नेपालमा बलात्कार तथा यौन दुव्र्यवहारसम्बन्धी आपराधिक घटनाहरुको वृद्धि भइरहेको छ । पछिल्लो समय हरेक दिनजसो बलात्कारका समाचार आउँछन् । बलात्कार तथा यौन हिंसाविरूद्ध महिला तथा अधिकारकर्मीको सक्रियता बढिरहेको छ । प्रहरी र नागरिक समाजले पनि यस्ता घटना निरूत्साहित गर्न तदारूकता देखाउँदै आइरहेका छन् । तर, यस्ता घटना कमी आउनभन्दा पनि बढेको बढ्यै छ । कानुनमा १० वर्षभन्दा कम उमेरका बालिका बलात्कृत गर्नेमाथि १० देखि १५ वर्षसम्म कैद तथा १० देखि १४ वर्षका बालिका बलात्कार गर्नेलाई ८ देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ । तर, अधिकांश बलात्कारीहरु कानुनले व्यवस्था गरेअनुसार सजायको भागिदार बन्ने गरेको पाइँदैन । बलात्कारीलाई कानुनबमोजिम सजाय हुन नसक्दा समाजमा यौन दुव्र्यवहारका घटनाहरुले प्रश्रय पाइरहेका छन् ।
प्रायः मध्य तराईका जिल्ला तथा पश्चिमका नवलपरासी, रुपन्देही र कपिलवस्तुमा पछिल्लो समय बलात्कार तथा यौन दुव्र्यवहार बढिरहेको पाइएको छ । प्रहरीका अनुसार यस क्षेत्रमा चालू आर्थिक वर्षको १० महिनामा मात्रै १३० बलात्कारका घटना भएका छन्, गत वर्ष १२८ घटना भएका थिए । बारा जिल्लामा दुई वर्षयता १६ जना बालिका बलात्कारबाट पीडित भएका थिए । यस्तै, रौतहटमा ११ महिनामा ११ बालिका बलात्कारको शिकार भए । पर्सामा नौ महिनाभित्र ६ नाबालिका बलात्कृत भएका छन् । यसैगरी, मकवानपुरमा १० जना बलात्कृत भए, जसमा ४ वर्षीया नाबालिकादेखि १५ वर्षीया बालिकासम्म छन् । गत वर्ष १३ बालिका बलात्कारको शिकार भए । रुपन्देहीमा १० महिनाभित्र १७ बालिका बलात्कारमा परेका छन् । कपिलवस्तुमा पनि १० महिनामा १४ बालिका बलात्कारबाट पीडित बनेका छन् । यी प्रतिनिधि घटनामात्र हुन् । देशव्यापी तथ्यांक हेर्ने हो भने बलात्कारका घटनाको अवस्था कहालीलाग्दो छ ।
सार्वजनिक भएकामध्ये धेरैजसो बलात्कार तथा यौनहिंसाका घटनाहरु समाचारै नबनी सेलाइरहेका छन् । गाउँघरमा भएका घटनाहरु स्थानीयस्तरमै लुकाउने र भित्रभित्रै मिलाउने संस्कारले दोषीहरुको मनोबल बढिरहेको छ । कमजोर शारीरिक÷मानसिक अवस्था र विपन्नताका कारणले पनि अपराध बढेको पाइन्छ । बालिकामाथि हुने यौन दुव्र्यवहारका घटनालाई आर्थिक÷सामाजिक अवस्थाले बढी मलजल गरिरहेको पाइन्छ । प्रतिकार गर्न नसक्ने, डर–त्रास र संकोचजस्ता कमजोरीका कारण बलात्कारीले उन्मुक्ति पाउने गरेका छन् । बलात्कारसम्बन्धी फितलो कानुन र नैतिकताको अभावले यस्ता घटनाको पुनरावृत्ति भइरहेको छ । पीडितले पाएको सजाय बाहिर ल्याउन नसक्दा पनि यस्ता घटनाले प्रश्रय पाउने गरेको छ । दोषी जोकोही होस्, कानुनी कठघरामा ल्याएर कारबाही हुनैपर्दछ । र, अबको नयाँ संविधानमा बलात्कार तथा यौन दुव्र्यवहारसम्बन्धी घटना निरूत्साहित गर्न कडा कानुनी व्यवस्था हुनु जरूरी छ ।
Discussion about this post