भण्डारा । मौरीपालन विकास कार्यालय भण्डाराले चेपाङ जातिलाई लक्षित गरी मौरीघार र गोला वितरण गरेको छ । कार्यालयले बिहीबार भण्डारामा एक कार्यक्रम गरी पाँच वटा समूहलाई १०÷१० वटा घारका दरले ५० वटा मौरीघार र गोला वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व साँसद् जागृतप्रसाद भेटवालले उनीहरुलाई चार लाख ५० हजार रुपैयाँ बराबरको मौरीघार र गोला वितरण गर्नुभयो । चेपाङ समुदायको आयआर्जन वृद्धि गर्ने, पोषण सुरक्षा, परागसेचन वृद्धि गरी उत्पादन बढाउने उद्देश्यले मौरीघार र गोला वितरण गरिएको कार्यालयका प्रमुख वरिष्ठ मौरीविज्ञ शिवप्रसाद रिजालले जानकारी दिनुभयो ।
चितवनको कोराक, शक्तिखोर, सिद्धि, पिप्ले, कठार, भण्डाराका चेपाङ समुदायलाई मौरी र गोला वितरण गरिएको मौरीविज्ञ रिजालले बताउनुभयो । चितवनमा विषेशगरी कोराक गाविसमा बढी मौरीपालन हुँदै आएको छ । यसअघि चेपाङ समुदायलाई प्राविधिक ज्ञानसम्बन्धी तालिम दिइएको थियो ।
चितवनमा हाल २५० जना व्यवसायीले व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । एउटा मौरीको घारबाट वर्षमा सरदर ५० किलो मह उत्पादन हुन्छ । कार्यक्रममा भण्डारा गाविसका पूर्व अध्यक्ष बालकृष्ण लोहनी, मौरीपालक कृषक गोविन्दराम चेपाङलगायतले मन्तव्य राखेका थिए ।
यसैबीच मौरीचरन क्षेत्र सम्भाव्यता अध्ययनका लागि बिहीबारै एक दिने गोष्ठी सम्पन्न भएको छ । मौरीपालन कार्यालय भण्डाराको आयोजनामा भएको गोष्ठीमा मौरीचरनका लागि उपयुक्त स्थानको खोजी गर्ने उद्देश्यका साथ गोष्ठी गरिएको कार्यालयले जनाएको छ ।
गोष्ठीमा सर्लाही, बारा, पर्सा, रौतहट, मकवापुर र चितवनका कार्यालय प्रमुख र कृषकहरु सहभागी थिए । चरन क्षेत्रको अभावमा मौरीपालन व्यवसाय संकटमा पर्ने अवस्था रहेकाले मौरीपालनको प्रर्वद्धनका लागी चरन क्षेत्रको खोजी गर्न लागिएको कार्यालयका प्रमुख वरिष्ठ मौरीविज्ञ
रिजालले जानकारी दिनुभयो ।
Discussion about this post