नारायणगढ । नेपाली गजल साहित्यका अन्वेषकको रुपमा परिचित गजलकार आवाज शर्माले शनिबार चितवनका स्रस्टामाझ गजल सुनाएका छन् ।
२०६३ सालमा स्थापना भएको गजल मञ्च चितवनको आयोजनामा गजलकार शर्माले करिब एक दर्जन गजललाई लयात्मक शैलीमा आवाज दिएका हुन् ।
कोरोना भाइरस संक्रमण जोखिमका कारण लामो समयदेखि आयोजना गर्न नसकेको साहित्यिक कार्यक्रममा शनिबार भने चितवनका गजल स्रष्टाहरुले शर्माको गजलमा आनन्द लिए । मायाप्रेमसँग सम्बन्धित विषयमा बढी कलम चलाउन सक्ने बताउँदै शर्माले प्रेमिल गजलमार्फत मन्त्रमुग्ध तुल्याए ।
गजल वाचन हुनुपूर्व भएको संक्षिप्त गजलवार्तामा उनले नेपाली गजल विधामा अझै पनि सक्षम गजलकारको उपस्थिति न्यून रहेको बताए । वर्षैपिच्छे नयाँनयाँ स्रष्टाको जन्म भए पनि गजलकारका गुरू भनेर चिनिनेहरुबाटै नयाँ स्रष्टाले राम्रा गजल लेखनबारे अभ्यास गराउन नपाएको उनले बताए ।
गजल मञ्च चितवनका अध्यक्ष द्वारिका नेपालले गरेको गजलवार्तामा समग्र नेपाली गजलको समसामयिक सन्दर्भमा कुराकानी भएको थियो ।
Discussion about this post