शारदानगर । २०३९ सालदेखि खेलाडीका रुपमा सक्रिय पश्चिम चितवन भरतपुर–१७ निवासी अरूणा गुरूङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) फुटबलको मुख्य प्रशिक्षकमा नियुक्त भएकी छन् । नियुक्तिपछि उनले राखेपले दिएको जिम्मेवारीलाई जीवनको एउटा मह¤वपूर्ण उपलब्धि रहेको भन्दै खुसी व्यक्त गरिन् ।
राष्ट्रिय फुटबल टिमकी पूर्वसदस्यसमेत रहेकी चितवन जिल्ला खेलकुद विकास समितिमा कार्यरत गुरूङलाई शुक्रबार राखेपले मुलुकभरको सम्पूर्ण फुटबल गतिविधि निरीक्षण गर्ने गरी मुख्य प्रशिक्षकको रुपमा जिम्मेवारी दिएको हो ।
‘खेलकुद क्ष्ोत्रमै तीन दशकभन्दा बढी समय बित्यो, अहिले मुख्य प्रशिक्षक भैरहँदा कामको सही मूल्याङ्कन भएको महसुस भैरहेको छ’, उनले भनिन् । खेलकुद क्षेत्र अस्तव्यस्त छ, चुनौती र जिम्मेवारीहरु धेरै छन्, तर पनि साहस छ त्यसैले चुनौतीका विरूद्ध हिम्मतका साथ लाग्छु ।’
मुख्य प्रशिक्षक गुरूङले देशभर रहेका फुटबल प्रशिक्षकसँग समन्वय गरेर प्रशिक्षणलाई अघि बढाउने बताइन् । देशभर चलेका प्रशिक्षणलाई व्यवस्थित गर्ने, संयोजन गर्ने, योजना बनाउने र आवश्यक निर्देशन दिने काम मुख्य प्रशिक्षकको रुपमा गुरूङको रहनेछ । फुटबलको मुख्य प्रशिक्षकको जिम्मेवारी प्राप्त गर्ने गुरूङ पहिलो महिला प्रशिक्षक हुन् ।
उनी गत वर्ष नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली राष्ट्रिय महिला टिमको प्रशिक्षकको भूमिकामा थिइन् । नेपालले सन् १९८६ (हङ्कङ), १९८९ (हङ्कङ) र १९९९ (फिलिपिन्स)को एसियन च्याम्पियनशिप खेल्दा गुरूङ त्यसको सदस्य थिइन् । सक्रिय खेल जीवनपछि उनले १६ वर्ष (२०००–२०१६) फिफा सहायक रेफ्रीका रुपमा काम गरेकी थिइन् । त्यसपछिको दुई वर्ष उनले रेफ्री इन्स्ट्रक्टरको भूमिकासमेत निर्वाह गरेकी थिइन् ।
राखेपमा भने उनी दोस्रोपटक २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा नियुक्त भएकी थिइन् । २०६२ मा उनी प्रशिक्षकमा बढुवा भएकी थिइन् । त्यसअघि २०४६ सालमा उनी राखेपमा पहिलोपटक सहायक प्रशिक्षकका रुपमा नियुक्त भएकी थिइन् । २०५० मा अवकाश पाएकी उनले २०५२ मा सोही पदमा पुनः नियुक्ति पाएकी थिइन् ।
उनले उपलब्धिका साथै मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्न चुनौतीपूर्ण भएको समेत बताइन् । ‘एन्फाले आफ्नै योजनाअनुसार काम गर्दै आएको छ, राखेपमा भएका कतिपय प्रशिक्षक कामविहीनजस्तो हुनुहुन्छ’, उनले भनिन्, ‘मेरो प्रयास राखेपका तर्फबाट एन्फासँग समन्वय गरेर काम गर्ने हुन्छ, किनकि हामी सबै फुटबल विकास होस् भन्ने चाहन्छौँ । त्यसका लागि सँगै काम गर्ने वातावरण बनाउनका लागि मेरो पहल हुनेछ ।
Discussion about this post