केशव अधिकारी
तिप्लिङ(धादिङ) । धादिङ जिल्लाको उत्तरी भेगको सबैभन्दा विकटमा रहेको तिप्लिङ गाविसमा दैनिक उपभोग्य सामग्रीको मूल्य बजारको भन्दा तेब्बर पर्दछ । सडक सुविधा नपुगेको तिप्लिङ गाविसका गाउँबस्तीमा सामान ढुवानीका लागि खच्चरको प्रयोग गर्नुपर्दछ । ढुवानीमा धेरै खर्च लागेको भन्दै गाउँका व्यापारीहरुले बजार मूल्यभन्दा तेब्बर मूल्य बढाएर सामान बिक्री वितरण गर्ने गरेका छन् ।
तिप्लिङ गाविसको लव्दुङ, ठूलोगाउँ र लिङ्जोमा रहेका पसलहरुमा गाउँपिच्छे सामानको मूल्य फरक पर्ने गर्दछ । तिप्लिङ गाविसको ग्रामीण बस्तीमा रहेको पसलहरुमा दाल, चामल, तेल, नुन, चिनी, मसलाजन्य पदार्थलगायतका दैनिक उपभोग्य सामग्रीको मूल्य सदरमुकामको भन्दा तेब्बर भएको उपभोक्ताहरुको गुनासो छ ।
गणेश हिमालको फेदीमा रहेको जिल्लाकै सबैभन्दा विकटको बस्ती भएकाले राज्यको ध्यान पुग्न नसकेको तिप्लिङमा सुनभन्दा नुन पाउन गाह्रो हुने तिप्लिङका नरबहादुर घले बताउँछन् । तिप्लिङ गाविसमा मात्रै होइन, उत्तरी भेगको सेर्तुङ, लापा, रि र झार्लाङ गाविसका नागरिकले सदरमुकामभन्दा पनि चरम महँगीको मार खेप्न बाध्य हुनु परेको सेर्तुङका दामिरत्न तामाङ बताउँछन् । तामाङका अनुसार सदरमुकाम धादिङबेसीमा प्रतिकिलो १५ रुपैयाँ पर्ने ढिकेनुन सेर्तुङ पुग्दा ७० रुपैयाँ पर्दछ भने तिप्लिङमा पाथीको १२० रुपैयाँसम्म पर्दछ ।
सडक सञ्जालले नछोएको धादिङको उत्तरी भेगको पाँचवटा गाविसका बासिन्दाले बर्षौदेखि यस्तो समस्या भोग्दै आएका छन् । बर्षायाम सुरु भएपछि ग्रामीण सडकमा सवारी नचल्ने भएपछि उत्तरी धादिङको पाँच गाविस प्रवेश गर्ने मुख्य नाका दार्खा गाविसको घ्यान्साङमा यतिबेला सामान ढुवानीका लागि गाउँलेहरुको भीड लाग्ने गरेको छ ।
घ्यान्साङ धादिङबेसीबाट सात घण्टाको यात्रापछि पुग्न सकिन्छ । सदरमुकामबाट घ्यान्साङसम्म मोटर पुगेपनि त्यहाँबाट भने खच्चरमार्फत या भरिया लगाएर सामान बोक्नुपर्ने बाध्यता रहेको झार्लाङ गाविसका मंग तामाङ बताउँछन् । व्यापारीले खच्चरमार्फत सामान बोकाए पनि न्यून आय भएका गाउँवासीले भने घ्यान्साङबाट आफैँले बोकेर खाद्यान्न लैजाने गरेको पनि तामाङले बताए ।
घ्यान्साङबाट खच्चरलाई बोकाएर सामान लैजाँदा सेर्तुङसम्मको प्रतिकिलो २० रुपैयाँ, तिप्लिङ ठूलो गाउँ २५ रुपैयाँ, लव्दुङ ३० रुपैयाँ र लिङ्जो पु¥याउँदा ३५ रुपैयाँ भाडा लाग्ने गरेकाले गाउँमा सामानको मूल्य पनि महँगो हुन पुगेको खच्चर व्यवसायीहरु बताउँछन् । तिप्लिङ गाविसमा मात्रै सामान ढुवानीका लागि ६० वटा खच्चर रहेका छन् ।
बर्षा लागेपछि सदरमुकामदेखि घ्यान्साङसम्मको मोटरबाटोमा मोटर नचल्ने भएपछि बर्षौअगावै सामान ढुवानीका लागि गाउँवासी बजार आइपुग्ने गरेको स्थानीयवासीले बताए । खच्चर लगाएर सामान लिएर जाँदा पनि तिप्लिङमा दुई दिनसम्म, सेर्तुङ, झार्लाङ, री र लापामा डेढ दिनसम्म लाग्ने भएपछि ज्याला बढ्दै गएर सामानको मूल्य महँगो हुन पुगेको तिप्लिङका सामाजिक कार्यकर्ता चन्द्र तामाङले बताए ।
मान्छे लगाएर सामान ढुवानी गर्नुपर्दा झनै पर्ने तामाङको भनाइ छ । जिल्लाको उत्तरी भेगको तिप्लिङ र छिमेकी गाविसहरुमा अहिले एक केजी चिनीको १३० रुपैयाँ पर्छ भने एक किलो ढिके नुनको ६० रुपैयाँ, आधा लिटरको भटमासको तेलको १२० रुपैयाँ, सदरमुकाममा १३ सय रुपैयाँ पर्ने ३० केजीको एक बोरा सोनामन्सुली चामलको २३ सय रुपैयाँ तिरेर खरिद गर्न उपभोक्ताहरु बाध्य छन् । आयश्रोत केही नभएका सर्वसाधारणले किनेर खानसमेत नसक्ने अवस्था रहेको गाउ ँवासी बताउँछन् ।
अन्नबालीका रुपमा मकै र कोदो फले पनि न्यून उत्पादनका कारण अधिकांश परिवार बजारको खाद्यान्न किनेर खान बाध्य हुने गरेका छन् । तिप्लिङको अधिकांश बस्तीमा आलु उत्पादन भए पनि नजिकै बजार नभएका कारण आलुले बजार नपाएको चन्द्रले बताए । केही परिवारले भेडा र चौंरी पालनबाट आयआर्जन गरी जीविकोपार्जन गर्दै आएको तिप्लिङ गाविसका पूर्व अध्यक्ष फैसिंह घलेको भनाइ छ ।
Discussion about this post