भरतपुर । बेवारिसे शव व्यवस्थापन गर्न भरतपुर नगरपालिकाले जिल्ला वनअधिकृतको संयोजकत्वमा सामुदायिक वनका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ । स्थानीय सामुदायिक वनमा शव व्यवस्थापन गर्दै आइरहेको नगरपालिका सामुदायिक वनमा पनि किचलो भएपछि उचित ठाउको खोजीमा छ ।
भरतपुर नगरपालिका क्षेत्रभित्र ५ वटा सामुदायिक वनहरु रहेपनि जलदेवी सामुदायिक वनमा नगरपालिकाले शव व्यवस्थापन गर्दै आएको छ । नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले शव व्यवस्थापनका लागि केही समय स्थानीय सामुदायिक वनको सहकार्यमा काम भए पनि यसले दीर्घकालीन रुप लिन नसकेपछि सरोकारवालासँगको छलफललाई तीव्र पारिएको बताउनुभयो ।
बेवारिसे शव गाड्नुपर्ने प्रावधान रहेका भन्दै उहाँले शव व्यवस्थापनका लागि सम्भावित ठानिएका सबै वन क्षेत्रभित्र सामुदायिक वन भएकाले समस्या परेको बताउनुभयो । यसअघि नै चुनौतीपूर्ण बनेको बेवारिसे शव व्यवस्थापन कार्यलाई सहज बनाउन कार्यकारी अधिकृतको संयोजकत्वमा ९ महिनाअघि समिति गठन भए पनि सामुदायिक वनहरु छलफलमै सहभागी नभएपछि काम गर्न सकेको थिएन ।
महिनामा सरदर २० वटा शव भनपाले व्यवस्थापन गर्दै आएको छ । वार्षिक न्यूनतम पनि ७ लाख रुपैयाँ शव व्यवस्थापनका लागि मात्रै खर्च हुने गरेको नगरपालिकाले जनाएको छ ।
Discussion about this post