डा. टीकाराम पोखरेल
नयाँ नेपालको बहस अझै सकिएको छैन, बरू अलि मत्थर भएको छ । जनआन्दोलन २०६२÷६३ बाट देखिएको नयाँ नेपालको सपना बिपनामा परिणत हुन नसकेपछि विगत केही वर्षदेखि नयाँ शक्तिको बहस चल्न थालेको छ । विद्यमान शक्तिबाट नयाँ नेपाल नबन्ने देखेर हो वा विरक्तिएर हो अथवा आफू विद्यमान शक्तिमा नअटाउने छाँटकाँट देखेर हो, नयाँ नेपालको बहसमा प्रमुख दलका केही नेताहरु नै उत्रेका देखिन्छन् । त्यसमा अरु केही राजनीतिक विश्लेषक र पत्रकारहरुले पनि साथ दिइरहेका छन् ।
नयाँ नेपाल बनाउनलाई विद्यमान शक्तिबाट सम्भव छैन र नयाँ शक्ति नै जन्माउनुपर्छ वा यस विषयमा बहस चलाउनुपर्छ भने सँगसँगै अर्को एउटा बहस पनि जरूरी छ । त्यो बहस भनेको विद्यमान शक्तिबाट किन नयाँ नेपाल बनेन ? कहाँ चुक्यो विद्यमान शक्ति ? यो आँकलन नगरी नयाँ शक्तिको बहसको औचित्य पुष्टि हुँदैन । किनभने, भोलि बन्ने नयाँ शक्ति पनि यिनै पुराना शक्तिबाट टुटे–फुटेर आएकाहरुबाट बन्ने हो । अर्को ब्रमाण्डबाट आएकाहरुको नयाँ शक्ति बन्ने होइन । त्यसो भए हिजो पुरानो शक्तिमा तिनै मान्छे हुँदा नयाँ नेपाल बनाउन नसक्ने, तिनै मान्छेहरु धोइपखाली गरेर नयाँ शक्तिको लेपन लगाउनासाथ तिनीहरु कसरी नयाँ शक्ति बन्ने र कसरी तिनीहरुले नयाँ नेपाल बनाउने ? पात्र र प्रवृत्ति उही भएपछि कसरी त्यो नयाँ शक्ति हुन्छ ? यसकारण, अब¬¬¬ नयाँ शक्ति निर्माण गर्दा विद्यमान शक्तिहरुले किन नयाँ नेपाल बनाउन सकेनन् भन्ने कुराको गम्भीर विश्लेषण हुनु जरूरी छ ।
केही असल मान्छेहरुले विद्यमान शक्तिमा रहेर नयाँ नेपाल बनाउनका लागि आफ्नो क्षमताको प्रयोग गर्न नपाएकै हो भने उनीहरुले नयाँ शक्ति जन्माउन पनि पर्छ । भनिन्छ, १० जना खराब मान्छेले देश बिगार्दैनन्, तर एउटा असल मान्छे निष्कृय बस्यो भने देश बिग्रन्छ । त्यसैले, त्यस्ता देश बनाउने क्षमता भएका तर देश बनाउने मौका नपाएका असल मानिसहरु छन् भने त्यस्ता मानिस सम्मिलित नयाँ शक्ति बन्नुपर्दछ । तर, विगतमा ती असल भनिएका मान्छेहरुले किन नयाँ नेपाल बनाउन सकेनन् भन्ने विश्लेषणबिना चाहिँ नयाँ शक्ति निर्माणको औचित्य पुष्टि हुँदैन ।
नेपालमा कति मानिस खराब छन् र कति असल छन् ? दृष्टिअनुसार त्यसको लामै सूची
बन्ला । देश बिग्रिसक्यो कि बिग्रिन बाँकी छ भन्ने बहस पनि त्यति सजिलै टुंगिँदैन होला, तर यतिचाहिँ बहस गरिरहनु नपर्ला कि देश बनेको छैन । देश किन बनेन भन्ने विषयमा एकअर्काबीच आरोप–प्रत्यारोपमा उत्रने हो भने यसको पनि लामो श्रृङ्खला बन्छ । तर, आरोप–प्रत्यारोपले पनि देश बन्दैन । त्यसैले, आजको आवश्यकता कसले देश बनाएन भनेर बहस गर्ने होइन, बरू किन देश बनेन भन्ने हो । असल मान्छेहरु आरोप–प्रत्यारोपको बहसमा उत्रिँदैनन्, जनतालाई आश्वासनका पोका पनि बाँड्दैनन्, नयाँ शक्तिका गफ मात्र पनि चुट्दैनन्, बरू आफू असल काम गर्छन् । अरुलाई आरोप नथोपरी आफ्नो काम गर्नेहरु नै देश बनाउन सक्ने नयाँ शक्तिका संवाहक हुन सक्तछन् ।
नयाँ नेपाल बन्न नयाँ शक्ति अपरिहार्य छ भने नयाँ शक्तिका लागि नयाँ सोचसहितको नेतृत्व आवश्यक छ । अब पुरातन सोच बोकेका नेताहरुबाट देश बन्दैन, नयाँ सोचसहितको नेतृत्वले मात्र देश बन्छ । नेतामा त¤व जोडेपछि नेतृत्व बन्छ तर विडम्बना, हामीकहाँ त¤व नभएका नेतृत्वको रहरचाहिँ भएका नेता मात्र छन् । जो आफ्नो मुठ्ठीमा सबैलाई घुमाएर नेतृत्वको भ्रम सिर्जना गर्न खोज्दछन् । विधिलाई कुल्चनुलाई आफ्नो सफलता ठान्छन् । स्मरण रहोस्, व्यक्तिभन्दा विधि ठूलो हो । विधिलाई मुठ्ठीमा पारेर कोही पनि सफल नेतृत्व दिन सक्दैन ।
नेतृत्व भनेको पद होइन– सोच, सीप र कार्यदक्षता हो । तर, पदलाई नेतृत्व बुझ्ने बुझाउने भ्रमले गर्दा आज नेताहरु नेतृत्व लिन र दिनबाट चुकेका छन् । सबै हारजितको लडाइँमा मात्र होमिएका छन् । नेतृत्व भनेको लडाइँको मैदानमा अरुलाई जित्नु होइन, बरू आफूले आफूलाई जित्नु हो । आफूले आफूलाई जित्नु भनेको आफ्नो सोचाइ, सीप र कार्यदक्षताको विकास हो, आफ्ना व्यक्तिगत स्वार्थलाई जित्नु हो ।
भनिन्छ, संसारमा सृष्टि गलत छैन, बरू दृष्टि गलत छ । दृष्टिदोषले नै आफ्ना स्वार्थको जालमा मान्छे आफैँ फसेको छ । आजको मान्छे आफ्नै संकुचित सोचाइको जंगलमा आफैँ हराएको छ । देश बनाउने जिम्मा पाएकाहरुमा एकातिर विषयको ज्ञान र सीपको कमी छ भने अर्कातिर अलिअलि भएको ज्ञान, सीपलाई पनि आफ्ना नकारात्मक प्रवृत्तिले थिचेको छ । नकारात्मक प्रवृत्ति नयाँ नेपालको बाधक बनेको छ । नयाँ शक्तिका हिमायतीहरुले जबसम्म आफ्ना प्रवृत्तिमा सुधार ल्याउँदैनन्, तबसम्म नाममात्रको नयाँ शक्तिले नयाँ नेपाल बनाउन सक्तैन ।
नेता र नेतृत्वबीचको भ्रम नचिरी अब नयाँ शक्ति बन्न सक्तैन । नेता सधैँ आफूमात्र माथि जान खोज्छ, नेतृत्वचाहिँ सधैँ सहकार्यमा विश्वास गर्दछ । त्यसैले, नेतृत्वले सधैँ अरुको हात तान्छ र सबैलाई माथि उठाउँछ र आफू पनि माथि उठ्छ । तर, नेताले सधैँ अरुको खुट्टा मात्र तान्छ, अरुलाई पछार्ने काममा लाग्दा आफू पनि पछारिन्छ । विडम्बना, हाम्रो समाजमा खुट्टा तान्नेहरु प्रशस्तै छन् तर हात तान्नेहरु छैनन् । अरुलाई वक्रदृष्टिले हेर्नेहरु छन्, तर काँधमा काँध मिलाउनेहरु छैनन् । हातका औँला ठड्याउनेहरु छन्, तर हात मिलाउनेहरुको अभाव छ ।
सफल नेतृत्वले जहिले पनि आफूजस्तै नेतृत्व दिन सक्नेहरु तयार गर्दछ, तर नेताहरु जहिले पनि पिछलग्गु मात्र तयार गर्छन् । त्यसैले नेताहरु सर्वसम्मत नेतृत्व दिन सत्तैmनन्, मात्र एउटा पार्टीको, पार्टीभित्र पनि एउटा गुट–उपगुट विशेषको मात्र नेता बन्छन् । त्यही गुट निर्माण गर्न सक्नुलाई नै आफ्नो सफलता ठान्छन् र सानो घेरामा रमाउँछन् । उचाइमा भन्दा होचाइमा रम्ने प्रवृत्ति नेताहरुमा देखिन्छ । त्यसैले त यहाँ नेताको कमी छैन, तर नेतृत्वको खडेरी छ ।
नेता भनेको व्यक्ति हो, तर नेतृत्व भनेको एउटा प्रकृया हो । नेतृत्व चुनाव जितेर पाइने कुरा होइन, सोच र सीपले प्राप्त हुने कुरा हो । नेतृत्व साँघुरो घेरामा फक्रन र फुल्न सक्तैन, फक्रन र फुल्न नेतृत्वले फराकिलो मैदानमा आफूलाई उतार्न सक्नुपर्दछ । नेतृत्वले सधैँ अरुलाई स्वीकार गर्न सक्नुपर्दछ । जसले अरुलाई स्वीकार्छ, तब उसलाई अरुले पनि स्वीकार गर्दछन् । सम्मान र समर्थन मागेर वा आदेश थोपरेर पाइँदैन, कमाउनुपर्दछ । कमाउनु भनेको अरुलाई सम्मान दिनु हो ।
नेतृत्व भनेको सफल मान्छे मात्र पनि होइन, बरू असल मान्छे हो । सफलताको दौडमा उत्रनेहरु नेतृत्व दिन योग्य हुँदैनन् । सफलताको कुर्सी दौडेर पाइने म्युजिकल चियरको खेल होइन, बरू असल नेतृत्व दिन सक्यो सफलता आफैँ प्राप्त हुने कुरा हो । प्रकृतिको नियम नै हो, जहाँ सुगन्ध हुन्छ त्यहाँ हरेक मान्छे झुम्मिन्छ । नेतृत्वमा सुगन्ध हुनुपर्दछ, जहाँ सबै झुम्मियून । सुगन्धबिनाको नेतृत्व र चरित्रबिनाको व्यक्तित्वको कुनै अर्थ छैन । उद्देश्य एक लिनु उडी छुनु चन्द्र एक भनेझैँ नेतृत्वले सानो उद्देश्य लिनुहुँदैन । भारतका पूर्वराष्ट्रपति अब्दुल कलामले भनेझँै सानो उद्देश्य लिएर बाँच्नु जीवनप्रति नै अपराध हो । जीवनमा हीनताबोध भएकाहरु कहिल्यै नेतृत्व दिन सक्तैनन् । नेतृत्व दिन नसक्नेहरुले कहिल्यै नयाँ नेपाल निर्माण पनि गर्न सक्तैनन् ।
Discussion about this post