कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्र लयमा फर्किन थालेको बताइए पनि अहिलेको आगमन कत्तिको दिगो हो भन्नेमा अन्योल नै छ । राजधानी काठमाडौँबाट पोखराभन्दा नजिकको दूरीमा रहेको चितवनमा पर्यटकहरु खासै आकर्षित बनेको पाइँदैन । चितवनमा ५५ नयाँ पर्यटकीय गन्तव्य पहिचान भएर प्रवद्र्धनका कार्यक्रम हुन थालेका छन् । चितवनको सौराहामा ६० रेस्टुरेन्ट र ११० होटल, पटिहानीमा ८ वटा ठूला होटल र साना १२ वटा छन् । मेघौलीमा साना–ठूला गरी १२ वटा होटल छन् । जंगल सफारीमा आधारित पर्यटकहरुको रोजाइ चितवन परेको छ । चितवन राष्ट्रिय निकुञ्ज र त्यसवरपरका मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, जिप सफारीका माध्यमबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा, बाघ, जरायो, मृग, कालिज, मयूर हेर्नका लागि पर्यटकहरु सौराहा आउने गरेका छन् ।
नेपालमा पर्यटकको औसत बसाइँ १२ दिन हुँदा चितवनमा पर्यटकको औसत बसाइँ दुई रातको मात्रैं हुने गरेको छ । अन्यत्र घुमेर बचेको समयमा मात्रैं चितवनमा पर्यटकहरु आउने गर्दछन् । अत्यन्तै छोटो समयका लागि चितवन पनि जाऔँ न भन्ने उद्देश्यका साथमात्रै पर्यटकहरु यहाँ आउने गरेको पाइन्छ । चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने तथ्याङ्कलाई नै चितवन आउने पर्यटकको सङ्ख्याका रुपमा लिने गरिएको छ । तर, चितवन आउने पर्यटक सबै राष्ट्रिय निकुञ्जभित्र नै प्रवेश गर्दछन् भन्ने पनि छैन । योबाहेक पर्यटकको तथ्याङ्क संकलन गर्ने भरपर्दो माध्यम पनि चितवनमा छैन ।
भरतपुरबाट पूर्वदक्षिणतर्फ १८ किलोमिटरमा रहेको सौराहाले चितवन जिल्लाको पर्यटन व्यवसायलाई नेतृत्व गरिरहेको छ । चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारका रुपमा परिचित सौराहा आन्तरिक तथा बाह्य पर्यटक भ्रमण गर्ने प्रमुख गन्तव्यका रुपमा प्रख्यात छ । राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहाबाट निकुञ्ज र सामुदायिक वनमा हात्ती सयर, राप्ती नदीमा डुङ्गा सयर गर्न सकिन्छ । जैविक सूचना केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, चरा अवलोकन, जिप सफारी, बोटिङ आदि पर्यटकीय क्रियाकलापबाट पर्यटकले भरपूर मनोरञ्जन प्राप्त गर्दछन् । स्तरीय रिसोर्ट, होटल तथा रेस्टुरेन्ट, पर्यटक सूचना केन्द्र, गाइड, पर्यटक बस, टाँगालगायतका सुविधा उपलब्ध छन् सौराहामा ।
सौराहा अहिले आन्तरिक पर्यटकबाट नै धानिएको छ । सौराहामा घुम्ने आन्तरिकको संख्या बढी छ, तर बास नै बस्ने चलन भने निकै कम छ । बाह्य पर्यटकको आवागमन हुन नसक्दा होटल ‘बुकिङ’ सन्तोषजनक छैन । सौराहामा पर्यटकहरुलाई आकर्षित गर्न हात्ती महोत्सव तथा खाना महोत्सवजस्ता कार्यक्रम हरेक वर्ष हुँदै आएका छन् । तर, पर्यटकहरु खासै आकर्षित बन्न सकेका छैनन् । केही समयअघि सौराहाका पर्यटन व्यवसायीहरुले सेभेन पोइन्ट टुर कार्यक्रम सार्वजनिक गरेका थिए । विगत लामो समयदेखि कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई चलायमान बनाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । सौराहा आउने पर्यटकहरुलाई देवघाटदेखि नवलपुरको शाश्वतधामसम्म लैजाने गरी प्याकेज निर्धारण गरिए पनि त्यो लागू भएको छैन ।
चितवनको पर्यटन फराकिलो बन्दै गएको छ । लामो समयदेखि सौराहामा केन्द्रित चितवनको पर्यटन अहिले पश्चिम चितवनको पटिहानीमा समेत विस्तार भएको छ । त्यसो त, पटिहानी पर्यटनको भर्जिन क्षेत्र हो । नजिकै कलकल बगेकी राप्ती, केही टाढामै चितवन राष्ट्रिय निकुञ्ज अनि पहेँलपुर तोरी फुलेको ढकमक्क फूलले सबैलाई लोभ्याइरहेको हुन्छ । अहिले अम्ब्रेला स्ट्रीटले पर्यटकलाई आकर्षित गरिरहेको छ ।
मेघौली पर्यापर्यटन विकासको महत्त्वपूर्ण गन्तव्य हो । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र दुई ठूला नदी राप्ती तथा नारायणी दुईतिरबाट घेरिएको छ मेघौली । यो नेपालमा सर्वप्रथम जंगल सफारीको सुरूवात गर्ने टाइगर टप्स जंगल लजको प्रवेशद्वार मानिन्छ । समुद्री सतहदेखि २२५ मिटर उचाइमा अवस्थित उच्च मनसुनी हावापानी रहेको मेघौलीमा होमस्टे र सुविधासम्पन्न आरामदायी होटलहरु छन् । दुर्लभ बाघ, गैँडा तथा चराचुरूङ्गी, निर्माणाधीन राइनो पार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, प्याराज म्पिङ्ग, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्ती सयर, डुङ्गा सयर, मचान स्टे, जंगल वाक, जिप सफारी आदि यस क्षेत्रका प्रमुख आकर्षण तथा पर्यटकीय क्रियाकलाप हुन् ।
नेपालमा विक्रम संवत् २०३० सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज पहिलो निकुञ्ज पनि हो । बागमती प्रदेशमा अवस्थित यो निकुञ्जलाई युनेस्कोले विश्वसम्पदा सूचीमा समेत सूचीकृत गरेको छ । यो निकुञ्ज नेपालको तेस्रो र बागमती प्रदेशको दोस्रो मह¤वपूर्ण पर्यटकीय गन्तव्य पनि मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जको स्थापना हुनुभन्दा पहिल्यै अर्थात् विक्रम संवत् २०२२ सालमा मेघौलीमा बेलायती नागरिक जिम इडवर्डले टाइगर टप्स होटलको स्थापना गरेका थिए । त्यहीँबाट नै नेपालमा जंगल सफारीमा आधारित पर्यटनको सुरूवात भएको मानिन्छ । विक्रम संवत् २०१७ सालमा मेघौली विमानस्थलको निर्माण गरिएको थियो । टाइगर टप्स सञ्चालनमा आएपछि विमानस्थलको पनि स्तरोन्नति गरियो र सोही होटलको कारण विमानस्थल पनि व्यस्त हुन पुग्यो । मेघौली मा अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिताको पनि आयोजना गर्ने गरिन्थ्यो । तर, अहिले विमानस्थल गौचरणमा बदलिएको छ ।
चितवनमा आउने पर्यटकहरु विशेषगरी एकसिङ्गे गैँडाको बारेमा अध्ययन गर्न तथा यहाँका विभिन्न कला–संस्कृति, धार्मिक तथा सांस्कृतिक स्थलका बारेमा बुझ्न, जैविक विविधताका बारेमा अध्ययन गर्न, जातजातिका बारेमा अध्ययन अनुसन्धानका लागि मुख्यरुपमा आउने गर्दछन् । यिनले त्यहाँ कम्तीमा एक रात बिताएकै हुनुपर्दछ । ग्रामीण समुदायको रहनसहन एवं त्यहाँको भौगोलिक वातावरणको परिचय दिने खालका बनाएर यसतर्फ पर्यटकहरुलाई आकृष्ट गर्न सकिन्छ । हरेक गाउँ क्षेत्रले सबै आकर्षण दिन नसके पनि विविध ग्रामीण वातावरणले विभिन्न कार्यक्रम दिई पर्यटकको गन्तव्यस्थल बन्न सक्छ ।
नेपालका ग्रामीण क्षेत्रले तिनको भौगोलिक अवस्थिति एवं ऐतिहासिक पृष्ठभूमिअनुसारका सांस्कृतिक र प्राकृतिक दुवै खाले पर्यटकलाई आकर्षण दिन सक्छ । त्यहाँ पर्यटकहरुले पिकनिक, क्याम्पिङ, माछा पार्ने, पौडी खेल्ने, चराहरु हेर्ने प्याराग्लाइडिङ, छोटा–छोटा दूरीका पदयात्रा, प्राकृतिक दृश्यावलोकन, ऐतिहासिकस्थलको भ्रमण, चाडपर्वहरु र मेलापर्व आदि जस्ता विभिन्न क्रियाकलापहरुमा आफूलाई सहभागी गराउन पाउँछन् । यहाँको प्राकृतिक सौन्दर्य, अनुपम संस्कृति, अतुलनीय सांस्कृतिक सम्पदा र अनगिन्ती विशिष्टतायुक्त पर्यटकीयस्थलहरुका कारणले नेपाल पर्यटनका लागि प्रमुख गन्तव्यका रुपमा विश्वभर परिचित छ ।
नेपालको ग्रामीण क्षेत्रको पर्यटनमा प्रशस्त सम्भावनाहरु रहेका छन्, जसलाई पहिचान गरी समयमै उचित तथा दीर्घकालीन योजनाहरु बनाई सफलतापूर्वक कार्यान्वयन गराउनबाट नेपाल सरकार तथा मातहतका कार्यालयहरु नचुकेको खण्डमा नेपाली ग्रामीण पर्यटनले नेपालीहरुको जीवनस्तरमा उल्लेख्य मात्रामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।
माडीका थुप्रै ग्रामीण बस्तीहरु ग्रामीण पर्यटक विकासका लागि उपयुक्त भएता पनि त्यहाँसम्म पुग्ने सहज पहुँचको अभावले गर्दा पछाडि परेका छन् । जसको प्रत्यक्ष घाटा देशको अर्थतन्त्रमा परेको छ, जसलाई समयमै देशका नीतिनिर्माता, योजनाकार, पर्यटक व्यवसायी तथा सचेत नागरिकले मध्यनजर गरी देशको आर्थिक क्रान्तिको सशक्त र प्रभावकारी स्रोतका रुपमा ग्रामीण पर्यटकलाई नै छनोट गर्न चुक्नुहुन्न ।
पर्यटन आफैँमा बृहत् क्षेत्र भएकाले पर्यटनमा सहकार्य हुनुपर्छ । बिस्तारै पर्यटकहरु इको टुरिजमतर्फ आकर्षित भएका छन् । आफ्नो क्षेत्रमा मात्रैं नभई अन्य क्षेत्रमा पनि कसरी पर्यटक लैजाने भन्ने सोच यहाँका व्यवसायीमा हुन आवश्यक छ । होटलमा करोडौँ लगानी गरेका यहाँका पर्यटन तथा होटल व्यवसायीहरुले प्रचारप्रसारमा भने सुको पैसा खर्च गर्दैनन् । राष्ट्रिय, अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार गर्न यहाँका व्यवसायीहरु सधैँ चुकेका छन् ।
चितवनभित्र यस्ता धेरै गन्तव्य छन् जसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्ने क्षमता राख्छन् । नेपालका धेरैजसो पर्यटकीय गन्तव्यको प्रचार अहिले पनि विदेश पुगेपछिमात्रै हुने गरेको छ । गन्तव्य विस्तारको यो उल्टो फर्मुला हो । किनकि, आन्तरिक गन्तव्य विस्तार गर्न सर्वप्रथम नेपालीले आफ्नो मुलुक घुम्नुपर्छ । एकसिङ्गे गैँडाबारे हाम्रा अगाडि विदेशीले बयान गरेको सुहाउँदैन । त्यसैले, नेपालीले सर्वप्रथम नेपाल घुमौँ ।
नेपालबाट तीर्थयात्राका लागि हजारौँ मानिस भारतका तीर्थस्थलसम्म पुग्ने गर्छन् । नेपालभित्र पनि यस्ता तीर्थस्थल छन् जसले लामो इतिहास बोकेका छन् । नेपालकै प्रमुख धार्मिक क्षेत्रमध्ये देवघाटधाम पनि एक मह¤वपूर्ण पवित्र तीर्थस्थल हो । चितवन, तनहुँ र नवलपुर तीनवटा जिल्लामा करिब ५ हजार ४३४ हेक्टर क्षेत्रमा फैलिएको देवघाटलाई हरिहर क्षेत्र, शालग्राम क्षेत्र, चक्रतीर्थ, बराह क्षेत्र, कदम्बतीर्थ, गजेन्द्रतीर्थ, तपोवन, प्रयाग, सिद्धाश्रम, यज्ञभूमि आदि नामले पनि चिनिन्छ । भरतपुरदेखि ६ किलोमिटर उत्तरतर्फ देवघाटधाम समुद्री सतहबाट २०० मिटरदेखि ५७५ मिटरसम्मको उचाइमा छ । देवघाटलाई शान्ति र आध्यात्मिक उन्नयनको उत्कृष्ट क्षेत्र मानिन्छ । चितवन र तनहुँ जिल्लातर्फ गलेश्वर आश्रम, चक्रेश्वर शिला, सीता गुफा, वशिष्ठ गुफा, हरिहर मन्दिर, महेश सन्न्यास आश्रम, राम मन्दिर, यज्ञशाला, कठस्तूप, सिद्घि गणेश, गोपीधाम, सूर्यकुण्ड, पशुपतिनाथजस्ता धार्मिकस्थलहरु छन् । यी तीर्थस्थलको महत्त्वलाई बढवा दिने गरी प्रचारप्रसार गरौँ । वास्तवमा भगवान् बराबर हुन् भने तीर्थस्थलको महत्त्व पनि बराबर हुन्छ । नेपालभित्रका सबै गन्तव्यमा आन्तरिक पर्यटक घुम्न सुरू गरौँ, यी तीर्थस्थललाई हिन्दु धर्मावलम्बीका आकर्षणका केन्द्र बनाऔँ । गन्तव्य विस्तारको यो एक वैज्ञानिक उपाय हो । यसबाट तीर्थस्थलआसपास होटेल तथा अन्य पूर्वाधारको विकास हुन थाल्छ । अन्ततः यसले मुलुकलाई एक गन्तव्यका रुपमा रुपान्तरण गर्न सहयोग पु¥याउँछ ।
अहिले वार्षिक ६० हजार नेपाली बाह्य टुरिजमका लागि बाहिरिने गर्छन् । यसको यकिन तथ्याङ्क नभएका कारण यो संख्या अझ बढ्न सक्छ । यी नेपालीको मुख्य गन्तव्य थाइल्यान्ड, मलेसिया, सिंगापुर, हङ्कङ तथा भारतका विभिन्न सहर हुने गरेका छन् । मान्छेको खर्च गर्ने क्षमता बढेपछि घुमफिरका लागि बाहिरिनु स्वाभाविक हो । मानिसको यो रूचिलाई नकारात्मकरुपमा लिन मिलेन । तर, उनीहरुको भ्रमणको योजनालाई नेपालभित्रका नयाँ गन्तव्यतर्फ डाइभर्ट भने गर्न सकिन्छ । अहिले नेपालको मध्य तथा सुदूरपश्चिमका आकर्षक गन्तव्यसम्म पुग्दा लाग्ने समय र खर्चको हिसाब गर्दा विदेश गएर आउन सस्तो पर्न थालिसकेको छ । यसबाट मुलुकको गन्तव्य प्रवद्र्धनमा कति कमजोर रहेछौँ भन्ने प्रस्ट पार्छ । त्यसकारण, बिदा मिलाएर प्याकेजमा नेपालबाट विदेशतर्फ घुम्न निस्कने नेपालीलाई यहाँका नयाँ गन्तव्यतर्फ आकर्षित गर्नुपर्छ ।
हवाई सञ्जालको विस्तार पर्यटन विकासको अनिवार्य सर्त हो । अर्कातर्फ खासखास गन्तव्यसम्म पर्यटक पुग्न र त्यसले प्रचारप्रसार पाउन त्यहाँसम्म पुग्ने बाटोघाटोको आवश्यकता पर्छ । नेपालका प्रत्येक गाउँ पर्यटकीय दृष्टिकोणबाट हेर्न लायक छन् । तर, यी गाउँसम्म पुगेका पर्यटकलाई आवश्यक पर्ने पूर्वाधार पुगेको छ या छैन भन्ने सन्दर्भले पर्यटनको दिगो विकासमा महत्त्व राख्छ । वाइल्ड लाइफ टुरिजम र सिमसारका लागि चितवनको अलग्गै महत्त्व छ ।
sriramgaire@gmail.com
Discussion about this post