भरतपुर । नारायणी विकास बैंक समस्याग्रस्त भएपछि त्यसको मर्का जिल्लाको सबैभन्दा ठूलो सरकारी अस्पताल भरतपुर अस्पताललाई समेत परेको छ । अस्पताल हातामा शाखा कार्यालय समेत रहेको सो बैंकमा अस्पतालको तीन करोड रुपैयाँ निक्षेप पनि छ ।
भरतपुर अस्पताल विकास समितिको खाता सो बैंकमा रहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.हरिबहादुर केसीले बताउनुभयो । समितिले राखेका कर्मचारी र अन्य खरिदको भुक्तानी सोही बैंकमार्फत हुने गरेको उहाँले जानकारी दिनुभयो ।
खराब कर्जालगायतका समस्या देखिएपछि चैत्रयता बैंकले नियमित भुक्तानी दिन सकेको छैन । ‘चैत्रयता हाम्रो अस्पतालको चेक भुक्तानी रोकिएको छ । भुक्तानी नहुँदा हामी धेरै मर्कामा परेका छौं । समस्या राष्ट्र बैंकसमक्ष पुगेको छ’, डा.केसीले जानकारी दिनुभयो ।
अस्पतालका लेखा अधिकृत सूर्यमणि कँडेलले दिएको जानकारीअनुसार अस्पतालले दुई करोड रुपैयाँ मुद्दती खातामा राखेको थियो । त्यस्तै थप एक करोड रुपैयाँ चल्ती र बचत खातामा राखिएको उहाँले बताउनुभयो ।
‘तलब खुवाउन समस्या भएपछि बैंक प्रशासनलाई हामीले पत्र काटेका थियौं । केही समयपछि सहज हुने जवाफ दिएको छ’, लेखा अधिकृत कँडेलले भन्नुभयो । भरतपुर अस्पतालमा ४१५ शøया छन् । कर्मचारी पनि चार सयको हाराहारीमा रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
जसमध्ये १५७ जना सरकारी दरबन्दीका छन् । बाँकीले अस्पताल विकास समितिमार्फत तलब प्राप्त गर्छन् । सरकारी दरबन्दीमा रहनेहरुका लागि भने निजी क्षेत्रको बैंकमार्फत भुक्तानी दिने परिपाटी नभएकाले उनीहरुको खाता नारायणी बैंकमा थिएन ।
‘सरकारी दरबन्दीका लागि त समस्या छैन । तर अस्पताल विकास समितिअन्तर्गतका कर्मचारीहरुलाई तलब भुक्तानी गर्न गाह्रो भयो’, लेखा अधिकृत कँडेलले भन्नुभयो । अस्पताल प्रशासनले खाता सार्ने तयारी नगरेको भने होइन ।
‘मुद्दती र अन्य खाता पनि सार्ने योजनामा थियौं । अस्पताल विकास समितिका अध्यक्षको पदपूर्ति नभएकाले निर्णय गर्न सकिएको थिएन । यहीबीचमा बैंक समस्यामा परेर भुक्तानी नियमित गर्न नसक्ने भयो’ लेखा अधिकृत कँडेलले भन्नुभयो ।
चेक भुक्तानीमा समस्या भएपछि कर्मचारीको तलब पनि नियमित हुन नसकेको अस्पताल प्रशासनले जानकारी दिएको छ । त्यस्तै अस्पतालले दिनुपर्ने निर्माण र सामान खरिदको बिल भुक्तानीमा पनि समस्या परेको लेखा अधिकृत कँडेलको भनाइ छ ।
‘बैंकबाट अझै केही महिना चेक नसाटिने हो भने हामी त धेरै खालको सस्यामा घेरिने छौं । त्यसैले चाडोभन्दा चाडो रकम उपलब्ध गारउन राष्ट्र बैंकसामु अनुरोध गरेका छौं’, अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.हरिबहादुर केसीले भन्नुभयो ।
भरतपुर अस्पतालले अहिले कृषि विकास बैंकमार्फत विकास समितिको खाता सञ्चालन सुरू गरेको छ । नारायणी विकास बैंकमा रहेको खातामा अस्पतालको भवन निर्माणको रकम पनि रहेकाले अस्पताल प्रशासन थप तनावमा छ ।
अस्पतालले जग्गा भाडामा दिएपछि बैंकले शाखा स्थापना गरेर सेवा दिँदै आएको थियो । ‘बिहान बेलुका सेवा दिने सर्तमा शाखा खुलेको थियो । सहज रुपमा सेवा पाउने आशाले समितिले त्यही खाता खोलेको हो’, लेखा अधिकृत कँडेलले भन्नुभयो ।
Discussion about this post