यो प्रकृति, यो धरती, यो चराचर जगत् एउटा पद्धतिमा चल्दाचल्दै पनि बडो रहस्यमयी छ । विज्ञानले धेरै प्रगति गरेको कुरा स्वीकार्दास्वीकार्दै के पनि मान्नुपर्छ भने विज्ञानको यात्रा अझ पनि धेरै बाँकी छ । एउटा यही कोरोनाले विज्ञानको शक्तिलाई चुनौती दिएको छ । पूरा मानवसमाज यतिखेर डिप्रेसनमा गएझैँ लाग्दछ । संसार रहस्यमयी हो भने मान्छे आफैँमा एक पोको हो रहस्यको । एउटा व्यक्तिले आफूबाहेक अरुका बारेमा गर्ने अनुमानमात्रै हो, अन्तिम धारणा केही पनि बनाउन सकिन्न । यही रहस्य नै रहस्यको बीचमा मान्छेले जन्मायो– साहित्य । देखिने जीवन र भोगिने जीवनमा आकास र धरतीकै फरक हुनेरहेछ । मान्छे सत्यको सामना गर्न नसक्ने रहेछ । यथार्थ अक्सर यति कुरुप हुनेरहेछ । यही काल्पनिक लोक नै आदर्शमय हुनेरहेछ र मान्छे मनको लड्डु घिउसित खाएर सपनामा भए पनि तृप्त हुनेरहेछ । वास्तविक संसारमा हरेक मान्छे एक्लो छ, भावनात्मकरुपमा हरेक मान्छे आफ्नो छुट्टै लोकमा विचरण गरिरहेको हुन्छ । मानवजीवनमा सबैभन्दा निकट हुने भनेको पतिपत्नी हुन् । दाम्पत्य जीवन सत्यम् शिवम् सुन्दरम् हुनुपर्ने हो । तर, यही हुनुपर्ने र हुनुमा पनि धेरै अन्तर छ । जे देखिन्छ त्यो सत्य होइन, जे सत्य हो त्यो देखिँदैन । एउटा गज्जबको घनचक्कर, गोलचक्कर र विरोधाभाष हो मानवजीवन !
यस्तै यस्तै अनेक चक्रव्यूहबाट बाहिर निस्किन मान्छे साहित्यमा लाग्नेरहेछ । हरेक मान्छे विरेचित हुन चाहन्छ । सुरक्षित अवतरण हुने उपयुक्त स्थान पाउँदैन । मनको बह जथाभावी पोख्दा उपहासको पात्र बन्न सक्दछ । यही भएर मूर्तताबाट अमूर्ततातिर यात्रा गर्दा नै मनोवैज्ञानिकरुपमा सुरक्षित हुनेरहेछ मान्छे । किन कविता ? किन गजल ? किन मुक्तक ? किन कथा ? किन उपन्यास ? समग्रमा किन साहित्य ? मनको भारी बिसाउन । मनभित्र लाभा र म्याग्मा बोकेर हिँडेको हुन्छ मान्छे । मनभित्र सुनामी लहर छ । अनेक तनाव छ । वास्तवमा तनावमा नहुनु भनेको झन् तनावमा हुनु हो । कसैले मलाई कुनै पनि तनाव छैन भन्छ भने ऊ सधैँ तनावमा छ भनेर बुझे हुन्छ । मलाई केही कुराले नि छुन्नँ भन्छ भने उसलाई वा उनलाई जेले पनि छुन्छ भनेर बुझे हुन्छ । मलाई केही पनि चाहिन्नँ भन्नेलाई सबै कुरा चाहिएको हुन्छ । देखाउने व्यवहार र भित्री व्यवहार उही छन् । कि सानो बच्चा हुनुपर्छ कि बुद्धु हुनुपर्छ । औसत मानिसले गर्ने भनेको अभिनय हो, नाटक हो । हामी सबै रिल लाइफमा नगए पनि रियल लाइफको कलाकार हौँ । मान्छेले मान्छेलाई मूर्ख बनाउने उद्योगमा जो जति सफल हुन्छ उसैले यो मानवसमाजमा बढी भौतिक मोज गर्दछ । आध्यात्मिक आनन्द प्राप्त गर्ने बाटो अलग छ । त्यो सत्यपथ हो, असलपथ हो, इमान र नैतिकताको मार्ग हो, र हो धेरै काल्पनिक, इटोपियाको परिकल्पनामा नै आदर्शवाद हो । आदर्शवाद किताबमा पाइन्छ, भाषणमा पाइन्छ, भोगाइमा पाइन्न । यही भएर मान्छे आफूभित्रको आदर्शलाई जोगाउन साहित्यमा लाग्दछ ।
भावनाको संसार हो साहित्य, मानवताको संसार हो साहित्य । देवकोटाको ‘यात्री’ कविता हो साहित्य । के हामीले मानव मानेका साहित्यकारहरुको पारिवारिक जीवन सुखद थियो ? आनन्दमा थियो ? वास्तवमा आनन्द साहित्य सिर्जनाको उद्गम होइन । साहित्य जन्मिन आँसु नै चाहिन्छ, पीडा भोग्नुपर्छ मान्छेले । असफल प्रेमी नै सफल कवि बनेको इतिहास छैन र ? म कुनै साहित्यकार होइन । तर, मैले पनि शब्दका विन्यासलाई आफ्नो जीवनपद्धति बनाएँ । इतिहास पढेँ, वर्तमान हेरेँ र भोगेँ । मानवजीवनमा पहिलो प्राथमिकता के हो ? साहित्य कि परिवार ? केन्द्र कुन हो ? परिधि कुन हो ? कर्तव्य कुन हो ? काम कुन हो ? मेरो मनमा धेरै कुरा खेल्यो । र, निचोड निकालेँ । पारिवारिक सन्तुलन मुख्य कुरा हो । घरभित्र नै पराजित हुने मान्छे घरबाहिर विजयी हुन सक्दैन । भए पनि त्यो नक्कली हुन्छ । आवरणमा पाइने सम्मानको के मूल्य ? मञ्चमा गाइयो । वाहवाह पाइयो, ताली पनि खाइयो तर घरमा अभाव छ, परिवारको बिचल्ली छ भने त्यो वाहवाह र तालीले गर्जो टर्छ र ? पहिलो सर्त हो, आधारभूत आवश्यकताहरु पूर्ति हुनु । परिवारलाई रूवाएर बहकिनु हुन्न । एक किसिमले लहडीजम हो साहित्य । हुन त, यसमा पनि बहस हुन सक्छ । एन्टी थेसिस प्रयोग हुन सक्छ । तर, भान्सामा चाहिने सामान घरमा छैन र घरमूली साहित्यिक सम्मानका बारेमा मात्र सोच्दछ भने उसले परिवार नामको संस्थालाई न्याय दिन सक्दैन । त्यसो भए साहित्यमा नलाग्ने त ? यो आलेखको उद्देश्य साहित्यलाई निषेध गर्न खोजिएको होइन । पत्नीलाई पीडा हुने गरी पति साहित्यमा नलाग्ने र पतिलाई पीडा हुने गरी पत्नी साहित्यमा नलाग्ने घरपरिवारमा आयआर्जन, त्यसपछि मात्र साहित्य । मेरो विवेकले मलाई यही भन्यो, तेस्रो प्राथमिकतामा राखे हुन्छ साहित्यलाई ।
जीवन भनेको साहित्य होइन, परिवार हो । परिवारले दुःख पाएमा देशले दुःख पाउनेछ । मौरी बनेर महले घार भर्ने अनिमात्रै मन लागेको गर्ने । कर्मयोग सिकायो गीताले, कर्म नै धर्म हो । लेखेर बाँच्न सकिने अवस्था कम से कम यो मुलुकमा अझै भएजस्तो लाग्दैन । के हुन्छ कविता लेखी मेरो गरिब देशमा ? यसै लेखिएको होइन । साहित्यमा लाग्छु भनेर लागिने पनि होइन । धनको आडमा बनिने साहित्यकार धनको समाप्तिपछि मसानघाट पुग्दछ । स्वतःस्फूर्त हुन्छ साहित्य, बिहानीको घामजस्तै । एउटा जिल्लामा धेरै साहित्यप्रेमीहरु भए काम चल्छ, साहित्यको । मानवजीवन एक गजल हो भने परिवार काफिया हो र रदिफ हो साहित्य । परिवार प्राण हो ।
dhanraj.giri@yahoo.com
Discussion about this post