कावासोती । नवलपरासी सुनवल–२ स्थित सामुदायिक वन समूहमा बेलको घारी देखेपछि त्यसबाट जुस उत्पादन गर्ने पेसातर्फ आकर्षित हुनुभएकी सीता तिमल्सेनाले आफूले थालेको पेसाबाट एक मौसममा १२ देखि १५ हजार बोतल जुस उत्पादन गर्नुका साथै स्थानीय १० महिलालाई रोजागारसमेत दिनुभएको छ ।
जिल्ला लघु उद्यम समूहबाट जुस उत्पादन गर्ने विधि सिकेकी सीताले छ वर्षअघि काम थाल्नुभएको थियो । त्यहाँका वनमा रहेको बेल ल्याएर जुस उत्पादन गर्ने विधि सोमबार सामुदायिक वनको उत्पादनमा परिणत भएको छ ।
सामुदायिक वन उपभोक्ता समूहकी कोषाध्यक्ष रहनुभएकी तिमल्सेना जुस बिक्रीका लागि काठमाडौँ, पोखरा, नारायणगढ, बुटवलसम्मका व्यापारीको दैलोमा पुग्ने गर्नुहुन्छ भन्ने बित्तिकै घर छाडेर व्यापारीको घरदैलो पुग्न नसक्दा भने उहाँ हैरान हुनुहुन्छ ।
सीताको गुनासो थियो, ‘काठमाडौँका व्यापारीलाई गाडी नम्बर दिएर कलङ्कीमा सामान लिन आउनुहोस्भन्दा पनि मान्दैनन्, त्यसैले सामान व्यापारीको पसलसम्म छोड्नु पर्ने बाध्यता छ । दुःख गरी उत्पादन गरेको जुस ज्यूज्यू गरेर व्यापारीलाई दिनुपर्छ ।’
सीप भए पनि बजारसम्म जुस पु¥याउनु निकै कठिन भएको उहाँको भनाइ थियो । उहाँ बेल टिपेर ल्याउने व्यक्तिलाई एक केजी ल्याएबापत रु १० देखि रु १५ सम्म हेरेर पारिश्रमिक दिने गर्नुहुन्छ ।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण क्षेत्रीय कार्यालय भैरहवाले अनुज्ञापत्र दिएपछि उहाँको जुस उत्पादन बजारमा ल्याउन सहज भएको हो । विगतको वर्षभन्दा अहिले जुसको खपत धेरै हुने गरेको छ ।
माल छाडेका ठाउँबाट फेरि नयाँ अर्डर आउँछ र अहिले जुस बिक्रीमा सहज भएसँगै जुसको बजार पनि विस्तार हुँदै गएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) ले ‘एक सामुदायिक वन एक उत्पादन’ को नारा ल्याएपछि अन्य नौ कामदारलाई समावेश गरिएको छ । सहयोगीहरू गङ्गा घिमिरे र जीवन पौडेलले उत्पादनदेखि बिक्रीसम्म सहयोग पु¥याउँछन् ।
वैशाख र जेठ बेलको जुस उत्पादन गर्ने मुख्य याम हो । यो बेला जङ्गलबाट बेल खोज्ने र जुस उत्पादन गर्ने कामको चटारो छ । उनीहरूलाई दैनिक रु २५० सहित खाजा खर्चका रुपमा रु ३० दिइन्छ ।
सातसय ५० मिलिलिटरको सिसीमा जुस प्याक गरेपछि बजारमा पठाइन्छ । जुस उत्पादनका लागि तीनवटा टोलीको प्रबन्ध गरिएका छन् । जसअनुसार बेलको गेडा झिक्ने र जुसका लागि तयार गर्ने काम पहिलो टोलीले गर्दछन् भने जुसको गुणस्तर कायम गरी सिलबन्दी गर्ने जिम्मा दोस्रो टोलीलाई दिइएका छन् । तेस्रो टोलीले बजारको प्रबन्ध मिलाउने काम गर्दछ । उत्पादित जुस प्रतिबोतल रु १०० मूल्य निर्धारण गरिएको छ ।
उत्पादनको हिसाबले एक वर्षमा रु १५ लाखसम्मको बेलको जुस बिक्री हुने सीता बताउनुहुन्छ । विशासय सामुदायिक वन उपभोक्ता समूह सहयोगी भएकाले विशासय बेल तथा फलफूल प्रशोधन उद्योगमार्फत उहाँले उत्पादनलाई बजारमा ल्याउनु भएको हो ।
त्यहाँका जर्गाहा, मछरमारा र बेलहारी मुख्य बेलको पकेट क्षेत्र हो । त्यसबाहेक जुसका लागि दुई बिघा कबुलियती वन बनाएर बेल लगाउने तयारीमा सीता जुट्नुभएको छ । त्यसमा सामुदायिक वनले जग्गा व्यवस्थापनमा सहयोग गर्ने सचिव दिलीप चापागाईंले जानकारी दिनुभयो ।
बेलको सर्वतले शरीरमा शीतलता र ताजगी प्रदान गर्ने, पेटको कब्जियत, अपच, अरुचि, अमलपित्त, ग्यास्ट्रिक रोगबाट मुक्त हुने, मधुमेह, रक्तचापका लागि लाभदायक हुनुका साथै अनुहारमा चायाँसमेत हटाउने विश्वास रहेको सीता तिमल्सेना बताउनु हुन्छ । रासस
Discussion about this post