भरतपुर । चितवने गायक परशुराम पाण्डेको नयाँ गीत ‘माया दिन्छु अपार’ सार्वजनिक भएको छ । आइतबार आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । शब्द लेखन र संगीतसमेत गायक पाण्डेकै रहेको गीतमा मनोहर सुनामले संगीत संयोजन गरेका हुन् । चितवनकै पर्यटकीयस्थलहरुमा छायाङ्कन गरिएको गीतमा जलविरे झरना, नारायणी नदीकिनार, लाइम एण्ड लेमनलगायतका स्थान समेटिएका छन् ।
वर्तमान समयका चर्चित अनुहार सुधीर श्रेष्ठ र दीपा शर्माले अभिनय गरेको भिडियोमा गायक पाण्डेलाई पनि देख्न सकिन्छ । सुरेश चौधरीको निर्देशनमा प्रवेश पण्डित, प्रितम कार्की, विजय नेपाली र अर्जुन चापागाईंले खिचेको भिडियोलाई सुरेश चौधरीले नै सम्पादन गरेका छन् । गीत र गीतको भिडियो उत्कृष्ट बनेकोले दर्शक तथा स्रोताको रोजाइमा पर्नेमा आफू ढुक्क रहेको गायक पाण्डेले दाबी गरे । पछिल्लो समय लोक आधुनिक शैलीका गीतहरु बजारमा आइरहेका बेला आधुनिक कब्वाली शैलीमा बनेको यो गीतले फरकपनको अनुभूति दिलाउने उनको भनाइ छ ।
‘के लानुछ र मरेर’ (लोक चुट्का भजन) र ’जय शिव शंकर’ बोलको (शिव भजन)बाट चर्चा कमाएका उनले आधा दर्जनभन्दा बढी भजन गाइसकेका छन् । उनी चितवनमै रहेर संगीत प्रशिक्षण दिइरहेका छन् ।
Discussion about this post