जगत श्रेष्ठ
असाध्य मर्मस्पर्शी अथवा दुःखद अवस्थामा सतीको सरापको घटना सम्झना हुँदोरहेछ । देशको अवस्था बिग्रिएको बेला, देशप्रति समवेदनाको बाढी आएको बेला हृदय उकुसमुकुस भएर सतीलाई गुहार्दा रहेछन् । राष्ट्रप्रति चिन्तित जोकसैलई पनि घरको पीर लाग्दो हो नै ।
भनाइ के हो भने देशप्रति भलो चिताउनेलाई राज्यका हर्ताकर्ताहरुले रूचाउँदैनन् भनिन्छ । त्यसको मतलब हो, खुनी चिन्तन राख्नेहरुले देशको भलो चाहन्नन् । आफैँ मिलेर स्वार्थपूर्ति गर्नतिर लाग्छन् । त्यसैले, निस्वार्थी र राष्ट्रप्रति जिम्मेवारहरुले यस्तो कुरा सहन्नन्, किनकि निस्वार्थीहरुले लोभीपापीको खोइरो खन्छन् ।
राष्ट्रको उँधोगतिको कारण नै इमानदारितापूर्ण कार्य हो । पुँजीवादमा पुँजी व्यक्तिसँग सम्बन्धित हुन्छ । राष्ट्र बन्यो, विकास भयो भने व्यक्ति स्वतः बन्दछ भन्ने मान्छे कमै पाइन्छन् । कुशल व्यक्तित्वको सारै अभाव छ नेपालमा । चर्चा–परिचर्चा सुन्दछौँ, जिल्लातिरको कार्यकुशलताको अवस्था हेर्दा रमेश खरेल चर्चाको पात्र बनेका छन् यतिबेला ।
रमेश खरेलसँग यो पंक्तिकारको व्यक्तिगत सम्बन्ध र चिनाजानी छैन । तर, यो बिग्रेको देशमा रमेश खरेल नेपालको एक कुशल व्यक्ति हुन् भन्ने बुझाउँछ । रमेश खरेल भएको जिल्लामा प्रहरीहरुले राम्रो काम गरेका छन् । यसको मतलब हो, उनी घूसविरोधी हाकिम हुन् । घूस प्रहरीका निम्ति माछालाई पानीजस्तै हो । घूस लिएको थाहा भए जुनसुकै प्रहरी वा कर्मचारी कार्बाहीमा परिहाल्छ । यो हो रमेश खरेलले आर्जन गरेको क्षमता ।
अर्को हो, गुन्डागर्दीबिना कुनै दलका नेता बच्न नसक्ने रहेछन् । गुन्डागर्दी पनि रमेश खरेलको आँखाको कसिंगर हो । घूसखोरी, गुन्डागर्दी, भ्रष्टाचार, बलात्कारजस्ता अपराध घट्छ भने उकुसमुकुसमा बाँचिरहेका जनतालाई शान्तिपूर्ण जीवन दिने रमेश खरेल प्रशंसाको पात्र नबने अरु कुन लठुवा बन्छ त ?
राज्य सञ्चालन प्रहरी प्रशासनको जिम्मेवारीबाट चलेको हुन्छ । राज्यभित्र जनताले शान्तिपूर्ण बाँच्न पाउनु उसको मौलिक अधिकार हो । जसरी शरीरभित्र नसाको सम्बन्ध छ, त्यसैगरी समाजभित्र प्रहरी प्रशासनको सम्बन्ध हुन्छ । माधव नेपालको सरकारमा यौटी महिला प्रहरी सुन्तली धामीलाई आफ्नै सहयोगी ६ पुरूष प्रहरीले जबर्जस्ती गरेको घटना छ । अन्यायमा परेँ भन्ने उनको आवाज सर्वत्र उदाङ्ग भएको थियो । पार्वती नाउँकी डिएसपी महिला त्यही बलात्कृत प्रहरी महिलाको पक्षमा बोल्दै थिइन् । तर, पार्वती थापालाई गृह मन्त्रालयले केन्द्रमा खटायो । यी पीडित महिलाको हालत सधैँ बेहाल रह्यो । यस्तो अमानवीय अपराधमा मानवअधिकारवादी देखिएनन् । यस्तो अपराधका बेला रमेश खरेललाई जिम्मेवारी दिइएको भए पीडित महिलाको उद्धार मात्र हुनेथिएन, अझ अपराधीसमेत तुरून्त कारबाही पर्ने थिए । यतिबेला स्वास्नी हत्याका घटनाहरु चलेका
छन् । ५ वर्षदेखिका बालिका बलात्कार भएका घटना राज्यभरि नै तरंगित छ । ५–६ वर्षका बालिकाउपरको घटनामा घूस नखाई नछोड्ने प्रहरीबाट अपराधीउपर कारबाही हुन्छ भन्ने आशा कसरी हुन्छ ? रमेश खरेलजस्तै हाकिम जिल्लाजिल्लामा भैदिए अपराधीले नसक्दो हो, अझ अपराधै पनि घट्दो हो । रमेश खरेलजस्तै कुशल प्रशासकको नेतृत्व भैदिए जिल्लाका धेरै हाकिमहरु तह लाग्थे होलान् ।
आज अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएको भ्रष्ट मुलुक नेपाल बनेको छ । सरकारमा लाज भैदिए रमेश खरेल पलपलमा पुरस्कृत बन्नेथिए । दुःख लाग्छ, रमेश खरेललाई दण्डित गर्ने प्रयास गरियो । भ्रष्ट प्रशासकहरुमाथि घूस लिएकोमा कारबाही गर्ने खरेल अपराधीहरुकै बन्धनमा पर्नुपर्ने ठहराइयो । उनी अहिले हाकिम होइन, हाकिमको नियन्त्रणमा बस्नुपर्ने ठहराइयो । यो देशमा अर्को सतीले नसरापे अरु कसले सराप्छ ? यसबाट स्प्ष्ट के देखिन्छ भने भ्रष्टाचार हट्नुपर्छ भन्ने सरकारी रुपमा जिम्मेवारहरु जो भुक्छन्, त्यो कहिलेकाहीँ उल्टो हुन्छ भन्ने कुरा अब जनताले बुझ्नुपर्छ ।
¨¨
Discussion about this post