जुटपानी । अढाई वर्षअघि श्रीमान् विष्णुको निधन भएपछि सीता विकको जीवन एकाएक अन्धकारमय भएको थियो । पाँच छोराछोरी हुर्काउने बढाउने जिम्मेवारी कसरी पूरा गर्ने ठूलो चिन्ता यही थियो उनलाई ।
जुटपानी गाविस वडा नं. ४ सगुनटोल घर भएकी सीता श्रीमान् र छोराछोरीसहित काठमाडौं उपत्यकाको ललितपुर लगनखेलमा बस्दै आएकी थिइन् । श्रीमान् बौद्ध गुम्बामा प्रयोग हुने दीयो बनाउँथे । काठमाडौंको बस्दा गुजरा चलाउने माध्यम यही थियो ।
विसं २०६८ सालको माघ १३ गते सीताका श्रीमान् विष्णुको अचानक निधन भयो । श्रीमान्को निधनपछि उनको मनले काठमाडौं बस्न मानेन । पाँच छोरा छोरी बोकेर उनी चितवन जुटपानीकै घरमा आइपुगिन् ।
चितवन आएपछि छोराछोरी र आफू कसरी धानिने हो भन्ने पिरलो थपियो । जुटपानीमा बस्ने सामान्यखालको घरमात्रै थियो । अरु सम्पत्ति थिएन । परिवार कसरी पाल्ने भन्ने चिन्ताले साताउन सुरू ग¥यो । लामो समय सहरी क्षेत्रमा बसेकाले गाउँमा निमेक मजदुरी गर्न पनि उनी जान सकेकी थिइनन् ।
श्रीमान्ले गर्दै आएको पेसा सुरू गर्ने बारेमा उनले सोच विचार नै गरेकी थिइनन् । ‘पैसाको खाँचो दिनप्रति दिन बढ्दै गएको थियो । तर आम्दानीको स्रोत केही थिएन । पीडामाथि पीडा थपिएर त्यसै दिक्क भएकी थिएँ’, सीताले भनिन् ।
गाउँका दिदी–बिहिनीहरु भेट हुँदा उनले आफ्नो मर्का उनीहरुलाई सुनाउन थालिन् । गाउँमा महिलाहरुको समूह थियो । उनलाई पनि महिलाहरुले समूहमा बस्न आग्रह गरे । चितवन सक्रिय समूहले ‘सक्षम’ परियोजना सञ्चालन गरेको थियो । त्यसैका लागि महिलाको समूह निर्माण भएको थियो ।
समूहमा उनी सामेल भइन् । समूहमा छलफल गर्दा अरु दिदी–बहिनीहरुले श्रीमान्ले गर्दै आएको दीयो बनाउने पेसा सुरू गर्न उनलाई सुझाव दिए । दीयो बनाउने सीप उनीसँग थियो । तर दीयोका लागि चाहिँने तामाको पाता किन्ने पैसा उनीसँग थिएन ।
समूहले उनलाई नगद सहयोग पनि गर्ने भयो । विसं २०६९ सालको बैशाखमा उनको हातमा १२ हजार रुपैयाँ प¥यो । तामा किन्ने र तयारी दीयो बेच्ने ठाउँ उनलाई पहिल्यैदेखि नै थाहा थियो । पैसा पाएपछि तामा लिएर घर आइन् अनि काम सुरू गरिन् ।
बौद्ध गुम्बामा बाल्ने दीयो बनाउन त्यति गाह्रो छैन उनका लागि । घरभित्रै कोठामा बसेर सामान तयार गर्छिन उनी । बिस्तारैबिस्तारै उनको व्यापारको आकार बढ्दै गयो । उनी चिन्तामुक्त हुन थालिन् ।
‘अहिले महिनाको २० हजार रुपैयाँसम्म आम्दानी हुन थालेको छ’, सीताले भनिन् । अहिले उनलाई घर व्यवहार चलाउन निकै हलुङ्गो भएको छ । छोराछोरी पढ्न गएका छन् । सानो दीयोले उनलाई ठूलो खुसी दिएको छ अहिले । ‘मलाई आँट दिने समूह नै हो । समूह नभएको भए म यो अवस्थामा आउने सम्भावना थिएन’ सीताले भनिन् ।
Discussion about this post