रामपुर । चितवनको भरतपुर महानगरमा निर्माणाधीन क्रिकेट रङ्गशालामा शनिबारदेखि सुरू भएको गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नारायणी टिम विजयी भएको छ ।
बागमती टिमलाई सुपर ओभरमा पराजित गर्दै नारायणीले विजयी सुरूवात गरेको हो । सुपर ओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको बागमतीले २० रनमात्र बनाउन सक्यो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको नारायणीले करण केसीको लगातार तीनवटा छक्काको मद्धतमा २५ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएका ज्ञानेन्द्र मल्लले तीनवटा छक्का हानेका थिए ।
यसअघि बागमतीले दिएको ११८ रनको लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा नौ विकेट गुमाएर ११७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । शनिबारको खेलको ‘म्यान अफ दी म्याच’ करण केसी भएका छन् ।
नारायणीका आरिफ शेखले सर्वाधिक ४४ रन बनाए । पहिले ब्याटिङ गरेको बागमतीले आठ विकेट गुमाएर ११७ रन बनाएको थियो । उसका लागि सुनिल धमला र विक्रम सोबले समान ३७ र ३७ र रसिद खानले २७ रन बनाए । नारायणीका लागि शाहव आलमले तीन र दिपेश श्रेष्ठले दुई विकेट लिए ।
बागमती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा निर्माणाधीन रङ्गशालाको नमुना मैदानमा प्रतियोगिता भएको हो ।
प्रतियोगिताको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्य भण्डारीले उद्घाटन गरेका थिए । प्रतियोगितामा बागमती, राप्ती र नारायणी गरी तीनवटा समूह सहभागी भएका छन् । बागमतीको कप्तानमा ज्ञानेन्द्र मल्ल नारायणीको कप्तान सुवास खकुरेल र राप्तीको कप्तानमा विनोद भण्डारी छन् ।
प्रतियोगिताको दोस्रो खेलमा आइतबार बागमती र राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्ने छन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर ३० गते हुने आयोजकले जनाएको छ ।
कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै गौतमबुद्ध कपमा दर्शकहरुलाई भने आमन्त्रण गरिएको छैन ।
Discussion about this post