भरतपुर । नगरपालिकाले ट्राफिक र ट्राफिकले नगरपालिकालाई जिम्मेवारीको चोर आँैला तेस्र्याउँदा नारायणगढ र भरतपुर क्षेत्रको पार्किङ भने अव्यस्थित देखिएको छ । पार्किङ व्यवस्थापनको जिम्मेवारी पन्छाउँदा बजार कुरूप बनेको छ ।
पार्किङ अस्तव्यस्त भएपछि केही दिनअघि मात्रै नारायणगढस्थित फुटपाथमै मोटरसाइकल पार्किङ स्थल रेखाङ्कन गरिएको थियो । पहेँलो डोरा तानेर रेखाङ्कन गरिएपनि त्यो प्रस्ट देखिँदैन ।
अर्कोतर्फ मोटरसाइकल चालकहरु पनि त्यस क्षेत्रमा पार्किङ गर्नुपर्नेबारे सूचीत नहुँदा समस्यामा परेका छन् । पार्किङ स्थल तोकिएको बारे आफूलाई थाहा नभएको बताउँदै दिव्यनगरका एक युवकले सडकछेउमा पार्किङ गर्दा ट्राफिकले कारबाही गरी राजस्व लिएको गुनासो गरे ।
एक पटकका लागि कारबाही नगरी नयाँ पार्किङ व्यवस्थाबारे जानकारी दिनुपर्नेमा ट्राफिकले राजस्व असुली गर्ने नाममा सीधै कारबाही गरेको उनको दुखेसो छ । साथै उनले पार्किङ स्थलबारे केही समय जनचेतना र प्रचारप्रसार गरिनुपर्ने सुझावसमेत दिए ।
भारी मात्रामा राजस्व असुली गरेपनि पार्किङ व्यवस्थापनमा भने चितवन ट्राफिक प्रहरी अझै कमजोर देखिएको छ । नारायणगढ क्षेत्रमा विभिन्न साधनहरुको पार्किङ तथा यात्रु झार्ने चढाउने स्थान तोकिए पनि त्यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन सकेको छैन ।
सवारी चालकले पनि यस्ता चिन्हहरुको बेवास्ता गर्ने गरेका छन् । जुन काम ट्राफिकका लागि चुनौती बनेको छ । बजार क्षेत्रको पार्किङ व्यवस्थित बनाउन नगरपालिका र ट्राफिक एक भएर अघि बढ्नुको विकल्प छैन ।
Discussion about this post