उहाँलाई सबैले ‘मन्त्रीबा’ भनेर जान्दथे । मेरो समझमा त्यससमय उहाँ धेरैका निम्ति ‘ओखती बा’ हुनुहुन्थ्यो । उहाँको क्लिनिकमा ओखतीमूलो गर्न पुग्ने बिरामीसँग साथमा पैसो हुनैपर्छ भन्ने कुनै अनिवार्य नियम थिएन । उहाँ सबैका भरोसा हुनुहुन्थ्यो । त्यस्तो उदार व्यवहारले पनि कसरी उहाँको क्लिनिक चलेको थियो होला, म अहिले पनि कुनै अड्कल गरेर भन्न सक्दिनँ ।
उहाँको औपचारिक नाम ‘जमानसिंह गुरूङ’ थियो । स्याङ्जा जिल्लाको सुदूर तर रमणीय पहाडी उपत्यका ‘पेल्का चौर’बाट उहाँ बसाइँ सरेर ज्योतिनगरजस्तो उष्ण स्थानमा बस्दै आउनुभएको थियो । पेल्काचौर धन्य थियो जसले एउटा असल सन्तान जन्मायो, हुर्कायो र पोषण दिएर त्यससमयको ज्योतिनगरलाई सबैको सेवाका खातिर सुम्पियो ।
उहाँलाई ईश्वरले नै मुस्कान दिएको थियो । अनुहार सदैव खुसीयुक्त र प्रसन्न देखिन्थ्यो ।
हर्दम हँसिलो मुखाकृति थियो । सबैका निम्ति समान भलो चाहनुहुन्थ्यो, उहाँ । गुरूङ सम्प्रदायमा जन्मिएर पनि ब्राह्मणको जीवनचर्या थियो, उहाँको । वैदिक मूल्य र मान्यताअनुसार जीवन—नौका चलाउने उहाँको आचरण थियो । म बालकै उमेरको थिएँ । उहाँको काखपोल्टामा न्यानो पाउने सौभाग्य मिल्यो । मेरो पातलो शरीर, मसिना हात—पाखुरा र उहाँको वजनदार शरीरसँग म त्यसै हराउँथेँ । खुबै मायाँ गर्नुहुन्थ्यो, उहाँले मलाई । लाग्छ, त्यो सबै हाम्रो पूर्वजन्मको सम्बन्ध थियो, जो अहिलेको जीवनमा स्वचालित आकर्षणमा आएको थियो ।
उहाँ मेरानिम्ति सामान्य मान्छे हुनुहुन्नथ्यो । बिलकुलै प्रेमिल हुनुहुन्थ्यो । प्रेरणाका उद्गम हुनुहुन्थ्यो । मेरो दैनिक जीवनचर्याका लागि निर्देशक हुनुहुन्थ्यो ।
हरेक चेतनशील मान्छे जन्मजातै राजनीति गर्दछ । अराजनीति र राजनीतिको बीचमा म ठूलो विभेद देख्छु । अराजनीतिका अनेकौँ भ्रम र छलकपटमा पिसिएकाहरु हिजोआज राजनीति भनेपछि दिक्क मान्दैछन् । राजनीति बिस्तारै अराजनीतिको कित्तामा रुपान्तरण हुँदै जाँदा नेपालको धरतीले कष्ट भोग्दै गरेको छ, तर राजनीतिले मानवमात्रको कल्याण चाहन्छ । राजनीति सबै सेवामा उपयोग गरिन्छ । राजनीतिको कलेवर चढाएर अर्थोपार्जन र निजी स्वार्थको मनोकांक्षाहेतु गरिएका सबै किसिमका क्रियाकलाप अराजनीतिका धब्बा हुन् ।
ती अराजक मान्छेका चरित्रस्वरुप गरिएका खेलमात्र हुन् । अराजनीति मौलाए देशको सहकाल रित्तिँदै जान्छ ।
जमानसिंह गुरूङ (मन्त्रीबा) राजनीति गर्नुहुन्थ्यो, सबैको भलाइको निम्ति जनमत तयार गर्नुहुन्थ्यो । कसैकोप्रति घृणाभाव राख्नुहुन्नथ्यो । अवश्य पनि उहाँ कुनै अमुक दलविशेषको साथमा उभिनुभएको त थियो । दलविशेषको साथ, आँट, बलबुतालाई एकै ठाउँमा समयोचित संयोजन गर्न नसकिए समाज परिवर्तन गर्न सकिँदैन पनि । हो, उहाँ राजनीति गर्नुहुन्थ्यो ।
‘नेपालको राजनीतिक दर्पण’ पुस्तकका लेखक गृष्मबहादुर देवकोटाका अनुसार विसं २०१५ सालको आमनिर्वाचनमा देशैभरिको मत सर्वेक्षण गर्दा सबैभन्दा धेरै मत प्राप्त गर्ने पहिलो उमेदवार हुनुहुन्थ्यो, जमानसिंह गुरूङ । राजनीति भन्ने विषय देशकाल, परिस्थितिअनुसारको अनुहारले झुल्किन्छ । सो अनुहारको नापजोख गर्दा अहिलेका समालोचक, विश्लेषक र समीक्षकले सोही समयको अनुहार लिई त्यही कालखण्डमा उभिन सक्नुपर्दछ । उहाँले समय अनुकूल निद्रामा परेका धेरै नेपाली सर्वसाधारणलाई बिउँझाउँदै हिँड््नुभयो । चेतनाको उज्यालो फैलाएर वैदिक धर्मविज्ञानलाई सबैका हितमा बिनाआग्रह—पूर्वाग्रह बाँड्दै गर्नुभयो ।
विसं २०१६ सालको क्याबिनेटमा उहाँ सहायक स्वास्थ्यमन्त्री पनि बन्नुभएको थियो ।
ज्योतिनगर र यसआसपासका धेरै ठाउँका व्यक्तिविशेषले उहाँबाट प्रत्यक्ष र परोक्षरुपमा धेरै लाभ लिएको अनुमान गर्न सक्छु, म । कतिपय अवस्थामा त व्यक्तिले प्राप्त गर्न सकेको लाभप्रति व्यक्ति स्वयम् बेखबर पनि हुन्छ । धेरैलाई त्यस्तै पनि भएको होला । यो प्राकृतिक नियम हो, अस्तित्वको विधान हो । संसारमा ९० प्रतिशतभन्दा धेरै राम्रा र नराम्रा कामलाई प्रभाव पार्ने गहिरा डोबहरु अप्रत्यक्षरुपमै हुने गर्छन् भन्ने मेरो मान्यता हो ।
औपचारिक सिकाइको मह¤व ज्यादै झिनो र कम प्रभावकारी हुन्छ । आममान्छेहरुले अनौपचारिक शिक्षालयमा पनि पढेका हुन्छन् । झोला च्यापेर विद्यालय पढ्नै जानुपर्छ भन्ने पनि हुँदैन । त्ससैले त राम्रो सत्संग र राम्रा आचरण भएका मान्छे र समाजको साथमा बस्नुपर्छ भन्ने हाम्रो मूल आदर्श र मान्यता रहँदै आएको हो । उहाँबाट मैले धेरै सिकेँ तर उहाँसँग जति उज्यालो थियो, त्यो सबै ग्रहण गर्ने योग्यता मसँग भएन वा म अल्मलिएँ भन्ने लाग्दछ ।
त्यसदिन ज्योतिनगरको पुरानो गुरौस्थानमा नवनिर्मित मन्दिरमा प्राणप्रतिष्ठा समारोह थियो । मन्दिर प्राङ्गणवरपर मान्छेहरु भरिभराउ थिए । मन्त्री बा सबेरै आइपुग्नुभएको थियो । घरको दैनिक स्नान पूजापाठ सकाएर उहाँ अरु सबैभन्दाअघि नै मन्दिरमा उपस्थित हुनुभएको थियो । प्राणप्रतिष्ठाको वैदिक विधान हुन्छ । नवनिर्मित मन्दिर र उक्त देवालयभित्र स्थापित सबै देवदेवताहरुलाई तत्तत् स्थानविशेषमा आएर बसिदिन अनुरोध र प्रार्थना गरिन्छ । वैदिक विधान र सो मान्यताअनुसार प्राण प्रतिष्ठाले पनि मन्दिर सशक्त, वरदानी र सबैको हित अनुकूल हुन्छ ।
उपस्थित सबैका निम्ति मन्त्रीबाले एउटा सम्बोधन गर्नुभयो, ‘हाम्रो धर्म, संस्कृति, परम्परा र मान्यता विश्व मानव हितमा छ । सबैको कल्याणमा छ, सबैको उन्नतिमा छ, सबैको चौतर्फी प्रगतिमा छ ।’
सबैले ताली बजाए । कार्यक्रम धुमधामले सम्पन्न भयो ।
उहाँ विसं २०३४ सालदेखि जीवनको अन्तिम समयसम्म भरतपुर महानगरपालिका—२६, कालिका मन्दिर ज्योतिनगरका अध्यक्ष भइरहनुभयो । वैदिक धर्मदर्शनको गङ्गाजलले स्नान गरिरहनुभयो । सबैलाई प्रेरणा र उत्साहको प्राणले भर्दै रहनुभयो । आज चालीस वर्षको लामो अन्तरालपछिको स्मृतिले मलाई स्पर्श गरेको छ । निरन्तर उहाँ मेरो स्मृतिपटमा उदाउनुभएको छ । उहाँले देखाएको दिव्यपथले मलाई हरदम ब्युँझाएको छ ।
संस्कारले संस्कृति जन्माउँछ । सबै किसिमका संस्कृति परिष्कृत हुन समयको लामो अभ्यासबाट परीक्षित हुनुपर्दछ । हरेक संस्कृति सुधारोन्मुख मार्गतर्फ केन्द्रित हुनुपर्छ भन्ने आममान्यता हो, तर संस्कृतिले गलत बाटोतर्फ लागेर अट्टहास, अमङ्गल र कुकृत्य गरेका थुप्रै इतिहास छन् । यस संसारमा पश्चिमा भूगोलको संस्कृतिमा विचलन आउँदा ‘पापमोचन पत्र’ बिक्री हुन थाल्यो । व्यक्तिले जतिसुकै अन्याय, अत्याचार र कुकर्म गरे पनि चर्चमा पुगेर त्यहाँका ठूला र नामी ग्रामी उच्चपदस्थ पण्डित—पुरोहितहरुलाई धेरै धनराशि तिरेर प्राप्त गरिएको पत्रलाई पापमोचन पत्र भनिन्थ्यो । यस्तो पत्रबाट व्यक्तिले गरेको पाप मोक्ष हुन्छ भन्ने संस्कार स्थापित भयो ।
मन्त्रीबा निर्धक्क हुनुहुन्थ्यो, वैदिक संस्कृति र यसको विशेष गहिरो अनुभूतिमा आनन्दित हुनुहुन्थ्यो । उहाँ जातले गुरूङ हुनुहुन्थ्यो, तापनि व्यवहार र आचरणले ब्राह्मण हुनुहुन्थ्यो । ‘ब्राह्मण’ शब्द पूर्वीय वैदिक सभ्यताको पूज्य शब्द हो । व्यक्तिलाई उसको पवित्रतम आचरण र व्यवहारको आधारमा मूल्याङ्कन गरी बहुतै ठूलो उच्च चिनारी गराउन प्रयोग गरिने शब्द हो ब्राह्मण शब्द, तर पछिल्ला दिनमा जनै धारण गर्ने निश्चित जातीय सम्प्रदायको बाहुन वर्गलाई ब्राह्मण भनिन थालियो । यस्तो व्यवहारले यस शब्द र यसको गहन आशयप्रति न्याय गर्न सकेन । वैदिक सभ्यता र यसको विज्ञान र दर्शनमा ‘ब्राह्मण’ व्यक्तिको जात थिएन । बिस्तारै व्यक्तिलाई जन्मजातै ब्राह्मण भन्न थालियो । संस्कृतिले लामो कालखण्डमा आफ्नो अनुहार फेर्दै रह्यो । एउटा सिङ्गो मानव बस्तीको कित्ताभित्र पनि उँचनीच, सभ्रान्त र कुलीन वर्गको जन्म भयो । वैदिक सभ्यतामाथि कलङ्कको टीका लाग्यो । मानवताको त्यत्रो विशाल लक्ष्य लिएको वैदिक धर्म—दर्शनमाथि कुठाराघात भयो ।
मन्त्रीबा यी सबै कुरा जान्नुहुन्थ्यो, बुझ्नुहुन्थ्यो र बुझाउन हरप्रयास गर्नुहुन्थ्यो । समय निर्दयी र कठोर थियो । उहाँको कुरा बुझ्न बौद्धिक कसरत गर्न सक्नुपथ्र्यो । वर्तमान समयसँगै अतीतको सभ्यतालाई मनको ऐनामा हेर्न सक्नुपथ्र्यो । मान्छेको मथिङ्गलमा बसेको छाप चाहे राम्रो होस्, अथवा नराम्रो तर त्यसबाट अलग हुन वर्षौं लाग्ने हुन्छ । मन्त्रीबाले गरेको प्रयास अवश्य प्रशंसनीय थियो तर विकट जातीय विभेदको चङ्गुलबाट समाज अहिले पनि मुक्त छैन ।
नियम–कानुन बनेका छन्, तापनि मन्दिर, पाटीपौवा सबैका निम्ति अझै पनि समान उपयोगमा आउन सकेका छैनन् । विभेदको रेखा बिस्तारै हट्दै जाने लक्षण त देखिन्छ, तर मान्छे आफैँभित्रको दम्भले गर्दा शीघ्र परिवर्तिन हुन सक्दोरहेनछ । सान, रवाफ र हैकमको शासनले निर्धोलाई कुल्चिन सक्दामात्र उन्नति गर्न सकिन्छ भन्ने दरिद्र मानसिकता जमानसिंह गुरूङ, उर्फ मन्त्रीबामा कहिल्यै देखिएन । उहाँ सरल हुनुहुन्थ्यो । सबैका निम्ति सहज उपलब्ध हुनुहुन्थ्यो । जीवनचर्या असाध्यै सामान्य व्यतीत गर्नुभयो । आफूलाई छिमेकीभन्दा भिन्न देखाउन तामसी र खर्चिलो खानपान, आहारविहार र हाइफाइको जीवनशैलीले धाकधक्कुको व्यवहार कहिल्यै गर्नुभएन । उहाँ ग्रामीण बस्तीमा बस्न रमाउने बिनापरिधानका असली योगी हुनुहुन्थ्यो । त्यसैले हुनुपर्छ, औपचारिक परिधानधारी साधकसमेतले उहाँलाई मनका योगीको रुपमा चिन्दथे होलान् । मैले जान्दासम्म दैनिकझैँ उहाँको घरआँगनमा योगीहरुको आगमन निरन्तर भइरह्यो ।
उहाँको शौचालय घरदेखि करिब सय मिटर उत्तरतर्फ निर्मित थियो ।
झिँगटा र प्रयोग अयोग्य गुन्द्रीले त्यसलाई बेरिएको थियो । समयको एउटा प्रतिबिम्ब पनि थियो, त्यो शौचालय । त्यसदिन मन्त्रीबाको घरमा गिरिजाप्रसाद कोइरालाको उपस्थिति थियो । कोइराला अत्यन्त महँगा वस्त्र र साजसज्जामा नितान्त भिन्न लाग्नुहुन्थ्यो । सुटपेन्ट, गगल्स र ह्याट्ले उहाँलाई त्यससमयका स्थानीय मान्छेहरुका माझ प्रस्टसित फरक देखाएको थियो । मान्छेका आआफ्ना भिन्न आदत र रूचि हुन्छन्, जो असाध्यै सामान्य मानवजन्य स्वभाव हुन् । मेरो स्मृतिमा छ, गिरिजाप्रसाद कोइराला पटकपटक त्यही गुन्द्रीले बेरिएको शौचालय गइरहनुभएको थियो । मन्त्रीबाको घरमा भुइँमा पलँेटी मारेर भोजन गर्नुभएको थियो ।
मन्त्रीबा सदैव दौरासुरूवाल र नेपाली ढाका टोपीमा रमाउनुभयो । कुनै पनि नयाँ विषय आइपरे तुरून्त सानो पकेट डायरीमा टिपोट गर्नुहुन्थ्यो । मैले जान्दासम्म उहाँ अध्ययनमा लागिरहनुभयो । आफूलाई समयसँग हिँडाउन प्रयास गरिरहनुभयो । अध्ययनजस्तो विषय औपचारिक मात्र हुँदैन भन्ने कुरा मैले उहाँसँग सिकेको हुँ । समयसँगै बग्न नसक्ने व्यक्तिलाई समयले नै किनारा लगाउँछ भन्ने दृष्टान्त हुनुहुन्थ्यो, उहाँ । परीक्षामा सहभागी हुन र परीक्षापश्चात् लब्धाङ्क—पत्र पाउनमात्र अध्ययन गर्ने प्रवृत्ति साँच्चै नै अर्थपूर्ण हुन सक्दैन
२०७७ साल पौष १४ गते ल्होसार पर्वको पूर्वसन्ध्यामा दिव्यज्योति जुनेली गुरूङ समाजको घरमा हामी आमन्त्रित थियौँ । गुरूङ जातिको संस्कृतिमा यसवर्ष मुसा वर्ग पूरा भएर गाई वर्गले प्रवेश पाउने चक्र फिर्ने रहेछ । सो अवसरमा सम्पूर्ण संसारभरि छरिएर बस्नुभएका गुरूङ जातिका नागरिकका निम्ति सबैले आआफ्ना शुभ विचार र शुभभावका शुभ—सन्देशहरु अर्पण गरियो । यस क्षेत्रका बौद्धिक व्यक्तित्व, समाजसेवी, राजनीतिज्ञ एवम् संस्कृतिसँग समेत विशेष रूचि राख्नुहुने पृथ्वीमान गुरूङले समाजको द्रुततर विकास प्रगतिमा स्वर्गीय जमानसिं गुरूङको संस्कार हुर्किएको भनी स्मरण गर्नुभयो ।
जमानसिं गुरूङबाट सिक्नुपर्ने धेरै कुरा थिए र छन् । उहाँ अहिले ज्योतिनगर र यसवरपर सशरीर त हुनुहुन्न, तापनि धेरैको स्मृतिमा उहाँ ताजा हुनुहुन्छ भन्ने लाग्छ । उहाँले अपनाएको जीवनचर्याले राजनीतिमा मेलमिलापको नीति अनुकरण एवम् अनुसरण गर्न प्रेरित गर्दछ । फरक दल, फरक मण्डली र फरक सिद्धान्त नै भए पनि सबैसँग मिलेर विकासको रथ अगाडि बढाउन सकिन्छ भन्ने कुरा निकै मह¤पूर्ण हुन्छ । जीवनको मृत्यु शय्यामा नपुग्दासम्म व्यक्ति अध्ययनशील भइरहनुपर्छ । अस्तित्वको अगाडि व्यक्ति गौण हुन्छ ।
कुनै अहंकार, दुर्भाव, दुर्विचार, दुराचार र दुराशययुक्त जीवनले वास्तविक सुख प्राप्त गर्न सक्दैन भन्ने विचारका उहाँ अटल र सादगीपूर्ण जीवनयापनका पर्याय हुनुहुन्थ्यो । यसप्रकार, विभिन्न समाज सुधारका कर्तव्य कर्महरु गर्दागर्दै स्याङ्जा जिल्लाको पेल्काचौरमा उदाएको एउटा चम्किलो तारा चितवन जिल्ला, ज्योतिनगर गाउँको पश्चिमी सुदूरगाउँबाट सधैँका लागि भौतिक दृष्टिले अलप भयो, तर उहाँको ज्ञानज्योतिको दिव्य छविले आज पनि हामीजस्ता धेरैलाई गतिशील तुल्याइरहेको अनुभूति हुन्छ ।
Discussion about this post