ध्रुवराज अधिकारी
पछिल्लो समयमा नेपालका अधिकांश नेताहरु सानो रोगको उपचार गराउन पनि विदेश जाने गरेका छन् । धेरै थरी रोगको उपचार नेपालमा नै सम्भव हुने भए पनि नेपालका नेताहरु विदेशमा नै उपचार गराउन लालायित हुने गरेको देखिएको छ । नेपालका अधिकांश दलका नेताहरुमा सामान्यभन्दा सामान्य रोगको समेत विदेशी भूमिमा उपचार गराउने होड नै चलिसकेको छ । नेपाली नेताहरु राजनीतिक कुरामा विदेशीको भर पर्ने गरेको चलन त पहिलादेखिको नै हो, तर सामान्य उपचारमा पनि अब नेताहरु विदेशमुखी हुन थालिसकेका छन् । नेपालमा हुने उपचारमा विश्वास नभएर हो या राष्ट्रप्रतिको हेयको भावनाले हो, आजकल सानोभन्दा सानो रोगको उपचारका लागि पनि नेताहरु विदेशमाथि नै भर पर्न थालेका छन् । नेपालका अधिकांश नेताहरु भारतमा गई उपचार गर्ने गरेकोमा पछिल्लो समयमा भारतबाहेकका सिंगापुर, हङ्कङ जापान, अमेरिकालगायतका देशमा जाने प्रचलन पनि बढ्दै गइरहेको छ ।
हुन त, कतिपय नेताहरु उपचारको बहानामा राजनीतिक भेटघाटका लागि पनि विदेशी भूमि पुग्ने गरेका तथ्यहरु सार्वजनिक हुँदै आइरहेका छन्, तैपनि ती सबै नेताहरु आफू उपचारकै निमित्त विदेश गएको दाबी गरिरहेका हुन्छन् । नेताहरुको यस्तो आचरणले एकातिर नेपाली डाक्टरहरुप्रति नै अविश्वास बढ्दै गइरहेको छ भने अर्कोतर्फ स्वयं डाक्टरहरु नै निराश बन्दै गइरहेका छन् । नेपालमा पनि अन्तर्राष्ट्रियस्तरका अस्पतालको निर्माण हुने क्रम जारी छ । अन्तर्राष्ट्रियस्तरका अस्पतालको जत्तिकै सुविधा सम्पन्न अस्पताल नेपालमा हुँदाहुँदै पनि नेपाली नेताहरु उपचारका लागि भन्दै विदेश जानुपर्ने कारणमा उपचार कम र राजनीति बढी हुन सक्दछ ।
अधिकांश नेपालीहरुले उपचार गराउने नेपालका अस्पतालहरुमा उपचार नै गराउन नहुने कारण के हुन सक्छ नेताहरुका लागि ? हाम्रो यस्तो एउटा देश जहाँ चित्र वाग्लेजस्ता डाक्टरहरु उपचार खर्च अभावकै कारण मर्न बाध्य छन्, तर नेताका बूढीलाई सामान्य ज्वरो आउँदा हङ्कङ र सिंगापुरको अस्पताल पु¥याइन्छ । मानौँ मन्त्री र नेताहरुले देशमा उपचार नै गर्न हुँदैन, विदेशका महँगा अस्पतालहरु उनका लागि नै खोलिएका हुन् । नेपालका नेताहरुमा भन्दा राष्ट्रियता र राष्ट्रप्रेमको भाव त राजाहरुमा नै बढी रहेछ । राजाहरु पनि विदेशी डाक्टरबाट उपचार गराउँथे, तर नेताहरुझैँ ज्वरो आउँदा पनि उपचारका लागि विदेश जाँदैनथे । राजाहरु विदेशी डाक्टरबाट उपचार गराउँदा सम्भव भएसम्म विदेशी डाक्टरलाई नै दरबार बोलाउँथे । राणा शासन, पञ्चायतकाल र त्यसपछिको बहुदलको समयमा भन्दा पछिल्लो समयमा उपचारका लागि विदेश जाने क्रम तीव्र गतिमा बढ्दै गइरहेको छ । विदेशमा उपचार गर्न जाने क्रम लोकतन्त्र आएपछि ह्वात्तै बढेको छ । राजामहाराजा जे–जति कुराले आलोच्य थिए, अहिलेका नेताहरु तीभन्दा धेरै बढी कुरामा आलोच्य हुन थालेका छन् ।
प्रधानमन्त्री सशील कोइराला फोक्सोमा देखिएको क्यान्सरको उपचारका लागि अमेरिका जाँदै हुनुहुन्छ, जुन कुरा अत्यन्तै आवश्यक र स्वाभाविक पनि छ । जुन रोगको उपचार नेपालमा भन्दा बाहिर राम्रोसँग हुन्छ, त्यो रोगको उपचारका लागि विदेश जानु स्वाभाविक नै हो । तर, जसरी सानो रोगको लागि पनि अनावश्यक रुपमा विदेश जाने होड देखिँदै आएको छ, त्यो भने सर्वत्र निन्दाको विषय हो । विदेशी भूमिमा उपचार नै गराउन हुँदैन भन्ने कुरा हुँदै होइन, तर ज्वरो आउँदा पनि विदेश नै जाने कुराको विरोध हो । नेपालमा उपचार सम्भव नहुने वा रोगको राम्रोसँग निदान हुन नसकेको अवस्थामा विदेश जानु त स्वाभाविक मान्न सकिन्छ, तर सिटामोलले निको हुने रोगको लागि पनि विदेश जाने कुरा कदापि स्वीकार्य हुनै सक्दैन ।
राष्ट्रप्रमुख वा दलका शीर्ष नेताहरु उपचारका लागि विदेश जाने चलन संसारका धेरै देशहरुमा विद्यमान छ । तर, नेपाली नेताको जस्तै सामान्यभन्दा सामान्य रोगका लागि पनि विदेश जाने चलन संसारका अरु देशहरुमा बिरलै देख्न पाइन्छ । भारतलगायतका छिमेकी देशहरुमा समेत उपचारका लागि विदेश जाने चलन छ, तर उनीहरु आफ्नो देशका डाक्टरहरुले उपचार गर्न सम्भव नभए मात्र विदेश जान्छन् । कुनै समय थियो– नेपालका नेताहरु पनि सम्भव भएसम्म नेपालमा उपचार गराउँथे, सम्भव नभए मात्र विदेश जान्थे । तर, अहिले समय फेरिसकेको छ, नेताहरु विदेश उपचार गर्न जाने कुरा फेसनजस्तै बनिसकेको छ । नेताहरु उपचारका लागि भन्दै बाहिर जाने कुरामा नेपालका डाक्टरहरु पनि केही हदसम्म दोषी देखिन्छन् । नेपालका डाक्टरहरु नै आफ्नो पेसाको गरिमामा आँच आउने कुराको ख्याल नगरी स्वयं आफैँले विदेशमा उपचार गर्न जान नेताहरुलाई सुझाइरहेका हुन्छन् । केही डाक्टरहरु आफू पनि सँगै विदेश जान पाइने लोभमा वा पछि आउन सक्ने सम्भावित दोषका कारण पहिला नै विदेश जान सुझाउने गर्दछन् । विश्वका अरु कुनै पनि देशमा यस्तो हुँदैन ।
८० को दशकको समयमा भारतका राष्ट्रपति उपचारका लागि अमेरिका जान खोज्दा भारतीय डाक्टरहरुले विरोध जनाएका थिए । जुन रोगका लागि राष्ट्रपति अमेरिका जान लागेका थिए, त्यो रोगको उपचार भारतमा सम्भव भएकाले उपचारका लागि विदेश जाँदा देशको इज्जत जान्छ भन्दै डाक्टरहरुले राष्ट्रपतिलाई सम्झाएपछि अमेरिका जाने राष्ट्रपतिको कार्यक्रम रद्द भएको थियो । यो त एउटा दृष्टान्त मात्र हो । विश्वमा यस्ता उदाहरणहरु अरु धेरै देशमा छन् ।
हुन त, यस्तो कार्यको उदाहरण हाम्रै देशका राष्ट्रपतिले पनि देखाउनुभएको हो । २०६७ सालको वैशाखमा आँखाको उपचारका लागि विदेश लैजाने कुरा भएको थियो । त्यो बेला पनि नेपाली डाक्टरहरुले राष्ट्रपतिलाई विदेश लैजान सुझाएकै हुन्, तर राष्ट्रपति स्वयंले पहिला नेपालमा नै उपचार गराउने र सफल नभए मात्र विदेश जाने कुरा गरेपछि नेपालमा नै उपचार गरियो र सफल पनि भयो । राष्ट्रपतिको त्यो कदमले स्वयं राष्ट्रपतिको गरिमाप्रति नेपाली जनताको विश्वास अझ बढेर गयो । नेपालका केही अस्पतालमा भइरहेको उपचार शैली, उपकरण र डाक्टर नै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने खालका छन् । तर, यति हुँदाहुँदै पनि धेरै नेताहरु उपचारका लागि विदेश नै जान खोज्नु स्वयं आफूलाई ठूलो देखाउन खोज्नु र नेपाली उपचारप्रति अविश्वास गर्नुबाहेक अरु केही पनि होइन ।
नेपालका अधिकांश नेतालाई उपचारका लागि बाहिर जान पर्ने अवस्था अन्त्य नभएसम्म नेपालमा उपचारको क्षेत्रमा उल्लेख्य प्रगतिको कल्पना पनि गर्न सकिँदैन । नेपालका नेताहरुले विदेशी भूमिमा गरेको उपचारको खर्चले मात्र पनि नेपालमा नै अन्तर्राष्ट्रिय सुविधा सम्पन्न अस्पताल बनाउन सकिन्छ, किनकि पैसाको अभावमा उपचार नपाएर मर्नेहरु नेपालमा धेरै छन् । आर्थिक अभावले अस्पतालको मुखै नदेखी मर्नेहरु धेरै छन् । अनि, अस्पताल पु¥याएपछि पनि पैसा नहुँदा उपचार नपाएर मर्नेको सूची पनि लामै हुन आउँछ । कुनै–कुनै विशेष रोगबाहेक अरु रोगका लागि विदेश जाने कुरालाई अब राष्ट्रियतासँग जोडेर हेर्न आवश्यक छ । सानो रोगको उपचारका लागि समेत विदेश जाने यो क्रमलाई परम्परामा परिणत हुन दिनुहुँदैन ।
Discussion about this post