मञ्जुश्री कन्या स्कुल, जहाँ छात्राहरु मात्रै अध्ययनरत छन् । त्यस विद्यालयमा भर्खरै मात्र एक जना नयाँ शिक्षिका आएकी थिइन्, जो ज्यादै सुन्दर हुनुको साथसाथै शिक्षण पेसालगायत अन्य अतिरिक्त क्रियाकलापहरुमा पनि साहै्र अब्बल । छोटो समयमा नै उनी सबै छात्राहरुको प्रिय शिक्षिका बन्न पुगिन् । सायद, उनी अविवाहित भएर पनि होला सबैसबै छात्राहरुको प्रिय मिस बनेकी ।
एकदिन सबै छात्राहरु उनै शिक्षिकाको वरिपरि झुम्मिएर एउटै प्रश्न राख्न थाले ।
‘मिस, हजुर किन अहिलेसम्म अविवाहित ? किन बिहे नगर्नुभएको ?’
छात्राहरुको यस्तो अनपेक्षित प्रश्नले उनी एकछिन त स्तब्ध भइन् । अनि फेरि मुसुक्क मुस्कुराउँदै भनिन् :
‘म तिमीहरुलाई आज एउटा कथा सुनाउँछु ल ।’
‘हुन्छ मिस, हामी आतुर छौँ कथा सुन्नलाई ।’
‘एउटा कुनै दुर्गम गाउँमा एक जना महिलाले पाँचवटी छोरी–छोरी जन्माएकी थिइन् । उनको पति सधैँ भन्ने गर्थे– ‘यसपालि पनि छोरी नै जन्मी भने राति चोकमा लगेर फालिदिन्छु ।’ दैवको इच्छा छैटौँपटक पनि उनले छोरी नै जन्माइन् । उनका पति रिसले क्रोधित हुँदै त्यसैदिन राति त्यो सानो, अबोध बच्चीलाई घरभन्दा केही पर चोकनेरको झाडीमा छाडी उनी घर फर्किए । उता, ती महिला भने रातभरि बिलौना गर्दै भगवान्सँग बच्चीको कुशलताको कामना गरिरहिन् । ती सानी बच्ची रातभरि कति रोइहोली ? कति छट्पटाई होली ? तर दुर्भाग्य ! उसको रूवाइको आवाज कसैको कानसम्म पनि पुग्न सकेन ।
भोलिपल्ट कामविशेषले ती पिता त्यही चोक हुँदै कतै जाँदै थिए । उनले आफ्नो बच्चा सानो स्वरमा रोइरहेको सुने । ‘कसैले पनि टिपेनछन् त यो अलच्छिनीलाई’ भन्दै घरतिरै लिएर गए । यसरी नै कयौँ रात उनले ती बच्चीलाई चोकको झाडीमा छाड्दै जाँदै गरे, तर कसैले पनि टिपेनन् । एकदिन भगवान्को मर्जी सम्झी बाध्य भएर उनले छोरीलाई घरै राख्ने निधो गरे ।
एक सालपछि महिला फेरि गर्भवती भईन् । यसपटक भने उनको कोखबाट छोरा जन्मियो । तर, छोरो जन्मिएको केही महिनापछि उनका छोरीहरुमध्ये एक छोरीको मृत्यु हुन पुग्यो । एवम् रीतले उनी वर्षैपिच्छे गर्भवती हुन थालिन् । भाग्यको लेखा भनौँ या ती जोईपोइको दुर्भाग्य, जति छोरा जन्मिँदै जान्थे त्यसको केही महिना या सालपछि नै छोरीहरुमध्ये एक छोरीले यो संसारबाट बिदा लिन्थे । उनीहरुको मृत्यु हुन्थ्यो ।
उनले वर्षैपिच्छे वर्षौटे अरु थप चार छोरा जन्माइन् । उनले छ छोरी अनि पाँच छोरा गरी एघार सन्तान त जन्माइन् । तर, पाँच छोरीहरुले भने उनलाई छाडेर गइसकेका थिए । छोरीको नाममा एउटै मात्र छोरी जीवित थिइन् । ती तिनै अबोध कान्छी छोरी थिइन् । जसलाई उनका बाबाले पटकपटक चोकमा लगेर फाल्ने कोसिस गरेका थिए, छोरीबाट उन्मुक्ति पाउनका लागि ।
केही वर्षपछि, सायद हुन सक्छ धेरै सन्तान जन्माएकी हुनाले पनि होला ती अभागी महिलाले पनि अकालमै मृत्यु वरण गर्नुप¥यो ।
समयले कोल्टे फेर्दै गयो । समयसँगै ती पाँच छोरा अनि एक छोरी पनि हुर्किंदै गए । गाउँको खेतीबारी सबै बेचबिखन भयो । सबैलाई ती बाबाले अंशबन्डा गरिदिए । कतिपय दुर्गम गाउँमा अहिले पनि छोरीलाई होइन छोरालाई मात्रै अंश दिनुपर्छ भन्ने मान्यता छ । त्यसैले, ती पाँचैभाइ छोराहरुले आआफ्नो अंश लिएर कोही मुग्लान (भारत) त कोही खाडीतिर रोजगारीका लागि गएका छन् । छोरीचाहिँ यतै एउटा कोठा लिएर आफ्नो वृद्ध बालाई पालेर बसिरहेकी छिन् ।’
‘तिमीहरुलाई थाहा छ, त्यो भाग्यमानी छोरी को हो ?’
‘मै हुँ !’
‘हो, मै हुँ ! मेरो बाबा धेरै नै वृद्ध हुनुहुन्छ । उहाँ आफैँ खाना खान अनि हिँडडुल गर्न पनि सक्नुहुन्न । उहाँको सेवा गर्ने घरमा कोही पनि छैनन् । मेरा भाइहरु कहिलेकाहीँ मात्रै आउने गर्छन्, बाबाको हालखबर बुझ्न । म नै उहाँको सहारा हुँ । विगत सम्झिएर होला सायद, आज पनि मलाई देख्नासाथ बाबा भक्कानिएर रूनुहुन्छ । यदि मैले विवाह गरेर पराईघर गएँ भने मेरो बाबाको हेरचाह कसले गर्छ, भन त । हो, यसै कारणले आजसम्म म अविवाहित नै छु ।’
ती शिक्षिकाले आफ्नो कहानी सुनाइरहँदा प्रत्येक छात्राहरुका आँखा टिल्पिलाई रहेका थिए ।
khanalrajan90@gmail.com
Discussion about this post