भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका क्षेत्रमा आइतबारबाट गरिएको जलचरा गणना बिहीबार सकिएको छ । पाँचौँ दिन अर्थात् अन्तिम दिन माडी नगरपालिकाको रिउ खोलामा जलचरा गणना गरिएसँगै गणनाको सम्पूर्ण काम सकिएको हो ।
मौसम खराब भएपछि मध्य जनवरीलाई ध्यान दिएर चितवनमा गणना गरिएको हो । गणनामा खटिएका बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष तथा चराविद् वासु बिडारीले चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका क्षेत्रका तालतलैया तथा खोलामा पाँच दिन लगाएर चरा गणना गरिएको बताए ।
उनका अनुसार यसवर्ष संख्या केही बढे पनि प्रजाति नबढेको प्रक्षेपण गरिएको छ । उनले भने, ‘संख्या गनेर नै निकाल्न त दुई–चार दिन समय लाग्छ, तर प्रजातिहरु नबढेको अनुमान गरेका छौँ, चराको संख्या भने केही बढेको देखिन्छ ।’ उनले चितवन निकुञ्ज र यसआसपासको सिमसार क्षेत्र तथा तालतलैयामा चराको अवस्था यसवर्ष मध्यम रहेको बताए ।
नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारिखबाट चरा गणना थालिए पनि चितवनमा केही दिन ढिला गरी चरा गणना गरिएको थियो ।
चराविद् बिडारीले यसवर्ष दर्जन बढी तालतलैया र खोलाहरुमा जलचरा गणना गरिएको बताए । उनले लोथरदेखि जिन्दगानीघाटसम्म, जिन्दगानीघाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म गणना गरिएको बताए । त्यस्तै, माडीको रिउ खोला, बिसहजारी ताल, तमोर ताल, लामीताल, राप्ती खोलामा गणना गरिएको थियो ।
बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिएको उनले जानकारी दिए । बिडारीका अनुसार चरा बस्ने कुनै क्षेत्र नछुटाई गणना गरिएको छ । बूढी राप्ती, ढुङ्ग्रे खोलामा पनि गणना गरिएको उनी बताउँछन् ।
चितवन जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा ४० जनाभन्दा बढीको तीनवटा समूह बनाएर चरा गणना गरिएको बर्ड एजुकेसन सोसाइटीले जनाएको छ ।
गत साल जिल्लामा ६४१ प्रजातिका चरा फेला परेका थिए । तीमध्ये ५७ जल प्रजातिका थिए । देशभरमा यो संख्या ८८७ रहेको छ ।
क्यामरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरणबाट चराको रङ, शरीरको बनोट हेरेर, आवाज सुनेर गणना गरिएको थियो । नेपालमा मात्रै नभएर एसिया क्षेत्रमा नै यही समयमा चरा गणना गरिन्छ ।
Discussion about this post