चितवन । आफूलाई कलाकारिता क्षेत्रमा स्थापित गराउने प्रयासमा रहेका पप गायक अनिल राई पछिल्लो समय ‘नछुटोस्’ बोलको गीत लिएर दर्शक स्रोतामाझ आएका छन्। चितवनको भरतपुर निवासी गायक राईको यो चौथो गीत हो। गीतको शब्द गायक राईले आफैँ कोरेका हुन् भने विशाल पौडेलले संगीत भरेका छन्। नेपाली पप गीतसंगीतमा फरक खालको पहिचान दिलाउन भरमग्दुर प्रयासरत उनले ‘नछुटोस्’ बोलको गीत क्रिसमस दिवसको दिन ‘अनिल राई अफिसियल’ नामक युट्यूब च्यानलबाट सार्वजनिक गरेका हुन्।
गीतको भिडियोमा भावना गुरूङ र गोकर्ण बम्जनले अभिनय गरेका छन्। आभास रानाको निर्देशन तथा छायांकनमा तयार भएको भिडियोको सम्पादन भने सुबोध श्रेष्ठले गरेका छन्। सुन्दर शब्दमार्फत मायाप्रेमको भाव प्रकट भएको गीतको भिडियो काठमाडौं र चितवनका विभिन्न स्थानमा छायांकन गरिएको हो।
भरतपुर १२, मुनालचोकका राईले यसअघि ‘बाल्यकाल’ नामक गीत बजारमा ल्याएका थिए। दुवई र कतार गरी ७ वर्ष वैदेशिक रोजगारमा समय बिताएका उनलाई विदेशको बसाइले नै गीतसंगीतप्रतिको मोह बढाइदियो। स्वदेशमा रहँदा स्रोतामात्रै बनेका उनी विदेश बसाइले गायक बन्ने सोचाइ बनाएर नेपाल फर्काइदियो। स्वदेश फर्किएपछि गीत–संगीतको भीडमा बाटो छिचोल्ने प्रयासमा लागे, त्यो पनि मोफसलमै बसेर।
करिब ३ वर्षपहिले ‘तिम्रो मान्छे म’ बोलको गीत गाएर नेपाली गीतसंगीतमा औपचारिकरुपमा प्रवेश गरेका उनले त्यसपछि ‘झूटो होइन’ बोलको अर्को गीत ल्याए। मोफसलबाटै सांगितिक आकाशमा संघर्ष गरिरहेका उनले गीतसंगीतबाटै आर्थिकरुपमा नाफा कमाउन नसके पनि धेरथोर दर्शकस्रोतमाझ चिनाउन सफल भएका छन्। चौथो गीतसम्म आइपुग्दा धेरै कुरा सिक्ने मौका पाएको उनी बताउँछन्। परिवारको साथ र सहयोगका कारण निरन्तर गीतसंगीतमा समय दिन पाएको उनको भनाइ छ।
Discussion about this post