वन्यजन्तुमैत्री संरचनाको खाँचो

अन‌ि यो पनि

पछिल्लो समय मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएका घटना सार्वजनिक भइरहेका छन् । हालै कोसीटप्पु वन्यजन्तु आरक्षण क्षेत्रनजिक हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भयो । जंगली हात्तीले मानवीय क्षति गरेसँगै सप्तरीमा स्थानीयले बाली जोगाउन लगाएको करेन्ट लागेर एउटा हात्तीको मृत्यु भयो भने त्यसअघि एउटा जंगली हात्तीको बिजुलीको तारले जेलिएर मृत्यु भयो । जंगली हात्ती बस्तीमा पसेर दुःख दिन थालेपछि प्रतिशोधस्वरुप हात्तीलाई निसाना बनाएर भाला र अन्य धारिलो हतियारले प्रहार गर्ने क्रम बढ्नु मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको दृष्टान्त हो । यस्तो द्वन्द्वको घटना बढ्नु आफैँमा चिन्ताको विषय त हुँदै हो, यस प्रकरणले संरक्षणमा पनि चुनौती थपिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा सुनसरी, उदयपुर र सप्तरी जिल्ला पर्दछ । १७५ वर्गकिलोमिटर फैलिएको सो आरक्षमा सुनसरी बस्तीतर्फ हात्तीलाई गाउँ प्रवेश गर्न नदिन विद्युतीय तारबारको घेरा बनाइए पनि सप्तरी र उदयपुरमा तारबार गर्न बाँकी नै छ । जसका कारण हात्ती मानवबस्तीमा प्रवेश गरेर जनधनको क्षति पु¥याउने र हात्ती पनि मानवीय निसानामा पर्ने उपक्रम दोहोरिने गरेको छ ।

कोसी टप्पुमा देखिएको मानव र वन्यजन्तुबीचको द्वन्द्व एउटा दृष्टान्तमात्रै हो । अन्य राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि यस्तै खाले समस्या छन् । केही दिनअघिमात्रै पूर्वपश्चिम महेन्द्र राजमार्गको पर्सा राष्ट्रिय निकुञ्ज सडकखण्डमा सवारीसाधनको ठक्करबाट लोपोन्मुख पाटेबाघको सडकमै ढलेर मृत्यु भयो । जुन तस्बिर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरलसमेत बन्यो । केही दिनअघि बारामा पनि मोटरसाइकलको ठक्करबाट बाघको मृत्यु भएको थियो । सो घटनासँगै पूर्वपश्चिम राजमार्गकै बर्दिया राष्ट्रिय निकुञ्जको कुँवाभारनजिकै मोटरसाइकलमा सवार एक व्यक्तिलाई पाटेबाघले झम्टेर लगेको समाचार सार्वजनिक भयो । सवारीसाधनको ठक्करबाट पाटेबाघ मरेका र पाटेबाघको आक्रमणबाट निकुञ्जवरपरका मानिसले ज्यान गुमाउनु परेका घटना संयोगमात्र होइनन् । यस्ता घटना निरन्तर भइरहेका छन् । मानव र वन्यजन्तु क्षतिका घटना न्यूनीकरणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पूर्वाधारहरु निर्माण गर्दा वन्यजन्तुमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्ने भएको छ । वन्यजन्तुको बासस्थान, गतिविधिलगायत वैज्ञानिक तथा प्राविधिक अध्ययन गरेरमात्रै अन्डरग्राउन्ड पास वा आकाशे पुलजस्ता संरचना निर्माण गर्न ढिलाइ गर्नुहुँदैन । वन्यजन्तुको क्षति हुँदा जसरी संरक्षणकर्मीहरुले चासो लिन्छन्, चिन्ता व्यक्त गर्छन् उसैगरी वन्यजन्तुबाट भएका मानवीय क्षतिलाई पनि सामान्य ठान्नु गलत हुन जान्छ । मानवीयभन्दा वन्यजन्तुको जीवन कुनै मानेमा अमूल्य हुनसक्दैन ।

निकुञ्ज क्षेत्रमा पर्ने सडक क्षेत्रमा सवारीसाधनको ठक्करबाट बारम्बार बाघ, गैँडा, हरिण, मृगजस्ता जंगली जनावरको मृत्यु भइरहन्छ । वन्यजन्तु हिँड्ने क्षेत्रमा राजमार्ग बनाएका कारणले यस्ता घटना भएका हुन् । नेपालमा जति पनि सडकलगायतका संरचना बनेका छन् ती वन्यजन्तुमैत्री छैनन् । निकुञ्ज क्षेत्रभित्र पूर्वाधार निर्माण गर्दादेखि नै वन्यजन्तुमैत्री संरचना तयार गर्न सकिएको भए अनाहकमा न मान्छेको ज्यान जाने थियो न वन्यजन्तुकै । देशभरका विभिन्न संरक्षित क्षेत्रका राजमार्ग, सडक वा अन्य स्थानमा मानव र वन्यजन्तुबीचको द्वन्द्वबाट दुवैतर्फ क्षति बढ्दै जाँदा सरोकारवालाले चासो नदेखाउनु विडम्बनाको विषय हो । पूर्वपश्चिम राजमार्गले शुक्लाफाँटा, बर्दिया, चितवन र पर्सा राष्ट्रिय निकुञ्ज एवंं कोसीटप्पु आरक्षको केही भागलाई छोएको छ । यस्तै, हुलाकी राजमार्गको भरतपुर–माडी खण्ड पनि चितवन राष्ट्रिय निकुञ्जभित्रै पर्छ । पृथ्वी राजमार्गको नारायणगढ–मुग्लिन सडकखण्ड चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बरन्डाभार जंगलमा पर्छ, जुन क्षेत्र वन्यजन्तुको बसोवास र आवतजावत गर्ने स्थान हो । यसबाहेक पनि अन्य सहायक मार्गहरु पनि वन्यजन्तुको बासस्थान भएका वन क्षेत्रमै परेका छन् । यी क्षेत्रहरु यात्रु र वन्यजन्तु दुवैका लागि जोखिमपूर्ण छन् । त्यसैले, राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री संरचना निर्माणमा ध्यान दिनु आवश्यक देखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया