अहिलेको अवस्थामा मानिसहरू निकै निराश र दुःखी भएका छन् । मानिसहरूको जागिर गुमेको अवस्था छ । चाहे स–साना व्यवसाय होऊन् या त ठूला व्यवसाय आखिर सबैतिर प्रभाव परेकै छ । यो समयमा मानिसले स्वयम्लाई कसरी उत्प्रेरित गर्ने, यो निराशाबाट कसरी बाहिर निस्कने ! मानिसले के गर्नुपर्छ ?
एकातिर मानिसले सबैतिरका वितृष्णालाई नियाल्न सक्छन् । अर्कातिर के हेर्न सकिन्छ भने यो खराब परिस्थितिमा रहेर पनि आफ्ना लागि केचाहिँ राम्रो गर्न सकिन्छ ! यस दृष्टिकोणले हेर्नु पनि अत्यावश्यक देखिन्छ । किनभने, कतिपय अवस्थामा हाम्रो ध्यान राम्रो कुरातिर जाँदैन । खराब कुरातर्फ हाम्रो ध्यान मोडिन्छ अनि त्यसैलाई नै हामी ठूलो समस्याका रूपमा हेर्न थाल्छौँ ।
आमाबुवा बिहान आफू उठेपछि आफ्ना बालबच्चालाई पनि यसो हेर्नुहुन्छ । यदि उनीहरू केही ढिलो उठे भने तिनलाई गालीगलौज गर्न थाल्नुहुन्छ । आफ्ना बालबच्चाप्रति कति माया छ भन्ने कुरालाई भुल्नुहुन्छ । कथम्कदाचित् उनीहरू हराए भने उनीहरूलाई कति दुःख लाग्छ भन्ने कुरालाई आमाबुवाले बिर्सनुहुन्छ । उनीहरूलाई भन्न थाल्नुहुन्छ, “तिमी ढिलो हुनेछौ । यसो गर, त्यसो गर । तिमी काम नलाग्ने भयौ, अबदेखि तिमी अबेरसम्म सुत्ने होइन ।” यी सबै कुराहरू हुन थाल्छन् । तथापि, यदि यस्तो व्यवहार भइरहे, भई नै रहे भने यी सबै कुरामा बानी पर्न थाल्छ । यो कोरोना रोगको समयमा पनि हामी खराब कुरातिरै ध्यान दिइरहेका छौँ । राम्रो कुरातिर ध्यान दिइरहेका छैनौँ । साँचो कुरा के हो भने तपाईं जीवित हुनुहुन्छ । तपाईंभित्र श्वास आइरहेको छ अनि गइरहेको छ । यसकारण तपाईं केही गर्न सक्नुहुन्छ । तपाईंमा हिम्मत छ । तपाईंभित्र त हिम्मतको समुन्द्र नै छ । त्यसलाई अघि सार्नुहोस् । यो अत्यावश्यक कुरा हो । यो रोगको अन्त्य कसरी हुन्छ भन्ने विषय पनि होइन । यो रोग निवारण गर्ने भ्याक्सिन (खोप) बनिरहेको छ र यसमा समय लाग्न सक्छ । यदि भ्याक्सिन बन्यो भने पनि सबैलाई भ्याक्सिन दिनु यो त्यति सजिलो काम होइन । सबैभन्दा ठूलो कुरा के हो भने तपाईं जोसुकै हुनुहोस्, तपाईं जहाँसुकै हुनुहोस्– हिम्मतका साथ आफूभित्रको शक्तिका बलले सामना गर्नुहोस् । हरेक मानिसभित्र, आफूभित्र एउटा शक्ति छ । एउटा साहस छ । अनि, त्यो साहसलाई बाहिर ल्याउनुपर्छ ।
यदि बालबालिकाको कुरा गर्ने हो भने पनि करिब आठ–नौ महिनादेखि उनीहरू घरमा कैदीजस्तै भएर बसे । अनलाइन कक्षा सञ्चालन भइरहेका छन् । पहिला तिनै बालबालिकाले मोबाइल चलाउन पाउँदैन थिए तर अहिले तिनैले मोबाइल चलाउन पाइरहेका छन् । मोबाइलमा पनि केही समय त बितिहाल्छ । तर, बालबालिकामा अहिले उदासीनता निकै बढेको छ । चारवटा पर्खालभित्र बन्दी भएका छन् । कतै आवतजावत छैन । तथापि, बालबालिकाले आफूले आफूलाई उत्प्रेरित तुल्याउन सक्छन् । यो बालबालिकामा हुने एउटा शक्ति हो । आमाबुवाको दायित्व के हो भने त्यो शक्ति तल नदबोस् । उनीहरूलाई उदासीनताले नसताओस् । बालबच्चाले आमाबुवालाई दुःखी भइरहेको देखेपछि उनीहरू पनि दुःखी हुन थाल्छन् । यो समयमा घरभित्रको वातावरणलाई आनन्दमय बनाउनका लागि हामी के गर्न सक्छौँ ? हामी घरमा बसेर पनि केही नयाँ कामको थालनी गर्न सक्छौँ । केही राम्रो गर्न सक्छौँ अनि बालबच्चालाई पनि त्यसमा सहभागी तुल्याऊँ ।
बालबालिका जब कतै जान सक्दैनन् तब पनि उनीहरूले आफ्नो मनलाई भुलाउन जान्दछन् । खेल्छन् । यदि उनीहरूले केही खेल्ने कुरा पाएनन् भने पनि तिनले आफ्नै हात आफ्नो मुखमा हाल्छन् अनि आफ्नै हातसँग खेल्न थाल्छन् । आफूसँग खेल्न थाल्छन् ।
हामीभित्र एउटा शक्ति छ । हामीले खराबीलाई ध्यान दिनुपर्ने आवश्यकता छैन । त्यसबाट बच्नुचाहिँ आवश्यक हुन्छ । त्यसलाई परीक्षण गर्नु आवश्यक छ भन्ने पनि होइन । त्यसबाट जोगिने कुरातर्फ लाग्नुहोस् अनि अघि बढ्नुहोस् । अघि बढिरहनुहोस् किनभने तपाईंको लक्ष्य– रोकिनु होइन । अघि बढ्नु हो । यो सबैभन्दा ठूलो कुरा हो । आफ्नो जीवनमा त्यो साँचो अनि वास्तविक शक्तिलाई चिन्नुहोस्, पहिचान गर्नुहोस् अनि यस जीवनको आनन्द लिनुहोस् ।
मानिसको जीवनमा यति धेरै समस्याहरू छन् । फलतः उनीहरूको ध्यान तिनै समस्याहरूमा नै जान्छ । अनि, समस्याहरूतिर ध्यान जान थालेपछि आफू धेरै समस्या बढ्छन् । हाम्रो जीवनमा जुन राम्रा–राम्रा चीजहरू छन्, सबै कुरा भएर पनि तिनलाई हामी कुनै महŒव नै दिँदैनौँ । ती कुराहरूमा हाम्रो ध्यान कहिल्यै जाँदैन । परिवारमा आमा हुनुहुन्छ, बुबा हुनुहुन्छ । यो त खुशीको कुरा हो किनभने हाम्रा बुवा हुनुहुन्छ, आमा हनुहुन्छ तर यस कुरामा ध्यान नै जाँदैन । उहाँहरू के भनिरहनुभएको छ भन्नेमा मात्रै ध्यान जान्छ । यदि उहाँहरूले तपाईंलाई केही मन नपर्ने कुरा भनिरहनुभएको भए एउटा कानले सुन्नुहोस् र अर्को कानले उडाइदिनुहोस् । यदि तपाईं जीवनमा मानिसहरूभित्र भएको खराबी र अवगुणलाई हेर्नुको साटो राम्रोपनालाई खोज्न थाल्नुहुन्छ या हेर्न कोसिस गर्नुहुन्छ भने तपाईंलाई राम्रोपना नै प्राप्त हुनेछ । यो कुरामा ध्यान दिनुहोस्– जोसँग तपाईं प्रेम गर्नुहुन्छ, उसँग कस्तो व्यवहार गर्नुहुन्छ ? प्रेमपूर्वक नै व्यवहार गर्नुहोस् ! आमा–बुवाहरूले छोराछोरीसँग अवश्य प्रेम गर्नुहुन्छ । तर, उहाँहरूले कहिल्यै यसो भन्नुहुन्न– म तिमीलाई माया गर्छु । जसलाई तपाईं माया गर्नुहुन्छ तपाईं उसलाई माया गर्नुहुन्छ भनेर पनि भन्नुहोस् ।
तपाईं आफ्नो जीवनमा जे गर्नुहुन्छ यो तपाईंमाथि निर्भर रहन्छ । तपाईं मुखले के भन्नुहुन्छ, यो तपाईंमाथि निर्भर रहन्छ । तपाईं तीतो पनि बोल्न सक्नुहुन्छ, मीठो पनि बोल्न सक्नुहुन्छ । सबैभन्दा महŒवपूर्ण कुरा त के हो भने तपाईं आफ्नो जीवनमा के चाहनुहुन्छ ? जीवन तपाईंकै हो । श्वास आउनु जानु यो तपाईंको नियन्त्रणमा छैन । तपाईं कहिले जन्मिनुभयो, यो तपाईंमा निर्भर थिएन । तपाईं कहिले जानुहुन्छ, यो पनि तपाईंमा निर्भर हुँदैन । तर, तपाईंलाई प्राप्त भएको यो जीवनमा तपाईं के गर्न सक्नुहुन्छ– यो तपाईंमा नै निर्भर रहन्छ । आफूतिर ध्यान दिनुहोस् । आफ्नो जीवनतर्फ ध्यान दिनुहोस् । राम्रो गर्नुहोस् । त्यसबाट तपाईंको जीवनमा अवश्य पनि मिठास नै प्राप्त हुनेछ ।
(यो लेख प्रेम रावतको सन्देशबाट साभार गरी अनुवाद गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि agps@mos.com.np लाई प्रयोग गर्न सक्नुहुनेछ ।)
Discussion about this post