नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज बिहीबार भारत भ्रमणमा जाँदैछन् । मन्त्री ज्ञवालीको तीनदिने भ्रमणलाई उच्च मह¤वका साथ हेरिएको छ । किनभने, उनले उच्च राजनीतिक भेटघाटका साथै नेपाल–भारतको द्विपक्षीय सम्बन्धहरु, व्यापार, पारवहन, ऊर्जा, सीमा, कोरोनाविरूद्ध सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृतिलगायतका विषयमा छलफल हुने तालिका सार्वजनिक भएको छ । परराष्ट्रमन्त्रीको भ्रमणमा यतिबेला सीमा विवादको विषयलाई विशेष प्राथमिकता दिइएको छ । नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेपछि नेपाल–भारत सम्बन्ध चिसिँदै आएको छ । लिम्पियाधुरा क्षेत्रलाई भारतले पनि आफ्नो देशको नक्सामा राखेपछि दुवै देशको सम्बन्धमा असमझदारी बढेको थियो । लामो समय चिसिएको सम्बन्ध उच्चस्तरीय संवादतर्फ अघि बढ्नु आफैँमा सुन्दर पक्ष हो । यद्यपि, सत्तारुढ दलको आन्तरिक किचलोका कारण नेकपा विभाजन भएको स्थिति छ । संसद् विघटनको विषम परिस्थितिका कारण राजनीतिक सङ्क्रमण बढेका बेला हुन लागेको भारत भ्रमणमा संवादको ढोका खुल्नु सकारात्मक पक्ष हो । परराष्ट्रमन्त्री कूटनीतिक सुझबुझ भएका नेता भएकाले उनको भ्रमण फलदायी हुने विश्वासचाहिँ गर्न सकिन्छ ।
नेपाल–भारतबीच पछिल्लो समय देखिएको जटिल परिस्थितिलाई चिर्दै सम्बन्धलाई प्रगाढ बनाउने विशेष अवसर परराष्ट्रमन्त्रीलाई मिलेको छ । कूटनीतिक भूमिकाको अभावमा वर्षौंदेखि सीमासम्बन्धी विवादहरु समाधान हुन सकेका छैनन् । नेपालको परराष्ट्रनीति र छिमेकीसँगको सम्बन्धमा सार्वभौम समानता, पारस्परिक विश्वास र समदूरी रहेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यानल जी न्यूजमा दिएको पछिल्लो अन्तर्वार्ताले नै प्रस्ट भइसकेको छ । नेपालको स्वार्थ भनेको सार्वभौम समानता, विकास साझेदार र सहकार्य नै हो । यद्यपि, सानो मुलुक हुनुका कारणले सन् १९५० को सुगौली सन्धिदेखि नै सीमा समस्याका विषयमा हामी अन्यायमा परिरहेको विषय पनि घामझैँ छर्लङ्गै छ । यस विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने अहिलेको आवश्यकता हो । यो विषय राजनीतिक र प्राविधिकरुपले निरुपण गर्न सकिएमात्रै नेपाल–भारत सम्बन्ध प्रगाढ हुने विश्वास गर्न सकिन्छ । हाम्रो ऐतिहासिक तथ्य, प्रमाण, विभिन्न सन्धिहरु तथा अन्य दस्तावेजका आधारमा नेपालले आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुपर्छ । यो जिम्मेवारी परराष्ट्रमन्त्रीको काँधमा आइपरेको छ । संयुक्त आयोगको बैठकमा ४० भन्दा बढी एजेन्डामा छलफल हुने बताइएको छ । धेरै विषयका एजेन्डामा छलफल हुँदा सीमा समस्या विषयान्तर हुनुहुँदैन भन्ने आमनेपालीको चाहना हो ।
पछिल्लो समय नेपालमात्र होइन विश्वजगत् नै कोरोना महाव्याधिको कहरमा गुज्रिरहेको छ । कोरोना भाइरसको पहिलो लहर न्यूनीकरण हुँदै जाँदा युरोप, अमेरिकालगायतका देशमा दोस्रो लहरले आक्रान्त पारेको छ । यस्तो विषम परिस्थितिमा एसियाली देशहरुमा पनि दोस्रो लहर देखिएका खबरले हामीजस्तो आर्थिकरुपमा विपन्न मुलुकलाई चिन्ता थपिनु अस्वाभाविक होइन । परराष्ट्रमन्त्रीको भारत भ्रमणको दोस्रो मह¤वपूर्ण एजेन्डा कोभिडविरूद्ध लड्न सहकार्य गर्नु पनि हो । अतिविकसित मुलुकहरुमा कोरोनाविरूद्धको खोप लगाउने कार्य द्रुतगतिमा भइरहेको छ । भारतमा समेत सुरूवातमा ३० करोड नागरिकलाई खोप लगाइँदैछ । नेपालमा पनि खोप यथाशक्य छिटो भिœयाएर जनतालाई निःशुल्क उपलब्ध गराउनुपर्ने माग प्रमुख प्रतिपक्ष कांग्रेसलगायतका दलले गरिरहेका छन् । सरकारले सके निःशुल्क वा नसके सहुलियतमा भए पनि कोरोनाविरूद्धको खोप ल्याउन ढिलाइ गर्नुहुँदैन । यसमा भारतसँग सहकार्य गर्दा अझै सहज हुनेछ । किनभने, खुला सीमाका कारण भारतसँगै नेपालले पनि कोरोना खोप लगाउने अभियान थाल्नुपर्ने भएको छ । यस्तै, नेपालको राजनीतिमा भइरहने उतारचढावका कारण विश्वका ठूला लगानीकर्ताहरु आकर्षित हुन सकिरहेका छैनन् । लगानी सम्मेलनमा प्रतिबद्धता जनाउने मुलुकले पनि नेपालमा लगानी गर्न हिच्किचाइरहेको स्थिति छ । अहिलेको परिवर्तित सन्दर्भमा परराष्ट्रमन्त्रीको भारत भ्रमणलाई अलिकति आशङ्काको दृष्टिले पनि हेरिएको छ । यद्यपि, मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध जहिल्यै पनि पार्टी वा गुटगत सोचभन्दा माथि हुनुपर्छ । परराष्ट्रमन्त्रीको छलफल र उच्चस्तरीय भेटवार्ताहरु पनि मूल विषयमा केन्द्रित हुनु आवश्यक देखिन्छ ।
Discussion about this post