भरतपुर । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले मतदानमा प्रयोग भएका भोटिङ मेशिन विशेष सुरक्षा दिई निर्वाचन अधिकृतसमक्ष बुझाउन निर्देशन दिनुभएको छ । उहाँले मत सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।
गत मंसिर ४ मा भएको मतपेटिका हराएको वा साटासाट गरिएको सम्बन्धी आरोप खेप्नु परेको भन्दै पुनः यस्ता आरोपहरुबाट बच्न सबै मतदान केन्द्रका अधिकृत तथा अन्य कर्मचारीहरु उत्तिकै चलाख हुनुपर्ने उहाँको भनाइ छ । मतदान मेशिन र अन्य सामग्रीहरु सुरक्षित ढुवानी गर्न उहाँले निर्देशन दिनुभएको हो ।
भरतपुरमा शनिबार सुरू भएको विद्युतीय मतदान तथा मतगणना प्रशिक्षण कार्यक्रममा प्रमुख आयुक्त उप्रेतीले भन्नुभयो, ‘निर्वाचन सकिएपछि हरेक मतदान केन्द्र तथा उपकेन्द्रमा प्रयोग भएका भोटिङ मेशिन छुट्टाछुट्टै रुपमा निर्वाचन अधिकृतलाई बुझाउनुहोला ।’
सबै केन्द्रको मेशिन जम्मा गरेर ल्याउँदा समस्या हुन सक्ने भन्दै उहाँले यसतर्फ सजग हुन सबैलाई आग्रह गर्नुभयो । यसपटकको चुनावमा अन्तर्राष्ट्रिय पर्यवेक्षक नरहने आयोगले जनाएको छ । यसपटकको चुनावमा सेनाको प्रयोग नहुने भन्दै प्रमुख आयुक्त शर्माले आवश्यक परेमा सहयोग लिन सकिने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले निर्वाचन सुरक्षाका लागि विशेष योजना तयार पारिएको बताउनुभयो । चितवन क्षेत्र नम्बर ४ मा आगामी असार ८ गते संविधानसभाको उपनिर्वाचन हुँदैछ । साथै उहाँले निर्वाचन आचारसंहिता पालना भए नभएको निगरानी भएकाले सबैलाई यसतर्फ सचेत हुन आग्रह गर्नुभयो ।
संविधानसभाको उप–निर्वाचनलाई ध्यानमा राख्दै प्रशासन कार्यालयले क्षेत्र नम्बर ४ मा असार १ गतेबाट लागू हुने गरी मदिरा बिक्रीवितरणमा रोक लगाएको छ । त्यस्तै इजाजत प्राप्त भएका हातहतियार लिएर हिँड्न पनि रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो ।
यसैबीच राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), चितवनबाट उपनिर्वाचन पर्यवेक्षण गर्ने पर्यवेक्षकहरुको लागि शनिबार भरतपुरमा अभिमुखीकरण सम्पन्न भएको छ ।
कार्यक्रममा नियोक चितवनका संयोजक बालकृष्ण पौडेलले पर्यवेक्षकहरुले उपनिर्वाचनको पर्यवेक्षण निष्पक्ष रुपमा गर्नुपर्ने बताउनुभयो । पर्यवेक्षकहरुले कुनै पनि राजनीतिक दलको बारेमा प्रचारप्रसार गर्न नहुने पौडेलले बताउनुभयो ।
नियोक चितवनका निर्वाचन शिक्षा संयोजक दीपकबाबु श्रेष्ठले पर्यवेक्षकले निर्वाचनको विषयमा राम्ररी जानकारी लिनुपर्ने भन्दै निर्वाचन केन्द्रमा खटिएको अवस्थामा मतदान प्रक्रियालाई नै अवरोध पुग्ने गरी मतदान स्थलभित्र बस्न नहुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय चितवनका कम्प्युटर अपरेटर सूर्यप्रसाद आचार्यले विद्युतीय मतदानबारे जानकारी गराउनुभएको थियो । उहाँले विद्युतीय यन्त्रबाट मतदान गर्दा हुने फाइदाको बारेमा समेत जानकारी गराउनुभएको थियो ।
नियोक चितवनका संयोजक बालकृष्ण पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजीकरण नियोक चितवनका सचिव कृष्ण गिरीले गर्नुभएको थियो । नियोकले उपनिर्वाचनको लागि ४१ जना पर्यवेक्षक परिचालन गर्दैछ । सो क्षेत्रमा ३१ वटा मतदान स्थानमा ८२ वटा मतदान केन्द्र र ६५ हजार २९९ जना मतदाता रहेका छन् ।
Discussion about this post