रत्ननगर । साक्षरता कक्षाका सहभागीहरुले कक्षाको समयावधि थप गर्न माग गरेका छन् । रत्ननगर नगरपालिकाअन्तर्गत वडा नम्बर १२ मा सञ्चालित साक्षरता कक्षामा सहभागीहरुले समयावधि बढाउन माग गरेका हुन् । उनीहरुले साक्षरता कक्षाको अवलोकनको लागि पुगेको सरोकावालाहरुसँग समय कम भएकोले अध्ययन कार्य पूरा हुन नसकेको भन्दै समय बढाउन माग गरिएको हो ।
स्वास्थ्य तथा वातावरण विकास समाज नेपालले संयोजन गरेको कक्षाको सोमबार रत्ननगर नगरपालिकाका संस्थापक नगरप्रमुख नारायण वन, निराक्षर उन्मूलन समिति संयोजक पूर्ण पुरी, नगरपालिकाका सामुदायिक परिचालिका शारदा वाग्ले, संस्थाका अध्यक्ष ज्ञानेन्द्र रेग्मी सहभागी टोलीले कक्षाको अवलोकन गरेको हो ।
अवलोकन टोलिमा सहभागी संस्थापक नगरप्रमुख नारायण वनले रत्ननगर १२ मा सञ्चालित साक्षरता कक्षा प्रभावकारी रुपले अगाडि बढेको पाइएको जानकारी दिनुभयो । उहाँले सहभागीहरुले कक्षाको अवधि बढाउन आग्रह गरेकाले शिक्षा कार्यालय त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । वडा नम्बर १२ मा १४ वटा कक्षामा ३०० जना सहभागी रहेको कार्यक्रम संयोजक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।
चितवनमा विगत तीन महिनादेखि साक्षरता कक्षा सञ्चालन गरिएको छ । जिल्लाका ९५ प्रतिशत निरक्षरलाई साक्षर बनाएर जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी जिल्ला शिक्षा कार्यालयले गरेको छ । चितवनमा ४३ हजार ७ सय जना साक्षरता कक्षामा सहभागी छन् । जिल्ला शिक्षा कार्यालयले भदौको पहिलो हप्ता जिल्लालाई साक्षर घोषणा गर्ने जनाएको छ ।
Discussion about this post