किशोर खनाल
भरतपुर । अभिभावक तथा शिक्षाविद्हरुले यस वर्षको एसएलसीमा आधाभन्दा बढी विद्यार्थी फेल हुनुको प्रमुख कारण विद्यालयमा पढाइ नहुनुलाई मानेका छन् । सामुदायिक विद्यालयको नतिजा खुम्चिनुको अर्को कारण शिक्षकको उत्तरदायित्व कम हुनुलाई पनि लिइएको छ ।
चितवनको कुल १९४ सरकारी विद्यालयले एसएलसीमा सहभागिता जनाएको र १५१ विद्यालयको नतिजा ५० प्रतिशतभन्दा कम आएपछि शिक्षाविद्हरुले जिल्ला शिक्षा कार्यालयलाई योजनाबद्ध ढंगले अघि बढ्न सुझाव दिएका छन् । नतिजा खस्किनुमा शिक्षक बढी दोषी भएका अभिभावक तथा शिक्षाविद्हरुको आरोप छ ।
‘मूल कारण पढाइ नहुनु नै हो, अर्को, शिक्षकले झारा टार्ने शैली अपनाउनु हो’, एक अभिभावकले भने, ‘शिक्षक विद्यालय बन्द नै गरेर राजनीतिक दलको झन्डा बोक्न जान्छन्, अनि कहाँबाट नतिजा राम्रो आउँछ ?’
राजनीतिक दलका नेताहरुले शिक्षक नियुक्ति र सरूवामा हुने चलखेलले पनि पढाइ बिथोलिएको छ । निजी शिक्षक, अस्थायी शिक्षक र राहत शिक्षकहरुले आफ्नो मागमा गरेका धर्ना र बन्दका कार्यक्रमले पनि पठनपाठनलाई असर गरेको अभिभावकहरु बताउँछन् ।
तर यस कुरालाई शिक्षकहरु स्वीकार गर्दैनन् । विद्यालय बन्द नै गरेर हड्तालमा नउत्रेको शिक्षकहरु दावी गर्छन् । विद्यालयलाई असर पर्नेगरी शिक्षकहरु आन्दोलनमा नहिँडेको मोहन मावि गोन्द्राङका सहायक प्राचार्य कमलराज खनालले बताउनुभयो । उहाँले विद्यार्थीको स्तर कमजोर हुनु, घरायसी वातावरण नमिल्नु, एउटै कक्षामा विद्यार्थी संख्या धेरै हुनु, गरिब अभिभावकले कोचिङ कक्षाहरुमा विद्यार्थी हाल्न सक्ने स्थिति नहुनुले पनि नतिजा राम्रो आउन नसकेको बताउनुहुन्छ ।
कतिपय विद्यालयमा विषयगत शिक्षक हुँदैनन्, सरकारले दरबन्दी पूरा दिएको छैन, अन्य शिक्षकले तानतुन गरेर पनि कक्षा लिनुपर्छ यस कारणले पनि सोचेजस्तो नतिजा आउन नसकेको कन्या उच्च मावि नारायणगढका शिक्षक खगराज ओझाले बताउनुभयो ।
वीरेन्द्र क्याम्पसका पूर्वप्राचार्य तथा शिक्षाविद् एलबी क्षेत्रीले सरकारी विद्यालयको नतिजा कमजोर आउनुमा शिक्षकहरुको उत्तरदायित्व नहुनुलाई मान्नुहुन्छ । ‘एउटा शिक्षक निजी विद्यालयमा अध्यापन गर्ने बेलामा जिम्मेवारी बन्छ, त्यही शिक्षक सरकारी विद्यालय गयो भने, ऊ अल्छी हुन्छ र जिम्मेवारी कम लिन्छ’, क्षेत्रीले भन्नुभयो, ‘सरकारी विद्यालयको शिक्षक सक्षम छन् तर लापरवाहीपन बढी छ ।’
सरकारी विद्यालयका शिक्षकहरुले आफूमा उत्तरदायित्व लिएमा नतिजा राम्रो आउने क्षेत्रीको भनाइ छ । सरकारी विद्यालयका शिक्षक पनि निजी विद्यालयमा पढाउने जतिक्कै खटिए सरकारी विद्यालयको नजिता राम्रो आउने सुझाव उहाँले दिनुभयो ।
यस वर्षको एलएलसीमा ४३.९२ प्रतिशतमात्र उत्तीर्ण भए । शिक्षामा ठूलो लगानी भए पनि गुणस्तर नआउनुमा नवयुग ईं स्कुलका कोर्डिनेटर तथा प्याव्सनका जिल्ला सदस्य राजबहादुर भुजेलले अभिभावकको पनि जिम्मेवार नहुनुलाई देख्नुहुन्छ । एउटा अभिभावक बोर्डिङमा लगानी गरेर छोराछोरी पढाउँदा जिम्मेवार बन्छ, तर त्यही अभिभावक सरकारी विद्यालयमा छोराछोरी हालेपछि मतलब कम राख्छ, सरकारी विद्यालय यस्तै हो भनेर चित्त बुझाउँछन् ।
सामुदायिक विद्यालयको नतिजा कम आउनुमा सबैपक्ष उत्तिक्कै जिम्मेवार भएकाले सबै पक्ष सुधार्न जरूरी छ ।
Discussion about this post