देशव्यापी रूपमा अहिले बालश्रमविरुद्धको दिवस मनाइएको छ । बालबालिकाहरूमाथि हुने श्रम शोषणलाई लिएर विभिन्न संघसंस्थाहरूले गरेका कार्यक्रमहरूमा बालहित र बालअधिकारका कुराहरू उठेका भए पनि यथार्थमा बालबालिकामाथि भैरहेको अन्याय कम भएको छैन, अझ बढ्दै गैरहेको देखिन्छ । बालश्रमविरुद्धका औपचारिक कार्यक्रमहरूमा सरकारी निकाय तथा बालअधिकारसम्बन्धी काम गर्ने संघसंस्थाहरूले बालबालिकालाई नै केन्द्रमा राखेर सम्झने काम गरे पनि त्यो पर्याप्त हुन सक्दैन नै । कुनै विशेष दिनमा उनीहरूलाई सम्झनुमात्रले बालबालिकाले वर्षैभरि पाउने यातना कम हुन सक्ने अवस्था रह“दैन । बालबालिकाहरूका हक, अधिकारका विषयमा गम्भीर ढङ्गले लागिपर्ने निकायको अभावकै कारण आज बालबालिकाहरू असुरक्षित भैरहेका पनि हुन् ।
कलिलै उमेरमा पढ्न पाउनु पर्ने अधिकारबाट वञ्चित गरी ससाना बालबालिकालाई काममा दलाएर उनीहरूको श्रमको शोषण गर्नु नाजायज प्रवृत्तिको द्योतक हो । मानसिक तथा शारीरिक रूपमा यातना दिएर प्रताडित गर्ने काम पढेलेखेका शिक्षित व्यक्तिहरूले नै गर्दै आएको देखिन्छ । हुनेखानेका छोराछोरीहरूले प्राप्त गर्ने सुविधा र हु“दाखानेका छोराछोरीहरूले पाउनु पर्ने अधिकारका बीचमा दूरी बढ्दै गएको अवस्थाले बालबालिकाबीचमा नै गहिरो खाडल निर्माण हुन पुगेको छ, जसले वर्गीय विभेदलाई झन्झन् बढाएको देखिन्छ ।
सबै बालबालिकाहरू शिक्षित र समृद्ध भएमात्र देशले उज्यालोतिरको यात्रा प्रारम्भ गर्न सक्षम हुन्छ । सरकारी तथा गैरसरकारीस्तरबाट केही प्रतिशत बालबालिकामात्रको हकमा होइन, धेरै प्रतिशत बालबालिकालाई ध्यानमा राखेर कार्यक्रम तथा योजनाहरू अघि सार्नुपर्छ । बालबालिकाका हकमा नीति निर्माण हुनुपर्ने र त्यसलाई व्यवहारमा नै उतार्नुपर्ने खा“चो आजको आवश्यकता हो । देश कति सम्पन्न र विकसित छ भन्ने कुरा बालकहरूले आफ्नो हक, अधिकार कुन अनुपातमा उपभोग गरिरहेका छन् भन्ने सन्दर्भले नै निर्धारण गर्ने गर्दछ, किनकि बालकहरूलाई देश सञ्चालन गर्ने भोलिका कर्णधारका रूपमा लिइन्छ ।
बालबालिकाहरूमाथि गरिने शोषणका रूपहरू निकै डरलाग्दा प्रतीत हुन्छन् । कलकारखाना, सवारीसाधन, होटल, सडक तथा भवन निर्माणजस्ता अनेकौं ठाउ“मा लाखौंको सङ्ख्यामा प्रयोग गरिन्छन् बालबालिकाहरू आज । बालबालिकाहरू सबैभन्दा बढी त घरेलु कामदारका रूपमा समेत प्रताडित हुने गरेका छन् । उनीहरूप्रतिको यस्तो विभेद देखिनुमा गरिबी नै सबैभन्दा ठूलो कारक बनेको देखिन्छ । बालबालिकाहरू आज हरेक क्षेत्रमा असुरक्षित महसुस गरिरहेका छन् । आज देशभर नै अपहरण, हत्या, हिंसाका शिकार भइरहेका बालबालिकाहरू कतिपय त मृत्युको मुखमा समेत पुगेका छन् । अब आउ“दा दिनहरूमा बालश्रम र अधिकारलाई लिएर सरकारी तथा गैरसरकारी पक्ष जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्ने खा“चो छ, ताकि अनाहकमा कुनै बालबालिकाहरू शोषणको शिकार बन्न नसकून् ।
Discussion about this post