भर्खरैको कलिलो उमेरमै
तिमीसँग जुधेका नजरले
तिमी र म
एकआपसमा हराउन थाल्यौँ,
सुनौला सपना सजाउँदै हिँडेका
हामी एक युगल जोडी
यात्राको गोरेटोमा
आउने एउटा घुम्ती पार गर्न नपाउँदै
अँध्यारो बादलभित्रै हरायौ तिमी
जीवनका सयौँ घुम्तीमा
तिमीलाई नै खोज्दै हिँडे
तर खोइ कहाँ गयौ
आजसम्म भेट्न सकिनँ
जीवनमा आउने
अनेकौँ चुनौतीहरु पार गर्दै
एक्लै मैदानमा उत्रिएँ
तिमीसँगै बिताएका ती मीठा
अविस्मरणीय खुसीका क्षणहरुलाई
एकाएक बिर्सिन खोज्दैछु ।
तर पनि अनायासै
कहाँ–कहाँबाट भित्रभित्र
मन–मस्तिष्कमा पहिरो जान्छ
र मुस्काएको मेरो मुस्कानमा
कालो बादल छाउँछ,
हरेक रातका सपनीमा
देखेको तिम्रो त्यो छायाले
जति नै जीवनलाई
सहज बनाउँछ भन्दा पनि
अनायासै मुटुको धड्कनले
हलचल बनाइदिन्छ ।
गोरेटोमा हिँड्ने
हरेक यात्रीहरुले गर्ने प्रश्नले
र तिम्रो त्यो तस्बिर
आँखाअगाडि आउनाले
हृदयभित्रभित्रै
दनदन आगोको मुस्लो निस्कन्छ
एउटा अन्धकारभित्र हराउँछु म
एउटा प्रेमको अमूल्य
बलिदान गरेको अनुभूति गर्दै
आफूलाई बलियो बनाउने प्रयास गर्दैछु ।
Discussion about this post