भरतपुर । खाद्य स्वच्छता र सरसफाइका आधारमा होटलहरुको स्तरीकरण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनले सोमबार नारायणगढका होटलहरुमा अनुगमन गरेको छ । अनुगमन गरिएका सातवटा होटलमध्ये तीनवटा होटल खाद्यको स्तरीकरणमा नै पर्न सकेनन् । ती होटलहरुमा धेरै सुधार गर्नुपर्ने देखिएकाले स्तरीकरणमा पर्न नसकेको खाद्य प्रविधिले बताएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अनुसार नारायणगढका होटल तिरूपती, होटल डिस्कभरी र होटल अतिथि स्तरीकरणमा पर्न नसकेका हुन् । खाद्य प्रविधिले खाद्य स्वच्छता र सरसफाइसम्बन्धी ५० वटा सूचकका आधारमा होटलहरुको स्तर निर्धारण गरेको हो । एउटा सूचकको अंक दुई रहेको हुन्छ । स्तरीकरणमा पर्न कम्तीमा ५० अंक ल्याउनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीले बताए ।
‘५० अंक पनि ल्याउन नसक्ने होटलले निकै सुधार गर्नुपर्ने देखियो’, उनले भने, ‘खाद्य स्वच्छता तालिममा सहभागी भएका सञ्चालकको होटल पनि स्तरीकरणमा पर्न सकेनन् । तिनीहरुलाई तत्काल सुधार गर्न निर्देशन दिएका छौँ ।’ होटलका भान्छामा सामान्य कुरामा हेलचेक्र्याइँ गरेको पाइएको उनले बताए । खाद्य प्रविधिले पुस १३ गते खाद्य स्वच्छता तथा सरसफाइसम्बन्धी तालिमको आयोजना गरेको थियो । सोही तालिममा सहभागी होटल सञ्चालकहरुको होटलमा सोमबार अनुगमन गरी होटलको स्तरीकरण गरिएको हो ।
होटल स्तरीकरणमा पर्न नसक्नुमा आफ्नै कमीकमजोरीहरु रहेको होटल तिरूपतीका व्यवस्थापक वसन्त अधिकारीले स्वीकार गरे । लकडाउनका कारण कुनै संरचनाहरु बनाउन पनि नपाइएको उनले बताए । ‘दैनिकरुपमा गर्ने सामान्य कुराहरुमा कमजोरी औँल्याउनुभएको छ’, उनले भने, ‘स्तरीकरणमा पर्न नसक्नु हाम्रो कमीकमजोरी पनि हो । यसलाई अब हामीले बिस्तारै सुधार गर्दै लैजाने प्रयास रहन्छ ।’
अनुगमनका क्रममा तीनवटा होटल उत्तम र एउटा सामान्य श्रेणीको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य अधिकृत प्रदीप काफ्लेले बताए । होटल मुक्तिनाथ, होटल न्यू हेभन र होटल ह्याप्पी होमले दुई तारासहितको हरियो स्टिकर प्राप्त गरेको उनले बताए । खाद्य स्वच्छता र सरसफाइका सूचकमा ८० देखि ८९ सम्म अंक ल्याउनेलाई दुई तारा भएको हरियो स्टिकर दिइने उनको भनाइ छ ।
न्यू होटल होलिडे होमले सामान्य श्रेणीको पहेँलो स्टिकर पाएको उनले जानकारी दिए । ५० देखि ६४ सम्म अंक ल्याउने होटललाई पहेँलो स्टिकर दिइने व्यवस्था छ । ६५ देखि ७९ सम्म अंक ल्याउनेलाई सन्तोषजनक श्रेणीको एक तारा भएको र ९० भन्दामाथि अंक ल्याउनेलाई अति उत्तम श्रेणीको तीन तारा भएको हरियो स्टिकर दिइने उनले बताए ।
उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले होटलहरुको स्तरीकरण गर्दा खानाको मूल्यलाई पनि आधार मान्नुपर्ने बताए । कतिपय होटलले खानाको परिमाण नै नखुलाई उपभोक्तासँग मनलाग्दी पैसा असुल्ने गरेको उनले बताए । खाद्य प्रविधिले गत वर्ष सौराहाका ३४ वटा होटललाई स्तरीकरण गरेको थियो । नारायणगढका होटलहरुलाई आज (मंगलबार) पनि स्तरीकरण गर्ने कार्यक्रम रहेको खाद्य प्रविधिले जनाएको छ ।
Discussion about this post