भूतपूर्व राजा श्री ५ ज्ञानेन्द्रलाई राजनीतिज्ञ भन्न नमिले पनि राजा राजनीतिसँग जोडिएकै हुने हुँदा राजनीतिज्ञहरुसँगको चिनाजानीबारे शब्द सिर्जना गर्दा उहाँको नाम लिनैपर्छ । उहाँ राजा हुनुभएपछि उहाँको जन्मोत्सवमा निम्तो प्राप्त भएर म भोज खान राजदरबार गएको हुँ । सामान्य सामाजिक र राजनीतिक कुराकानी भएको हो । मैले चारपटक भेट्दा चारैपटक उहाँको अनुहारमा खुसी देखेको थिइनँ । अप्ठ्यारो अवस्थामा राजा भएर श्रीपेच लाउँदा कठिनाइ भएको सजिलै बुझिन्थ्यो । पछिल्ला दिनमा मेरो भूतपूर्व श्री ५ सँग भेट भएको छैन । बिस्तारै बोल्ने, अड्कलेर बोल्ने, भलाद्मी पाराले अरुको कुरा ध्यानपूर्वक सुन्ने र शब्दको वजनअनुसार अरुको जिज्ञासाको जवाफ दिने तत्कालीन महाराजको व्यक्तित्व सामान्य हुँदै होइन । पुर्खाको शान राजसंस्था धराशायी भयो । पीर त लागेकै हुँदो हो । त्यसमाथि एउटै छोरो पारस, जन्मिँदा कति खुसी लागेको हुँदो हो, गाँजा र भाँङमा झुलेर घर छाडेर हिँड्नुभएको छ । भूतपूर्व राजाको घर भाँडिएको छ । आखिर कुनै बेला श्रीपेच पहिरिनुभए पनि उहाँ पनि त मान्छे नै हो । उहाँको पनि छोरोको हालत देखेर मन रोएकै होला, दिक्दारी बढेकै होला भन्ने लाग्छ । समयको खेल हो । कहिले के कहिले के भइरहन्छ । कहिले घाम, कहिले पानी, कहिले रात त कहिले दिन भनेझैँ मान्छेको अवस्था पनि बदलिरहँदो रहेछ । सधैँभरि एकनास नहुने रहेछ ।
यतिबेलाका प्रधानमन्त्री खड्गप्रसाद ओलीसँगको मेरो चिनाजानी २१ वर्षअघिको हो । नारायणी टुडेमा प्रकाशनका लागि उहाँको अन्तर्वार्ता मैले नै लिएको हुँ । पुरानो रेकर्डरमा उहाँको भनाइ रेकर्ड हुँदै गर्दा ब्याट्री सकिएर रोकियो । उहाँले बोल्दै गर्ने मैले कलमले कापीमा टिप्दै गर्दा झन्डै दुई घन्टा लाग्यो । मलाई लेख्न त गाह्रंै भो, उहाँलाई रोकिँदै बोल्न पनि गाह्रै भएको थियो तर मुसुमुसु हाँस्दै बोल्दै गरेर अन्तर्वार्ता टुङ्ग्याउनुभयो । राजनीतिमा त्यत्तिको मेहनती मान्छे कमै पाइन्छ जस्तो लाग्छ । जुनसुकै कुरा पनि अध्ययन गरिहाल्ने उहाँको गज्जबको स्वभाव मलाई थाहा छ । कोरोनाको विश्वव्यापी महामारी, बेरोजगारी समस्या, देश चलाउन साधारण खर्चको बन्दोबस्त गर्न कठिन भएको अवस्थामा, विकासको कुरा टाढा धकेलिएको अवस्थामा ओलीलाई देश हाँक्न गाह्रो भएको सजिलैसँग बुझ्न सकिन्छ । त्यसमाथि यतिबेला त पार्टीभित्रको किचलोले उहाँको निद्रै गोलमाल भएको हुनुपर्छ । दानमा पाएको मिर्गौलाको भरमा धानिएको ज्यान र त्यो ज्यानले यस्तो अप्ठ्यारो अवस्था झेल्न बाध्य देशको प्रधानमन्त्रीलाई चानचुने समस्या त पक्कै पनि छैन ।
प्रचण्डसँग मेरो पहिलो र खास भेटघाट चितवनमा भएको हो । डा. भोजराज अधिकारी, डा. किरण देवकोटा र मिलन सुवेदी पनि साथै थिए । छोरा प्रकाश बितेको धेरै दिन भएको थिएन । आँखामा गहिरो पीडा देखिन्थ्यो । तैपनि, प्रचण्ड सामान्य बन्ने कोसिस गरिरहनुभएको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक सम्बन्धमा कुराकानी भयो । पुत्रशोक, दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको सानो देशको अनेकौँ समस्या बोकेर राजनीतिलाई बोक्नुपर्ने, आफू अध्यक्ष भएको माओवादी पार्टीका कार्यकर्तालाई चित्त बुझाउन सजिलो थिएन, नेकपा एमालेसँग पार्टी एकीकरण भएपछि पनि तलदेखि माथिसम्म कार्यकर्ता मिलान गर्न नभ्याउँदै यतिबेला त फेरि पार्टी नै फुटेको अवस्था हुँदा प्रचण्डलाई कम्ता पीर त पक्कै परेको छैन । एकबारको जुनीमा एकपटक फेरि प्रधानमन्त्रीको कुर्सीमा बस्ने इच्छा छ जस्तो बुझिने उहाँलाई अब त्यो कुर्सी प्राप्त होला÷नहोलाको अवस्था सिर्जना भएको छ । भए राम्रै भो, नभए दुईपटक प्रधानमन्त्री भइहालियो, सिंहदरबारको भित्तोमा फोटो झुन्डिएकै छ भन्ने सोचेर उहाँले चित्त बुझाउनुहोला भन्ने लागेको छ ।
शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँगको मेरो भेटघाट अनौठो छ । धेरै वर्षअघि शेरबहादुर देउवाको भागमा माओवादीहरुलाई भेटेर, फकाएर, वार्ता गरेर राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने जिम्मेवारी परेको थियो । शायद, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । बालकृष्ण खाँड र शेरबहादुर देउवा भरतपुरको रोयल सेन्चुरी होटलमा आउनुभएको रहेछ । हामी केही पत्रकारहरु गएका थियौँ । जानेमध्येका धेरैले “जय नेपाल” भने । म अल्मलिएर नमस्कार, जय नेपाल, लालसलाम केही पनि भनिनँ । शेरबहादुरले मेरो मुखमा पुलुक्क हेर्नुभो । तर, सामान्य मुडमा देखिनुभो । तब न लोकतन्त्रको पक्षधर ! एउटाले मात्र नमस्कार नगर्दा केही प्रतिक्रिया नदेखाउनु देउवाको महानता हो भन्ने बुझाइ हो मेरो ।
रामचन्द्र पौडेलसँग कुनै वर्षको दसैँमा उहाँ भाइको घर चितवन शरदपुर, वेणीचोक आउँदा भेट भएको हो । एक घन्टाभन्दा ज्यादा समय राष्ट्रिय÷अन्तर्राष्ट्रिय राजनीति र नेपालका कम्युनिस्टहरुको विषयमा कुराकानी भएको थियो । मैले नारायणी टुडेमा उहाँका भर्सनहरु छाप्ने तयारीमा थिएँ, तर उहाँसँग भेट्दा नारायणी टुडे प्रकाशन भएको तीन–चार दिनमात्रै भएको थियो । एक महिना कुरेर छाप्ने प्रयास गर्दा उहाँले बोल्नुभएका कुराहरु असान्दर्भिक हुन पुगे । मैले उहाँको अन्तर्वार्ता छाप्न सकिनँ । शायद, उहाँलाई नरमाइलो पनि लाग्यो होला । मैले उहाँलाई आजसम्म यो कुरा बताएको छैन । भेट पनि भएको छैन, देखादेखबाहेक ।
वामदेव गौतम हक्की स्वभावका प्रस्टवादी नेता हुनुहुन्छ । मैले उहाँको अन्तर्वार्ता नारायणी टुडेमा प्रकाशन गरेको थिएँ । उहाँको मेमोरी यस्तो तगडा रहेछ कि म एकपटक उहाँलाई नारायणी टुडेको वार्षिकोत्सवमा प्रमुख अतिथिको रुपमा आइदिन अनुरोध पत्र लिएर काठमाडौँ गएको थिएँ । खबर पाएपछि भित्रैबाट उहाँले मैले सुन्ने गरी “ए, त्यो नारायणी टुडे चितवनको ? मेरो अन्तर्वार्ता छापिएको थियो ।” यति भन्दै बाहिर निस्किनुभयो र मलाई पोखरामा कार्यक्रम छ, यसपटक भ्याउदिनँ अर्कोपटक आऊँला भन्नुभयो । मान्छे चिन्ने मामलामा वामदेवको स्मरणशक्ति बलियो लाग्यो ।
नेता नारायणमान बिजुक्छेको अन्तर्वार्ता मैले दुईपटक छापेँ । राष्ट्रियताको मामलामा बहुत इमानदार नेता बिजुक्छेले देश र जनताको हितमा नै सधैँभरि बोल्नुभयो र क्रियाशील हुनुभयो । हिजोआज उहाँसँग खासै भेटघाट र कुराकानी भएको छैन । चित्रबहादुर केसीको पनि नारायणी टुडेमा अन्तर्वार्ता छापियो । सरल स्वभावका बूढानेता मलाई मन पर्ने नेतामध्येमा पर्नुहुन्छ । ‘मोहन बैद्य किरण’को अन्तर्वार्ता छापेँ, कहिलेकाहीँ कुराकानी पनि हुन्छ मोबाइलमा । मैले उहाँसँग खासगरी चीन, भारतसँग सम्बन्धित विषय र नेपाली कम्युनिस्टहरुबारे कुराकानी गर्छु । नेत्रविक्रम चन्द ‘विप्लव’को पनि अन्तर्वार्ता छापेँ तर कुनै माध्यमबाट प्रश्न पठाएर अन्तर्वार्ता तयार गरेको हुँ, मेरो भेट विप्लवसँग भएको छैन । उतिबेला सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएको थिएन । बरू, लेखक र साहित्यकारको परिचयसमेत बनाउनुभएका अनिल शर्मा ‘विरही’सँग चिनाजानी छ । उहाँले नारायणी टुडेमा प्रकाशनका लागि लेखरचनाहरु पठाउनुहुन्थ्यो । म लेखरचनाबापत पारिश्रमिक पनि दिन्थेँ । तर, हिजोआज उहाँको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि विप्लववाला पार्टीका मान्छेहरुसँग मेरो भेटघाट भएको छैन ।
सिपी मैनालीसँग मेरो आत्मीय परिचय छ । बडो विद्वान् नेता । सबैले बुझ्ने गरी राजनीतिक व्याख्या गर्नुहुन्छ । अहिले उहाँ नेकपा मालेका प्रमुख हुनुहुन्छ । म सकेसम्म उच्च मान्छेसँग भेट्न रूचाउन्नँ । सत्य हो, रूचाउन्नँ । यो देश ठूलो मान्छेसँग फोटो खिचेको देखाएर कमजोर बुद्धिकालाई लुट्ने र भुट्ने देश हो । म त्यो खालको मान्छे सानैदेखि होइन । एकदिन यस्तो भएको थियो कि सिपी मैनाली कुनै शीर्षकमा बोल्न नारायणी कला मन्दिरमा आउनुभएको थियो । उहाँले मलाई अघिल्लो पंक्तिमा देख्नुभयो । मलाई केन्द्रबिन्दु बनाएर धेरैपटक हेर्नुभयो । कुनै कारणवश उहाँ तल ओर्लिएर कतै जान लाग्दा उहाँले मेरो देब्रे तिघ्रामा हल्का छोएर जानुभयो । छुँदा मलाई फर्केर हेर्नुभयो । यसको आशय वीरेन्द्रमणि मैले बिर्सिएको छैन है भन्ने थियो । म कस्तो कस्तो भएँ । म खुसी भएँ । सिपी मैनाली इज ग्रेट ।
महान् लोकतन्त्रवादी नेता गणेशमान सिंहपुत्र प्रकाशमान सिंहसँग एकैपटक भेट भएको छ । उहाँको अन्तर्वार्ता नारायणी टुडेमा प्रकाशन भएको थियो धेरै वर्षअघि । तर, उहाँले मप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । भएको के रहेछ भने कभर पेजमा उहाँको भन्दा जगत गौचनको फोटो ठूलो भएछ । उहाँले “मण्डलेको फोटो ठूलो, मेरो सानो फोटो छापेर ठीक गर्नुभएन” भन्नुभयो । म हाँसेमात्रै । उता, पञ्चायती व्यवस्थामा पनि राजनीतिज्ञको परिचय बनाउनुभएका नेताहरु भूतपूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबराहरुसँग मेरो परिचय भएको हो । लोकेन्द्रबहादुर चन्द नारायणी टुडेको वार्षिकोत्सवमा चितवनको नारायणी कला मन्दिरमा र काठमाडौँको पद्मकन्या कलेजमा प्रमुख अतिथिको रुपमा आउनुभएको थियो । राष्ट्रिय राजनीतिको विषयमा कहिलेकाहीँ कुरा पनि हुन्थ्यो, तर हिजोआज कुराकानी कमै हुने गरेको छ । उहाँ शालीन र असल मान्छेको रुपमा नेपालमा चिनिनुहुन्छ । कवि र उपन्यासकारको परिचय उहाँको छुट्टै छ । उहाँको “विसर्जन” नामको उपन्यास औधी रोचक छ र त्यो उपन्यासले मदन पुरस्कार पनि प्राप्त गरेको छ । प्रकाशचन्द्र लोहनी राष्ट्रिय÷अन्तर्राष्ट्रिय राजनीति बुझ्ने हैसियत राख्नुहुन्छ । उहाँको घरमा दुई–चारपटक गएको छु र उहाँको अन्तर्वार्ता पनि नारायणी टुडेमा छापिएको छ । पशुपतिशमशेर जबरासँग मेरो परिचय छ मैले भन्न मिल्दैन । उहाँसँग कुराकानी भएको छ, अन्तर्वार्ता नारायणी टुडेमा छापिएको छ, तर खै कुन्नि उतिबेला पनि कमै भेट भएको हो, हिजोआज भेट नभएको त कम्तीमा ८ वर्ष भइसक्यो । सूर्यबहादुर थापासँग मेरो भेट नभई उहाँ बित्नुभयो । कमल थापासँग मेरो देखादेख धेरैपटक भएको छ तर म उहाँलाई चिन्छु, उहाँ मलाई चिन्नुहुन्न । अब कुरा आयो विक्रम पाण्डेको । सत्य त लेख्नैपर्छ– उहाँ मलाई औधी माया गर्नुहुन्छ । म पनि सम्मान र माया दुवै गर्छु । तर, अहिले उहाँको र मेरोबीच अलिकति घुर्की देखाउने काम भएको छ दुवैबाट । म उहाँको इच्छा बुझ्छु कि मैले राष्ट्रिय प्रजातन्त्र पार्टीको झोला बोकेर अब राजनीति गर्ने बेला भयो । मेरो मत उहाँसँग मिलेको छैन । म भन्छु– बेला भएको छैन । नेपाली जनताको सामाजिक, आर्थिक र राजनीतिक चेतनास्तर अलिकति बढ्नेबित्तिकै म पत्रकारिता छाडेर रवीन्द्र मिश्रको जस्तै तरिकाले राजनीतिमा आउँछु भन्ने हो, फेरि पनि उहाँको मनले मानेन । एकदिन साँझ उहाँले बेलुका भेटौँ न भन्नुभो । मैले हस् म आउँछु भनेँ । तर, म त मुडअनुसार फलानो थोक खाइहाल्ने मान्छे । त्यो साँझ म भेट्न गइनँ । भोलिपल्ट म सात बजे बिहान गएँ । तर, उहाँले मलाई झन्डै एक घन्टा कुराएर साना भाइहरुलाई भेटेपछिमात्रै भेट्नुभयो र बोलाएको बेलामा किन नआएको भन्ने पाराले मलाई सबक सिकाउनुभयो । उमेरले पनि अभिभावक, आफूले माया गर्ने मान्छे पनि भएको हुँदा एक घन्टा कुराउँदा पनि मलाई दुःख लागेन । तर, यत्तिचाहिँ मलाई गौरव लाग्छ कि सांसद् र दुई–दुईपटक मन्त्री हुनुभो, त्यहाँसम्मको उहाँको यात्रामा मेरो बुद्धि, रगत र पसिना पनि लगानी भएको सम्झिँदा र उहाँले मलाई “भाइ” भन्नुभएको शब्द बिर्सन मलाई कठिनै हुन्छ ।
गणेशमान सिंहसँग मैले उहाँको घर चाक्सीबारीमा प्रजातन्त्र आएकै वर्ष भेटेको हुँ । पिएल सिंहलाई पनि त्यही घरमा त्यसैबेला देखेको हुँ । कुष्णप्रसाद भट्टराई काठमाडौँबाट चुनाव लड्दा नजिकबाट देखेको मात्रै हुँ । गिरिजाप्रसाद कोइरालालाई विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नजिकबाट हेर्ने मौकामात्रै मिलेको हो, भेट भएन । पत्रकार सम्मेलनमा मोहनविक्रम सिंहसँग भेट भएको छ, कुराकानी भएको छ तर उहाँ अहिले पनि अर्धभूमिगत भएको हुँदा परिचय खासै छैन भन्दा हुन्छ । साझा पार्टीका संयोजक मित्र रवीन्द्र मिश्रले मसँग एक जना नेपालका इमानदार पत्रकार एकल सिलवालमार्फत भेट्नुभएको हो । नारायणगढको होटल रेडकार्पेटमा उहाँ, भाइ एकल र म करिब २ घन्टा कुराकानी गरेका हौँ । उहाँले राजनीतिमा आउने कुरा गरिरहनुभएको थियो । मलाई उहाँको कुरा चित्त त बुझेको हो, तर म राजनीतिमा अल्लि ढिला आउँछु भनेको थिएँ ।
तर, अब चितवनका नेताको कुरा गर्दा मेरो परिचय अपवादलाई छाडेर सबैसँग छ । कम्युनिस्टका कृष्णभक्त पोखरेल, तेजेन्द्र खड्का, अरूण पीडित भण्डारी, कृष्ण खनाल, रामप्रसाद न्यौपाने, राजु पौडेल, यमबहादुर परियार, चक्र रूचाल, नारायण वन, अन्जानकुमार तिमिल्सिना, रामचन्द्र अधिकारी, दीपक शाही, ईश्वर सापकोटा, द्रोणबाबु शिवाकोटी, सशक्त शरण गोले, गोपाल न्यौपाने, मधु न्यौपाने, अम्बिका लामिछाने, निशा न्यौपाने आदिलाई म चिन्छु । नेपाली कांग्रेसका कृष्णलाल सापकोटा, जगन्नाथ पौडेल, टेकप्रसाद गुरूङ, रामकृष्ण घिमिरे, विकास कोइराला, जीतनारायण श्रेष्ठ, कैलाश कोइराला, उत्तम जोशी, राजेश्वर खनाल, नवीनराज पौडेल, शंकर कँडेल, राजीव न्यौपाने, देवकी गौतम, नीलमणि पाठक, काशीराम अधिकारीलगायत थुप्रैसँग मेरो चिनाजानी छ । नेकपा क्रान्तिकारी माओवादीका अम्बिका मुडवरी, अशोक शर्मा, घननाथ सापकोटा, नारायण शर्मा विपीन, अमृत चपाईंलगायतसँग मेरो राम्रै चिनाजानी छ । राप्रपाका रूद्र ढकाललगायतसँग मेरो सुमधुर सम्बन्ध छ । तर, देशभरिका जनताले मेरो कुरा चित्त नबुझे मलाई माफ गरिदिऊन् । चितवनको हकमा सबै नेताले आफ्नो तर्फबाट, आफ्नो बुद्धि, हैसियत र नियतअनुसार काम गरेकै होलान्, तर म प्रमाणलाई विश्वास गर्ने मान्छे हुँ । मैले संकलन गरेको प्रमाणले यही भनेको छ कि आफूलाई कम्युनिस्ट भन्न रूचाउने चितवनका नेता विजय सुवेदी जो यतिबेला प्रदेश नम्बर ३ को सांसद् पनि हुनुहुन्छ उहाँले जस्तो बिनास्वार्थ देश र जनताका लागि अरुले सेवा गरेको मैले कमै देखेँ । ती सुवेदी थरका विजय देशका लागि काम लाग्नेमात्रै होइन, नभई नहुने मान्छे हुनुहुन्छ भन्ने मेरो बुझाइ छ । उहाँ कस्तो चरित्रको मान्छे र कस्तो देशभक्त जान्नका लागि आजको भरतपुर अस्पतालको प्रगति हेर्दा प्रमाण पाउन सकिन्छ । अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, गणेशधाम निर्माणमा उहाँ खटिइरहनुभएको छ । मेरो कामना यही र यत्ति हो– देशभरिका राजनीतिज्ञहरु तिनै विजय सुवेदीजस्तो मनैदेखि पवित्र र इमानदार हुनुपर्छ । देशको माया गर्नेको भलो होस् । जय नेपाल ।
Discussion about this post