रत्ननगर । चितवनको कालिका नगरपालिकाको सातौँ नगरसभाले दुई कार्यविधिसहित वन ऐन पारित गरेको छ । वन ऐन–२०७७ तथा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि–२०७७ र प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यविधि–२०७७ नगरसभाले पारित गरेको हो ।
नगरसभामा नगरप्रमुख खुमनारायण श्रेष्ठले ती कार्यविधि र ऐन सभासमक्ष पेश गरेका थिए । ती कार्यविधि र ऐनमा छलफलपश्चात् पारित भएको प्रमुख श्रेष्ठले बताए । वन ऐनअनुसार अब पारिवारिक र निजी वन दर्ता गर्न पाइनेछ, जसलाई स्थानीय सरकारले दर्ता प्रमाणपत्र दिनसक्ने उल्लेख छ । ऐनले सो वनभित्र काठ कटानी र ओसारपसार स्थानीय सरकारबाट अनुमति लिएर मुलुकको जुनसुकै भागमा लगेर बिक्री गर्न सक्ने तोेकेको छ ।
वडागत योजनाहरु संशोधन गर्नका लागि भने माघ ७ गतेसम्मको समय दिइएको छ । सभामा नगर सदस्यहरुले बाटो निर्माण, भवन निर्माणका काम करिब सकिएको भन्दै अब फोहोर व्यवस्थापनलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताए । जवाफमा नगरप्रमुख श्रेष्ठले फोहोर संकलन र व्यवस्थापनका लागि कार्यविधि तयार भइसकेकाले जिल्ला र केन्द्रको अनुमति कुरिरहेको बताए ।
Discussion about this post