भरतपुर । एलपिजी ग्यासमा सरकारले लगाउँदै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) ग्यास बिक्रेताले खारेजीको माग गरेका छन् । ग्यास बिक्रेता संघ चितवनको तेस्रो अधिवेशनमा बिक्रेता व्यवसायीहरुले दैनिक उपभोग्य वस्तुको रुपमा रहेको ग्यासमा भ्याट लगाउँदा मूल्य बढ्न पुगेको गुनासो गर्दै खारेजीको माग गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि ग्यास बिक्रेता संघका केन्द्रीय अध्यक्ष महेश्वर श्रेष्ठले ग्यासलाई सहजै उपभोग गर्न पाउने वातावरण बनाउन लागिपरेको बताए । उनले पसल–पसलमा ग्यास राख्न दिनुभन्दा ग्याँस बिक्रेतालाई प्रमाणीकरण गरेर व्यवस्थापन गर्नुपर्ने धारणा राखे ।
ग्यास बिक्रेता संघ बागमती प्रदेशका अध्यक्ष अर्जुन खत्रीले भ्याटमा छूट दिएर उपभोक्तालाई राहत दिनुपर्ने माग गरे । उनले ग्यास बिक्रेतालाई दिने कमिशनमा वृद्धि गर्नुपर्ने बताए । अन्य व्यवसायमा २० प्रतिशत मुनाफा लिन पाइने व्यवस्था भए पनि ग्यास बिक्रेताले ५ प्रतिशतसम्म भए पनि कमिशन बढाउनुपर्ने माग गरेको उनको भनाइ थियो ।
संघका निवर्तमान अध्यक्ष जीवनकुमार श्रेष्ठ, केन्द्रीय संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्याल, चितवनका संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेल, बागमती प्रदेशका महासचिव शालिकराम पोखरेल, चितवनका उपाध्यक्ष बाबुराम कँडेललगायतले बोलेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष विश्व जोशीको अध्यक्षतामा भएको थियो ।
बागमती प्रदेशमा २६ ग्याँस उद्योग छन् । जसमध्ये चितवनमा ३ वटा ग्यास उद्योग छन् ।
Discussion about this post