भरतपुर । भरतपुर महानगरको गौरवको आयोजना यसवर्षका लागि नौ वटा थप भएका छन् । अघिल्ला वर्षहरुदेखि नै १४ वटा आयोजना निरन्तर छन् । तर, यी सबै आयोजनाको काम निकै सुस्त भएको पाइएको छ । यसका लागि कोरोना मुख्य जिम्मेवार पक्ष रहेको महानगर प्रशासनले जनाएको छ ।
महानगरको सातौँ नगरसभामा प्रस्तुत रिपोर्टअनुसार केहीमात्रै आयोजनाको काम भौतिकरुपमा अघि बढेको छ । ‘केही काम ६ महिनाभित्रै सकिँदैछन् भने केही वर्षदिन पनि लाग्न सक्छ’, महानगरका डिई रत्न लामिछानेले उक्त अभिव्यक्ति दिएको ६ महिना भएको छ । तर, कुनै पनि आयोजना सम्पन्न भएका छैनन् ।
भरतपुर महानगरको विकासमा मह¤वपूर्ण अङ्गका रुपमा गौरवका आयोजनाहरुलाई लिइएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताइन् । वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुद र सुशासनको क्षेत्र समेटेर गौरवका आयोजनाहरु तयार पारिएको उनको भनाइ छ ।
महानगरका प्रवक्ता वडा–१० का अध्यक्ष अरूण पीडित भण्डारीले निरन्तर रहेका आयोजनाका काम धमाधम भइरहेको बताए । केही काम सहरी विकास कार्यालयमार्फत अघि बढेका छन् । केही गौरवका आयोजना त पिपिई मोडलमा निर्माण हुन लागेको प्रवक्ता भण्डारीले जानकारी दिए ।
स्मार्ट स्ट्रिट लाइटको २० करोडमा निर्माण सम्झौता भएको छ । चौबीसकोठी–चनौली सहायक राजमार्ग रामपुर–चनौली खण्ड निर्माण भएको छ । महानगरीय साइकल लेन निर्माण, सहयोगापेक्षी सडक मानवमुक्त महानगर, कृषि विकासका लागि यान्त्रीकरण, महानगरीय उद्योग ग्राम, नारायणी नदीकिनारमा पर्यटन स्तम्भ, एक वडा एक पार्कको आयोजना नयाँ थप भएका छन् । भरतपुर एअरपोर्ट स्तरोन्तिको सम्बन्धमा छलफलमात्र भएको प्रवक्ता भण्डारीले बताए ।
नागरिकमैत्री सेवाको लागि भौतिक तथा आइसिटी पूर्वाधार विकास एवं सुशासन प्रवद्र्धन, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, महानगरीय नमुना सडक पूर्वाधार विस्तार, अटोभिलेज तथा लघुउद्यम ग्राम निर्माण, शैक्षिक गुणस्तर विकास कार्यक्रम, ल्यान्ड फिल्ड साइट विकास, महानगरीय पार्क निर्माण, एक वडा एक खेलमैदान र विद्युतीय शवदाह गृह निर्माण कार्य निरन्तर सञ्चालित छन् ।
त्यस्तै भरतपुर मेट्रो प्लाजा निर्माण कार्य एक महिनामा सम्झौता हुने भएको छ । महानगरीय सिटी हल निर्माण कार्यका लागि ठेक्का सम्झौता भई काम सुरू भएको छ । नारायणी नदी ‘सी’ बिच मोडल निर्माणका लागि रू ७ करोडको टेन्डर आह्वान भएको छ । महानगरीय लिङ्क र रिङ रोडको ११ किलोमिटर काम भएको महानगरपालिकाले जनाएको छ ।
Discussion about this post