धनराज गिरी
संरक्षण कविता आन्दोलनको ५८औँ इपिसोड सुसम्पन्न गरी पोखरेली दाजु सरुभक्त मौलाकालिकाको भक्त बन्दै हामीसित हार्दिकता विनिमय गरेर पोखरा फर्किनुभयो, २०७१ साल वैशाख २० गते । संसार रोइरहन्छ प्रायः, यस्तो बेलामा कसैको पनि प्रतिक्रिया वा टिप्पणीको चिन्ता नगरी म निर्धक्कसित हाँस्न सक्ने मनहरुलाई हँसाउँछु । त्यो दिन गैँडाकोट एसपीएम कलेजमा केही घन्टा रमाइयो । शब्द संरक्षणले मलाई तानिरह्यो । आन्दोलनको उपादेयता र उद्देश्यका बारेमा उठेका खुलदुलीहरुका बारेमा सरुभक्त दाजुले छ्याङ्ग बनाउनुभयो र मेरो मनमा पूरै राष्ट्रिय निकुञ्ज घुम्यो ।
म स्वयम् कहिले चितवनको गैँडा, कहिले चितवन टाइगर । मलाई वनजंगल भनेपछि असाध्यै मनपर्छ । त्यहाँ रमाउने प्राणीहरु आफन्तझैँ लाग्दछन् । गजलकारज्यू, हाम्रो बारेमा पनि गजल लेखेर गाउनुहोस् । मानिसहरुको मन पगालिदिनुहोस् । बाँच्न पाउने अधिकार हाम्रो पनि
हो । जंगलको हाम्रो चरणको हरण नभएमा हामी पनि बस्तीभित्र छिरेर मान्छेको प्राण धान्ने अन्नबालीमाथि धावा बोल्दैनौँ । सामान्य मान्छेले
हामी वनवासीहरुको हृदयको भाषा बुझ्दैनन् । तपार्ईं त कवि हो, धेरै अनुभवी हो । हाम्रो बारेमा जनचेतनाको लहर ल्याइदिनुहोस् । कविजी, प्लिज !– मलाई मेरा छिमेकी गैँडा, हात्ती, बाघ, भालु, मयूर, बँदेल, बानर, चराचुरूङ्गी, घडियाल, सबैले एक स्वरमा यसो भनेझैँ लाग्यो ।
म हल्लिएँ । भित्रभित्र कताकता केके भयो । राष्ट्रिय निकुञ्जबाट पेन्सनमा निवृत्त हुनुभएका आदरणीय संरक्षणविद् रामप्रीत यादवज्यूले मलाई शून्य चोरीशिकारीका बारेमा बताउनुभयो । अर्का आत्मीय मित्र अब्दुल अन्सारीले वनमन्त्री महेश आचार्यको हातबाट सम्मानपत्र लिनुभयो । म तालको छिमेकी, उहाँहरुको दिनचर्या मेरै अगाडि । सबको ताल देख्दा यो तालले पक्कै केही गर्लाझैँ लाग्यो । मित्र श्यामकुमार शाहजीसित पनि नियमित भलाकुसारी । सबै कर्मचारी योग्य मात्र होइन, इमानदार पनि । मेरो नियमित पाठक जनक शर्मा यहीँकै कर्मचारीको आँखामा एक दिन पढेँ– सर, हाम्रो तालका बारेमा पनि यसो जावोस्न । राम्रोलाई राम्रो भन्न किन डराउने ? म धेरै दिनदेखि यसको बारेमा केही लेख्ने सोचिरहेको थिएँ ।
साँच्ची नै लोभलाग्दो र अनुकरणीय छ, यो कार्यालयको कार्यशैली । यहाँका हरेक कर्मचारीको खटाइ देख्दा म छक्क पर्दछु । यो देशका हरेक मान्छे यसरी नै खट्ने हो भने म विचार गर्दछु । छोरो राजन रिजाल पनि १७ वर्षको आइएनजीओ अनुभव बोकेर यहीँ खटिरहेछ । १०–५ होइन, बत्ती बालेर भिड्छन् । काका, यतिधेरै काम छ कि भ्याइन्नँ । आज त म बिहान ६ बजेदेखि राति ९ बजेसम्म यहीँ छु । मलाई यस संस्थाले गरेको काम देख्दा केही लेख्न मन लाग्यो । आज लेखिरहेछु । यस क्षेत्रका नागरिकहरुमा चेतना भर्न पनि तालले तालतालका कार्यक्रमहरु ल्याउँछ । यो डब्लूडब्लूएफसित मात्र होइन, नेपाल सरकारसित पनि सम्बन्ध छ । देशभरि नै यसको सञ्जाल छ । पर्यावरणीय सन्तुलन बिग्रिएर हामीलाई ज्यून धौधौ भएको बेलामा यसले थोरै भए पनि राहतको काम गरिरहेछ । पर्यटन व्यवसाय हाम्रो अर्थव्यवस्थाको मेरूदण्ड हो । फगत् कृषि, पानी र पर्यटनलाई दोहन गर्न सके हामी सम्पन्न देशको सम्पन्न नागरिक बन्न सक्दछौँ ।
चितवन, राष्ट्रिय निकुञ्ज र गैँडा, त्यसमाथि सौराहा विश्वविख्यात छन् । सौराहाको प्राण गैँडा हो । केही राष्ट्रद्रोही वर्षौँदेखि गैँडाको शिकारमा लागिरहेछन् । कतैकतै त रक्षक नै भक्षक भएको पाइन्छ । लहरो तान्दा पहरो थर्किन्छ । भ्रष्ट न्यायाधीशहरु, भ्रष्ट प्रहरी प्रशासन, भ्रष्ट वन विभाग, भ्रष्ट नेता र कार्यकर्ता सबै देशका दुस्मन, मानवताका दुस्मन । यही भएर हामी जता पनि पछि परेका छौँ । सौराहा चोकदेखि सौराहा पर्यटकीय नगरी पुग्ने बाटो ६ किमी बाटोको कन्तबिजोग देख्दा मन धुरूधुरू रून्छ । यसले राष्ट्रको अन्तर्राष्ट्रिय बेइज्जत भएको छ । सुखद समाचार कतै पनि छैन । सरकारको चाला देखिरहेका छौँ । संविधान फेरि पनि आकाशको फल हुने हो कि ? यस्तो निराशा नै निराशाले घेरेको अवस्था तालजस्तो प्रोजेक्टको सुर, लय र तालले एउटा मीठो जिन्दगीको गीत सिर्जना भएझैँ लाग्दछ । यस्तैमा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले पनि वैशाख १८ नारायणी कला मन्दिरमा एउटा आशाको दियो जलाएर जानुभयो । चितवन भ्रष्टाचारमुक्त जिल्ला, यो उहाँको सपना । कामना गरौँ, उहाँको सपना साकार होस् । सभ्य र भव्य समाज निर्माणमा सुव्यवस्थापनको ठूलो भूमिका हुन्छ । चितवन यस्तो रोल मोडल जिल्ला हो, जसको अनुकरण राष्ट्रले गर्दछ । हामी पनि सगर्व भन्न सक्दछौँ– हामी चितवनवासी हौँ । तर, कुराले मात्र हौसिएर केही हुन्न । कुरा गरेजस्तो काम गर्न सजिलो हुन्न । यो भएन, त्यो भएन भनेर कुरा काट्न त सजिलै हुन्छ, आफैँले त्यो कार्यसम्पादन गर्नुपर्दा के हुन्छ ? त्यो काममा हात हालेपछि थाहा हुन्छ ।
हरियाली प्रकृतिको गहना हो । जंगल हाम्रो जीवन हो । जंगल जोगाउने भनेको मानवजीवनको सुरक्षा गर्ने हो । जंगलको महिमा यहाँ यो सानो लेखमा गाएर सकिन्न । पर्यावरणीय असन्तुलन भएमा मानवजीवन नै असन्तुलित हुन्छ । फेरि सरकारको यो तालजस्तै एक–दुई प्रोजेक्टको मात्र मुख ताकेर हामी गन्तव्यसम्म नपुग्न सक्छौँ । जनस्तरबाटै चेतनाको दियो बालेर हातेमालो गरिने हो भने वन र वन्यजन्तुको संरक्षण हुन्छ, मानवजीवनको पनि संरक्षण हुन्छ । आवश्यकता हो, जनसहभागिताको । अझै पनि हामी नेपाली खान जान्दैनौँ । दिसा गरेर हात साबुन–पानीले धुनुपर्दछ, यस्तो नारा बनाउनु परेको छ । खुला दिसापिसाबमुक्त क्षेत्र भन्नु परेको छ । लाज मर्नु ! चेतनाको ओभर डोज आवश्यकता छ नेपालीलाई । निराशै हुनुपर्ने स्थिति छैन र सारै उत्साहित हुँदा पनि हतार गरेझैँ हुन सक्छ ।
बुद्धि र विवेक दुर्लभ चीज रहेछन् । क्षणिक लाभका लागि मान्छेले जे पनि गर्दोरहेछ । पुस–माघको जाडोबाट जोगिन घरमै आगो लगाएर न्यानोको व्यवस्था गर्न बेर मान्दैन नेपाली । वनजंगल, हरियाली, वन्यजत्नु, चराचुरूङ्गी, पानीको स्रोत आदिका बारेमा जनचेतना जगाउनुपर्दछ । प्राइमरी स्कुलको तहबाटै पर्र्यावरणीय शिक्षाको व्यवस्था गर्नुपर्दछ । प्राइमरीमा परेको छाप जीवनभरिका लागि हुन सक्छ, हुन्छ ।
सम्पूर्ण चितवनवासी सचेत नागरिकहरुसित लेखक यही अनुरोध गर्दछ– नारामा होइन, भाषणमा होइन, व्यवहारमा हराभरा चितवन बनाएर देखाऊँ । हाम्रा सहरहरु पनि पोखराजस्तो सफा र स्वच्छ बनून् । घडेरी, घडेरी र घरैघर होइन, जता पनि बाह्रैमास खेतीपाती भएको देख्न पाइयोस् । अभागी र कुरुप काठमाण्डु नबनोस्, हाम्रो प्यारो चितवन । नारायणीको पानीजस्तै, दाजु प्रभातकुमार जोशीज्यूको गीतजस्तै, गोविन्दराज विनोदीजीको कविताजस्तै बनोस् यो चित्रवन, विचित्रवन । यहाँ आएपछि घुमेर फर्किएपछि हाम्रा पर्यटकहरु फेरिफेरि पनि आइरहन मन गरुन् । पर्यटकहरुको मन कब्जा गर्न सकौँ हामी । जनता एकजुट भएर तालको तालमा हामीले हाम्रो पनि सुर–ताल मिलाएमा हाम्रो जिन्दगी मीठो गजलजस्तै हुन्छ । यो चितवन एउटा सुन्दर वाटिका बन्न सक्दछ । हामी प्रकृतिमाथि अनेक गीत, कविता, गजल लेख्न सक्छौँ । संरक्षणको भाव आफैँभित्र जगाऔँ । राइनोसित हृदयको साइनो गाँसौँ । हामी सबैको कल्याण हुनेछ । चितवन जिन्दावाद !
Discussion about this post