ज्योतिनगर । सडक दुर्घटनामा घाइते भरतपुर–२६, ज्योतिनगरका वर्ष २१ का जालिम महतोको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।
परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न सक्ने अवस्था नरहेपछि उनका मामा डिल्लीराम चौधरीले भान्जाको उपचारका लागि सबैसँग सहयोगको याचना गरेका हुन् ।
जालिम महतोे केही दिनअघि नवलपरासीको मगरकोटमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा टाउकोमा गम्भीर चोट लागी काठमाडौँ मेडिसिटी अस्पतालमा उपचाररत छन् ।
साथीभाइ र नातागोताबाट प्राप्त सहयोगमा २० लाखभन्दा बढी उपचारमा खर्च भएको मामा डिल्लीराम चौधरीले बताए । उपचारमा संलग्न डाक्टरहरुका अनुसार टाउकोमा गम्भीर चोट लागेकोले लामो समयसम्म अस्पतालमा रहनुपर्ने उनी बताउँछन् । ‘कमजोर आर्थिक हैसियत भएको परिवारले थप पैसा कहाँबाट जुटाउनु ! परिवार र आफन्तजनबाट संकलन हुन सकेकोले उपचार चलिरहेको छ’, महतोले भने ।
‘महिनाभरिको कमाइले खान–लाउन नै मुस्किल हुन्छ, जेठो छोरोको यस्तो हालत छ, बिहे भएको २ महिनामै छोरोको यस्तो दुर्घटना भयो’, बुबा सूर्यप्रसाद महतोले भने, ‘बेच्नलाई जग्गाजमिन छैन, ऐलानी जग्गामा सामान्य झुप्रो घरमा परिवार बस्दै अएको छ ।’ आम्दानीको अन्य स्रोत पनि नभएकोले उपचार गर्न आर्थिक समस्या रहेको हुँदा सहयोगको अपिल गर्नुबाहेक अरु विकल्प नरहेको महतो बताउँछन् ।
‘सानो छोरो २ वर्षको मात्र छ, सामान्य मेलापात र अधियाँ खेतीपातीले घर चल्दैछ । अब त छोरो ठूलो भयो, धेरथोर कमाएर घरको अवस्था सुधार्छ कि भनेको त छोरो दुर्घटनामा परेर हस्पिटलको बेडमा छ । सबैको धेरथोर सहयोग पाएमा मेरो छोरो बाँच्थ्यो कि ?’ आमा इन्द्रकुमारी महतोले रूँदै भनिन् ।
Discussion about this post