भरतपुर । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवनले प्रहरी हिरासतमा रहेका व्यक्तिहरुका लागि पुस्तक सहयोग गरेको छ । महासंघको १६औँ स्थापना दिवसको अवसरमा मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रहरी कार्यालय चितवनलाई करिब पाँच सय थान पुस्तक सहयोग गरेको हो । साहित्यिक, धार्मिक, पाठ्यक्रम, लोकसेवा आयोगसहित सबै खालको पुस्तक समेटेर प्रहरी हिरासतमै पुस्तकालय स्थापना गर्न सहयोग गरेको महासंघका अध्यक्ष उद्योगविक्रम बानियाँले जानकारी दिए ।
‘हाम्रो यो सानो सहयोगले प्रहरी हिरासतमा आइपुगेका व्यक्तिहरुलाई सहयोग मिल्ने विश्वास गरेका छौँ’, उनले भने । महासंघले संस्था स्थापना, श्रीपञ्चमीलगायत विभिन्न अवसर पारेर विभिन्न विद्यालयमा पुस्तक तथा स्टेसनरी सामग्री, विद्यालयका पोसाकलगायतका सरसामान सहयोग गर्दै आइरहेको छ । सोही क्रममा यसवर्ष जिल्ला प्रहरी कार्यालय चितवनलाई पुस्तकालय स्थापनामै सहयोग पुगोस् भन्ने उद्देश्यले पुस्तक सहयोग गरेको अध्यक्ष बानियाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नान्तीराज गुरूङले हिरासतमा पुस्तकालय नभए पनि एउटा दराजमै राखेर थुनुवाहरुलाई पुस्तक पढ्ने व्यवस्था मिलाउने बताए । ‘अपराध नियन्त्रणका लागि प्रहरी एक्लैको प्रयासले मात्रै सफलता हात पार्न सक्दैन’, उनले भने, ‘आगामी दिनमा यहाँहरुले दिनुभएको पुस्तकले अपराध नियन्त्रणलाई थप सहयोग मिल्ने विश्वास लिएको छु ।’ कतिपय ज्ञानवद्र्धक पुस्तक भएकोले आपराधिक गतिविधिमा संलग्न रहेका व्यक्तिलाई पनि सत्मार्गमा हिँड्न सिकाउने माध्यम बन्ने उनको भनाइ छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने राजधानीबाहिर पठन संस्कृतिको विकास कमजोर भइरहेको समयमा पुस्तक व्यवसायीले प्रहरी हिरासतमा रहेकाहरुलाई मध्यनजर गर्दै पुस्तकालय स्थापनाका लागि गरेको सहयोग ज्यादै सराहनीय भएको बताए । हिरासतमा आउने सबै व्यक्ति दोषी नहुने हुँदा तनावमा रहेकाहरुको तनाव व्यवस्थापनका लागि यी पुस्तक सहारा बन्न सक्ने उनको विश्वास छ । सबै खालको पुस्तक समावेश गरेर सहयोग गरेको हुँदा सबै प्रकृतिका पुस्तक पढ्न पाउने उनले बताए ।
‘पुस्तकले तनाव व्यवस्थापनमात्रै नभई सकारात्मक बाटोतर्फ डो¥याउन पनि सहयोग पु¥याउँछ’, उनले भने, ‘तर उपलब्ध भएका पुस्तकलाई पुस्तकालयको आकारमा राख्न स्थान अभाव छ, त्यसलाई स्थान उपलब्ध गराउन हामी सबैको सहयोग आवश्यक छ । र, प्रशासनबाट पनि सक्दो सहयोग गर्नेछु ।’
८० जना क्षमताको हिरासतमा हाल तीन जना महिलासहित ५२ जना छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक गुरूङका अनुसार हिरासतमा सबैभन्दा धेरै लागूऔषधसम्बन्धी मुद्दामा छन्, यो मुद्दामा हिरासतमा आएकाहरुको संख्यामात्रै २७ जना छन् । हिरासतमा आउने–जानेको संख्या सरदर दैनिक १० जनाको हुने गर्छ ।
Discussion about this post