मधुसूदन दवाडी
दोस्रो संविधानसभामा देशको दोस्रो ठूलो शक्तिका रुपमा उदाएको एमाले अहिले महाधिवेशनको सँघारमा छ । पार्टीमा देखिएका कमीकमजोरीहरु हटाएर आगामी दिनमा पार्टीलाई अझ सक्रिय र लोकतान्त्रिक बनाउनका लागि महाधिवेशन एउटा उपयुक्त थलो हो । सधैँ एउटै पात्र, प्रवृतिले राजनीतिक दल चल्न नसक्ने भएकाले पनि समयअनुसार राजनीतिक दलमा रुपान्तरणको आवश्यकता पर्दछ । यही असार १९ गतेबाट हुने एमालेको नवौँ महाधिवेशनका लागि पार्टीका शीर्षस्थ नेताहरुको देशभर दौडाहा चलिरहेको छ । हिजो लामो समयसम्म स“गै
काम गरेका नेताद्वय माधवकुमार नेपाल र केपी ओली दुवै जनाले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसकेका छन् । पार्टी जीवनलाई गतिशील बनाउनका लागि आवश्यक मात्रामा पार्टीभित्र अन्तरद्वन्द्व आवश्यक पर्दछ । हरेक पार्टीभित्र द्वन्द्व चल्छ पनि तर एमालेभित्रको अहिलेको विवाद स्वाभाविक विवादजस्तो देखिँदैन । पार्टीका नेताहरु गुटगत आधारमा एकले अर्काेलाई गालीगलौच गर्ने अमर्यादित र अलोकतान्त्रिक शैलीलाई अपनाइरहेका छन् ।
दैनिक रुपमा नेपाली मिडियाहरुलाई अध्ययन गर्ने हो भने चाहे केपी ओली हुन् वा माधव नेपाल, दुवै नेता घोचपेचमा केन्द्रित भएको देखिन्छ । विशेषतः माधवकुमार नेपाल पक्षले केपी ओली पक्षलाई पार्टीमा धनवाद र डनवादलाई मलजल गरेको आरोप लगाउने गर्छन् । त्यसैगरी, ओली पक्षले भने माधवकुमार नेपाल वैधानिक रुपले पार्टीको अध्यक्ष हुन नसक्ने भन्दै १५ वर्ष पार्टीको नेतृत्व गर्दा पनि नपुगेर पदलोलुप बनेको आरोप लगाउ“दै छ । एमाले केन्द्रीय कमिटीले पार्टीका पूर्वअध्यक्ष वा महासचिव पार्टीमा वरिष्ठ नेता हुन सक्ने प्रावधान राख्दाराख्दै पनि माधवकुमार नेपाललाई वरिष्ठ नेताको पदले पुगेको छैन । १५ वर्ष पार्टीको नेतृत्व गरेर एक पटक प्रधानमन्त्री भइसकेका ब्यक्ति फेरि गुटगत राजनीतिको फोहोरी खेलमा फसेका छन् । उनी फेरि अध्यक्ष पदको आकांक्षी बन्नुमा सक्रिय राजनीतिक जीवनबाट किनारा लाग्न नसक्नु तथा अरु मानिस अध्यक्ष बनेको देख्न नचाहनु नै हो । उनलाई एमालेका नेताहरुमा आफू नै शीर्षस्थ नेता हो भन्ने घमण्डले छाडेको छैन र उनका अभिव्यक्तिहरु सुन्दा पार्टीमा आफूभन्दा ठूलो कोही नभएको फूर्ति गरिरहेका छन् । पहिलो संविधानसभामा पार्टीको लज्जास्पद पराजय भएपछि माधवकुमार नेपालले पार्टी नेतृत्व त्यागेका थिए । फेरि पार्टी दोस्रो स्थानमा आएपछि उनलाई पार्टीको नेतृत्व गर्ने भूतले सताएको छ । नेपालको राजनीतिमा सरल र निष्कलंकित नेता भनेर चिनिएका माधवकुमार नेपाल घुमीफिरी रूम्जाटार भनेजस्तै फेरि एमालेको शक्तिशाली नेता बन्ने दाउमा देखिन्छन् । उनी आफैँ स्वतःस्फूर्त लागेका हुन् वा कसैले उनलाई उचालेको हो, तथ्यहरु बाहिर आएका छैनन् ।
अर्का अध्यक्ष पदका आकांक्षी केपी शर्मा ओली भने ३५ वर्षे लामो राजनीतिक जीवनमा कहिल्यै पनि प्रमुख कार्यकारी पद नपाएका व्यक्ति हुन् । तर, कार्यकारी पद नपाउ“दैमा हिजो पार्टीले गरेका कमीकमजोरीमा उनी पनि केही हदसम्म जिम्मेवार छन् । केपी ओली पनि पटकपटक सत्ता र राजनीतिको केन्द्रमा रहेका नेता हुन्, जसले गर्दा देशको बिग्रँदो राजनीतिक संस्कारको दोष उनलाई पनि जान्छ । चाहे माधवकुमार नेपाल हुन् वा केपी ओली, दुवै नेता दोषमुक्त भने
छैनन् । वि.सं २०४६ सालदेखि आजसम्म नेकपा एमालेमा आएको उतारचढावको जिम्मेवारी दुबै नेताले लिनुपर्छ । अहिले नवौँ महाधिवेशनको मुखमा आएर भने दुवै गुटका नेताहरु आफ्नो शरीरको भैँसी नदेख्ने र अर्काको शरीरमा जुम्रा देख्ने काम गरिरहेका छन् । दुवै समूहले आफ्ना उम्मेदवारहरुको बढाइचढाइ गरिरहेका छन् उनीहरु न त माधवकुमारको अवगुण देख्छन्, न त केपी ओलीको नै देख्छन् । पार्टीको गोप्य बैठकमा जिम्मेवारीपूर्वक बोल्नुपर्ने कुरा बाहिर जनताका माझमा दुवै गुटले ओकलिरहेका देखिन्छन् । यसले पार्टी संगठन झनै कमजोर बनिरहेको छ । यही असार ८ गते विभिन्न जिल्लामा हुने उपनिर्वाचनमा गालीगलौच गर्ने प्रवृत्तिको प्रत्यक्ष असर पर्ने सम्भावना छ । सबै जिल्लामा गुटका भेलाहरु सम्पन्न भएकाले पनि पार्टी मतदाताहरुको मनोविज्ञान कमजोर बनेको देखिन्छ ।
अहिले एमालेमा मौलाएको गुटगत राजनीतिले पार्टीमा नीति होइन, नेता हाबी भएको देखिन्छ । स्पष्ट विधान, नीति–नियम नबनाई नेताको आज्ञाबाट पार्टी चल्न थाल्यो भने त्यसले एमालेलाई क्षतविक्षत बनाउने खतरा रहन्छ । एनेकपा माओवादी आज कमजोर हुनुमा पार्टीमा देखिएको गुटगत राजनीति तथा नीति र नेतृत्वको तालमेल गर्न नसकेकै कारणले हो । ओली वा नेपाल जो अध्यक्ष भए पनि अन्य क्षेत्रमा अवकाश लिनुपर्ने बूढा नेताहरु हाबी हुने रणनीति नै हो । सधैँ गुटगत राजनीतिमा नलागी देशको रुपान्तरण गर्ने जिम्मेवारी पनि एमालेको काँधमा आएको छ । त्यसैले, देशको आर्थिक रुपान्तरण, गरिबी निवारणको बहस एमालेभित्र चल्न आवश्यक छ । सम्भव भए त पार्टीको अध्यक्ष पदको आकांक्षी नेताहरुले भविष्यमा पार्टीले लिने स्पष्ट कार्यदिशा अगाडि ल्याउनु पर्ने हो, त्यो पनि ल्याउन सकेका छैनन् । आसन्न महाधिवेशनको मुखमा पार्टीभित्र देशको आर्थिक समृद्धि तथा गरिबी उन्मूलनका बारेमा बहस, चर्चा–परिचर्चा भएको त एक शब्द पनि सुनिएको छैन । गुटगत राजनीतिले गुटहरुको मोर्चाजस्तो पार्टी बन्दा संविधानसभा, सरकार र संसद्मा पार्टीको भूमिका प्रभावकारी बन्न सकेको देखिँदैन । भोलि पार्टीमा अध्यक्ष जोकोही बनोस्, तर पार्टीले दोस्रो संविधानसभामा जनतासामु गरेको वाचा भने पूरा नगरी सुख नै छैन । यसमा पहिलो प्रगतिशील अन्तरवस्तु भएको संविधानको बेलैमा निर्माण गर्नु हो । दोस्रो, वाचामा गरिब नेपाली जनताको जीवनमा आर्थिक, सामाजिक रुपान्तरण गर्नु हो भने तेस्रोमा पार्टीमा देखिएको वैचारिक तथा सांगठनिक प्रदूषणको अन्त्य गर्नु नै हो । पार्टी आन्तरिक रुपमा सुदृढ नबनेसम्म अन्य दलहरुस“गको बहस, छलफल तथा सहमति सार्थक हुन सक्दैन । एमाओवादी कमजोर बनेर संविधानसभामा दोस्रो बन्दैमा एमालेका नेताहरु मख्ख पर्नुपर्दैन । पार्टीमा अहिले संगठित तथा लागिपर्ने जुझारू नेता तथा कार्यकर्ताहरुको संख्यामा भने ह्रास आएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जिम्मेवार, शिष्ट र सक्षम बनाउन पनि महाधिवेशनले स्पष्ट खाका कोर्नुपर्दछ । नेताहरु कुन पदमा को कति समयसम्म रहने भन्ने विषयलाई स्पष्ट गरी अर्काे महाधिवेशनमा पार्टीको नेतृत्व लिने क्रममा कुनै विवाद नहुने गरी पार्टी विधान तथा नीतिको निर्माण गरिनुपर्दछ । नेपालका अन्य राजनीतिक दलहरुको तुलनामा सबैभन्दा लोकतान्त्रिक मानिएको राजनीतिक दलमा यस प्रकारको गुटगत राजनीति रहिरहेसम्म देशको राजनीतिक प्रणालीमा खासै सुधार हुन सक्दैन । यस महाधिवेशनले एमालेमा रहेको गालीगलौचको राजनीति सधैँका लागि अन्त्य गर्नुपर्दछ । पार्टीमा जुन नेताले पद दिन्छ, त्यसकै पछि कुद्ने गलत प्रवृत्तिको पनि अन्त्य हुनुपर्दछ । समग्र पार्टीलाई सबल, सुदृढ र प्रभावकारी बनाउनका लागि नवौँ महाधिवेशन एउटा राम्रो अवसरका रुपमा अगाडि आएको छ । यस अवसरको सही सदुपयोग गर्नु सबैको मह¤वपूर्ण दायित्व रहन्छ ।
Discussion about this post