नेपाल योग र साधनाको जननी मानिन्छ । योग अर्थात् साधना पाँच हजार वर्षअघिको पुरानो परम्परा हो । पछिल्लो समय योग साधना मानवजीवनको एउटा अङ्ग नै बनिसकेको छ । नेपालमा पनि बिहीबार छैटौँ योग दिवस मनाइएको छ । नेपाल र भारतमा विशेष महत्त्वका साथ योगाभ्यास गरिँदै आए पनि नेपालमा यो दिवस २०७२ माघ १ गतेदेखि औपचारिकरुपमा मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउने निर्णय गरेसँगै यसको महत्त्व थप बढेर गएको पाइन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले योगलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन प्रस्ताव गरेका थिए । जसमा नेपाललगायत १७५ मुलुकले समर्थन गरेपछि यो विश्वकै सम्पदा बन्न पुगेको हो । प्राचीनकालमा ऋषिमुनि, योगी, सन्त व्यक्तिहरुले गर्दै आएको योग एक्काइसौँ शताब्दीमा आइपुग्दा एसिया, युरोप र अमेरिकी मुलुकहरुमा विस्तारित भइसकेको छ । धार्मिकरुपमा सन्त ऋषिहरुले थालनी गरेको योगाभ्यास आज विश्वव्यापी मात्र बन्न पुगेको छैन, योग आध्यात्मिक शान्ति र स्वस्थ जीवनका लागि अपरिहार्य बन्न पुगेको छ ।
नेपाल प्राकृतिक विविधता र शान्त मुलुकका रुपमा संसारभर परिचित छ । प्राचीनरुपमा आफ्नै क्षेत्रमा उत्पत्ति भएको योग शारीरिक, मानसिक र आध्यात्मिक अभ्यासका दृष्टिले मात्र नभएर व्यस्त दैनिकी र स्वव्यवस्थापनका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहिआएको छ । खुसी हुन, तनावरहित जीवन बिताउन र मुहारमा हाँसो भर्न योगको विकल्प छैन । सन्त मानिसहरुले योगलाई जीवनको अभिन्न अङ्गका रुपमा अङ्गीकार गरे, योग साधना र स्वस्थ जीवनशैलीकै कारण उनीहरु शारीरिक एवं मानसिकरुपमा स्वस्थ भएर समाजका लागि योगदान गर्न सफल रहे । पछिल्लो समय नयाँ पुस्तामा पनि योगप्रति आकर्षण बढेको मात्र छैन, धेरैले यसलाई आफ्नो जीवनपद्धति बनाएका छन् । योग शारीरिक अभ्याससँगै जागरण पनि हो । जसको दृष्टान्तका रुपमा योगी नरहरिनाथ, स्वामी विवेकानन्द, स्वामी रामदेवको जागरण अभियानलाई लिन सकिन्छ । योगबाट व्यक्तिका बढेको चेतनाका माध्यमबाट समाजोपयोगी कार्य सम्पन्न गर्न सहज हुन्छ । भनिन्छ, शुद्ध विचारले गरिएका कामहरु पनि शुद्ध हुन्छन् । मानसिक विकास र शारीरिक सक्रियताका लागि योग गर्न विश्व स्वास्थ्य संगठनले जोड दिँदै आएको छ ।
मानसिक तथा शारीरिक सक्रियता भएको मानिस स्वस्थ हुन्छ । नेपालमा ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारणबाट भइरहेको छ । उच्च रक्तचाप, मुटु/हृदयाघात, चिनीजस्ता नसर्ने रोगबाट मृत्युदर घटाउन पनि योगाभ्यास गर्नुपर्ने ठहर विश्व स्वास्थ्य संगठनले गरेको छ । योग तथा शारीरिक सक्रियताका कारण मृत्युदर घटाउन तथा व्यक्तिको कार्यक्षमता बढाउन मद्दत पुग्ने गरेको छ । यही तथ्यलाई मनन गर्दै नेपालमा राष्ट्रिय योग दिवस मूल समारोह समितिको आह्वानमा सरकारी तवरबाट पनि ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ मनाइएको छ । कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिको अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्त्व र सान्दर्भिकता झनै बढेर गएको छ । योग र अध्यात्मका माध्यमबाट हाम्रा ऐतिहासिक तथा पवित्र धार्मिक क्षेत्रहरुको प्रवद्र्धन र पर्यटकीय आकर्षण बढाउन सकिन्छ । योगमा ध्यान र व्यायाम दुवैको संयोग रहने भएकाले हामी सबैको जीवनशैली बनाउन प्रेरित गर्नुपर्छ । मुटु, मांशपेसी तथा सम्पूर्ण शारीरिक तन्दुरूस्तीका लागि योगाभ्यास उपयोगी रहेको तथ्यलाई मनन गर्दै सबैले योगलाई आफ्नो जीवनमा अङ्गीकार गर्नुपर्छ । आखिर मानिस स्वस्थ रहेमात्र जीवन रहन्छ । स्वस्थ जीवन रहेमात्र मुलुकलाई समृद्ध बनाउन सकिन्छ । त्यसैले योग गरौँ, स्वस्थ रहौँ ।
Discussion about this post