उसको शरीरमा सुँड रोपेर बसेका मच्छर र भुसुनाहरु एक रौँ ठाउँ पनि यताउति नगरी टाँसिएका थिए । मुखमा च्यापिएको परालैसहित ती परजीवीलाई धपाउन गाईले दायाँबायाँ टाउको बटार्दै गथ्र्यो । संसारका समस्याहरुले पशु होस् अथवा मान्छे कसैलाई पनि छोड्दा रहेनछन् जस्तो लाग्यो । मान्छेको जीवन पनि लाखौँ समस्याले ग्रस्त छ । त्यसैले भनिएको होला, जीवनलाई व्यवस्थित र सुरम्य बनाउन मनको अभ्यासबिना कसै गरी सम्भव छैन । यस्ता धेरै कारणहरुले गर्दा दुःखबाट त्राण पाउन मान्छेले अस्तित्वको प्रार्थना गर्न सिक्यो । प्रार्थनाले मान्छेलाई भरोसा प्रदान ग¥यो ।
पानीले रूझेका भात पकाउने दाउरा चिसा थिए । हिजोआजको जस्तो चुलोको स्वीचलाई अन गर्नासाथ आगो बलेर भात पकाउन सकिने सुविधाहरु थिएनन् । समय निर्दयी त थिएन होला तर मान्छेको सुझबुझ निकै कमजोर थियो । हामीलाई भेट्न आएकी सर्किनी भोटी दिदी बाहिरको चिसो बरन्डामा टुक्रुक्क बसेकी थिइन् । सम्भवतः बर्खे झरी विषयको गन्थन र दुखेसो लिनेदिने मन थियो होला तिनलाई । बाहुनको घरमा आएकी भोटी दिदीले केही वस्तु आदि छोइएलान् कि भनेर सतर्क थिइन् । मलाई बाल उमेरदेखि नै मान्छेबीचको त्यस्तो विभेदकारी व्यवहारले चरम चोट पु¥याउँथ्यो । आफैँभित्रको अँधेरोमा रूमल्लिएको मान्छे सत्यलाई असत्य मान्थ्यो भने असत्यलाई सत्यको प्रमाण ठान्थ्यो । समाजले वर्षौंदेखि स्वीकार्दै आएको कुव्यवस्था लागू थियो । मान्नै पथ्र्यो, नमाने निम्न कोटीको मान्छेमा दर्ज हुनुपर्दथ्यो व्यक्तिले ।
मेरी आमाले कष्टपूर्वक आगो फुक्नुभएको थियो । वरपर बसेर हात सेकाउँदै ग¥यौँ । चिसोले शरीर आत्तिएको थियो । न्यानोको खोजी गर्नु शरीरको धर्म थियो । त्यससमयको चितवन रुखबुट्यानबिनाको मरूभूमि प्रतीत हुन्थ्यो । रुखबुट्यान नहुँदा वरपर सर्वत्र उराठ थियो । नारायणी नदीको पारितर्फ बीच भागमा भने प्रस्टसँग बाक्ला रुखहरु उभिएका देखिन्थे । बाल्ने दाउराको अभाव थियो । मान्छेहरु दाउराका निम्ति नदीमा हेलिएर सुकेका मुढाहरु पारिबाट वारि ल्याउँथे । दिनहरु असाध्यै कष्ट र जोखिमपूर्ण थिए । नदी तर्ने क्रममा मेरा एक जना ‘सुबेदार साहिँला’ नाम भएका मित्र नदीमा डुबेर जीवनबाट अलग हुन पुगेका थिए ।
प्रायजसो मान्छेका घरहरुमा चर्पी थिएनन् । यत्रतत्र दिसापिसाब र दुर्गन्ध सहनुको विकल्प थिएन । त्यही कारणले होला अधिकांश मानिसहरु हैजाबाट मर्दथे । व्यापक रुढिग्रस्त थिए, मान्छे । उपचार गर्ने कुरा छोडेर धामीझाँक्रीकहाँ शरण पर्दथे । धामीझाँक्री आफूलाई शक्तिसम्पन्न र ईश्वरका दूत सम्झन्थे । यथार्थतामा ती आफैँ निरीह र बेसमझ थिए ।
हरेक विषयको पछाडि गम्भीर अर्थ लुकेको हुन्छ । धामीझाँक्री उपचार पनि मनोचिकित्सा विज्ञानको एउटा अभिन्न अङ्ग थियो होला । यो स्वीकार्य छ कि धेरै रोगहरु विश्वास र भरोसामा निको हुने गर्दछन् । बिरामी उपचारका क्रममा धामीझाँक्रीका भरोसा र विश्वासले पनि निश्चित क्षेत्र र आधार सीमा निर्धारण गर्न सक्नुपर्दथ्यो । अशिक्षा, निश्चित पाठ्यक्रम र मापदण्डविहीनताले यसमा संलग्न व्यक्तिलाई स्वच्छन्द तुल्याउँदै लग्यो । सबै किसिमका रोग एकै प्रकारको विधि र उपचारले निको हुन पनि सक्दैनथे । प्राचीन उपचार र ज्ञानको विरासतलाई पछिल्ला पिँढीका धामीझाँक्रीहरुले निरन्तररुपमा सही उपयोग गर्न सकेनन् । परिणामतः धामीझाँक्री र झारफुकसम्बन्धी विज्ञान, जो मनोचिकित्सा उपचारको एउटा महत्त्वपूर्ण विज्ञान थियो तर पनि समयसँग कदममा कदम मिलाई अघि बढ्न नसक्दा समाप्तिको खाडलमा पर्दै गयो ।
Discussion about this post