‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ यो महान् वाणी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको हो । आज हामीले राष्ट्रिय एकता दिवस अर्थात् २९९औँ पृथ्वी जयन्ती मनाउँदै गर्दा पृथ्वीनारायण शाहको उपरोक्त दिव्यवाणी स्मरण गर्नुपर्ने बेला आएको छ । विसं १७७९ पुस २७ गते जन्मिएका राष्ट्रपिता पृथ्वीनारायण शाह आजपर्यन्त हरेक नेपालीको मन–मस्तिष्कमा बस्न सफल भएका छन् । शाहले विसं १७९९ पछि एकीकरण अभियान सुरू गरेर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार गरेको गर्विलो इतिहास साक्षी छ । एउटा कालजयी इतिहास बोकेका राष्ट्रनिर्माताको सम्मान गर्नु भनेको वीर गोर्खालीको योगदानको कदर गर्नु हो । विश्वजगत्मा वीर गोर्खालीको योगदानकै कारण आजपर्यन्त युरोप र अमेरिकाजस्ता अतिविकसित देशहरुले गोर्खालीको सान र स्वाभिमानलाई उँचो मानेका छन् । यतिमात्रै होइन इतिहासका पाना पल्टाएर हेर्ने हो भने पृथ्वीनारायण शाहजत्तिकै दूरदर्शिता बोकेका व्यक्ति पाउन मुस्किल पर्छ । आजको विशेष दिनमा पृथ्वीनारायणको स्मरण गर्नु र उनको पौरखको गाथा गाउनु नेपाली हुनुको सान हो, मान हो अनि स्वाभिमान पनि हो ।
विडम्बना भनौँ या दुर्भाग्य ! ०६२÷६३ को जनआन्दोलनले राजतन्त्र फालेको आडम्बरमा सरकारले पृथ्वी जयन्ती नै नमनाउने दुस्साहसपूर्ण निर्णय ग¥यो, जुन लज्जास्पद र दुःखद छ । राष्ट्रिय एकता दिवस राजावादीको मात्रै दिवस थिएन र होइन पनि । किनभने, नेपाल र नेपाली हुनुको कालजयी इतिहास यही राजाले सिर्जना गरेका हुन् । पृथ्वी जयन्ती मनाउँदा राजावादीकै अवशेष देखेर सरकार यतिसम्म कृतघ्न हुन पुग्यो कि सदिऔँदेखि मनाइँदै आएको शाहको जन्मदिवस नै खारेज गर्ने निर्मम निर्णय ग¥यो । आफ्ना पुर्खाको गरिमालाई कुनै कुतर्कले अवज्ञा गर्नु भनेको हत्केलाले सूर्यलाई छेक्नुजस्तै मूर्खता हो, जुन मूर्खता अविवेकी सरकारले ग¥यो, गर्दै आयो । आजको दिनमा पृथ्वीनारायणप्रति कसैको पनि उपेक्षा वा अनादर रहनु भनेको सन्तानले आफ्नै वैधताप्रति आशङ्का गर्नुबराबर हो । नयाँ युगको आरम्भका नाममा वा नयाँ नेपालको रूमानी रटान लगाउने क्रममा पृथ्वीनारायणमाथि जेजसरी प्रहार हुन पुग्यो त्यो सर्वदा खेदजनक छ । नयाँ नेपालका नाममा ऐतिहासिक सम्पदा र सालिकहरु ढाल्ने कलुषित मन भएका नयाँ जोगीहरुले इतिहासको उपेक्षा गर्ने काम गरे । स्मरणीय के छ भने इतिहास नमान्नेहरुले कुनै इतिहास रच्न पनि सक्दैनन् । कसैको सालिक भत्काएर कदापि इतिहास मेट्न सकिँदैन, कसैलाई बहिष्कार गर्दैमा पनि उसको योगदान बिर्सन सकिँदैन ।
आज राष्ट्रिय एकता दिवस मनाउँदै गर्दा हरेक नेपालीको शिर श्रद्धाले झुकिरहेको छ । पृथ्वीनारायण शाहको नाम अगाडि आउनासाथ गर्वले छाती फुलेर आउँछ । नेपाल एकीकरणको साढे दुई शताब्दीपश्चात् पनि पहिलो राष्ट्रनिर्माताका रुपमा स्मरण गरिने पात्र उनीमात्रै हुन् । पृथ्वीनारायणप्रति जतिसुकै कृतघ्न बने पनि विश्व समुदायमा गर्विलो परिचय दिलाउने श्रेय पनि उनैलाई जान्छ । अंग्रेज साम्राज्यबाट नेपाललाई जोगाउन एकीकृत राज्यको परिकल्पना गरी बाइसे, चौबिसे राज्यलाई एकता गरी सिङ्गो राज्य निर्माण उनैले गरेका हुन् । विभिन्न राज्यमा छरिएको भूगोललाई युद्ध तथा कूटनीतिक कौशलताबाट एकीकरण गरेका उनको योगदान इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । इतिहास लेख्ने विद्वान्हरुले पृथ्वीनारायणको ‘दिव्योपदेश’मा पनि उनलाई न्यायप्रेमी राजाका रुपमा परिभाषित गरेका छन् । उनले घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् भनेर सुशासनको सन्देश दिएका छन् । नेपालका सबै क्षेत्रमा भएका विशिष्ट परम्परा र संस्कृति अहिलेका छोटे राजाहरुले निर्माण गरेका पक्कै होइनन् । अहिलेको विषम परिस्थितिमा इतिहास मेटाउन उद्यत हुनेहरुले राष्ट्रिय एकता र निर्माणको पाठ पृथ्वीनारायणबाट सिक्नु आवश्यक छ । राजनीतिक परिवर्तनपश्चात् नेपाल र नेपालीको नियति फेरिन नसक्नुमा तिनै नेता जिम्मेवार छन्, जसले अखण्ड नेपाल निर्माण गर्ने राष्ट्रनिर्माताको उपेक्षा वा अनादर गरे । वीर गोर्खालीको इतिहास जीवन्त राख्न हरेक नेपालीले शाहप्रति सम्मान दर्शाउनु वाञ्छनीय छ ।
Discussion about this post