–बसन्त पराजुली
भरतपुर । मतदान केन्द्र । मतदानका लागि मतदान अधिकृत तथा कर्मचारीहरु लस्करै बसेका छन् । राजनैतिक दलका प्रतिनिधिहरु पनि कर्मचारीका पछि बसेर मतदाता हुन् कि हैनन् भनेर छुट्टाउँदै छन् । मदान गर्ने मतदाता लाइनमा बसेर एकपछि अर्को गरी भोट हालेर हिँड्दैछन् । कोही दो¥याएर मतदान गर्न आउनेलाई दुई पटक भोट हाल्न पाइँदैन भनेर कर्मचारीहरुले फर्काइ रहेका छन् ।
साढे सात महिनाअघि मंसिर ४ गतेकै झल्को दिने गरी भरतपुरमा बिहीबार मतदान भइरहेको देख्दा स्थानीय रामबहादुर कुमाल दङ्ग परे । सँगै रहेका एक सहकर्मीलाई सोधे, ‘आज फेरि के को चुनाव रहेछ ।’ तिनका सहकर्मीले त्यो निर्वाचन ‘डमी’ भएको जनाए पनि उनी चकित परे ।
प्रधानमन्त्री सुशील कोइरालाले छाडेको चितवन क्षेत्र नम्बर ४ मा असार ८ गते हुन लागेको संविधानसभाको निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचनको पूर्व अभ्यासका रुपमा निर्वाचन आयोगले डमी निर्वाचन गरेको हो । निर्वाचनको बारेमा मतदाता शिक्षा दिने उद्देश्यले सो निर्वाचनको डमी गरिएको थियो ।
सो डमी निर्वाचनमा मतदान अधिकृत बनेका थिए जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल । उनले आफ्नै कार्यालयका कर्मचारीहरुलाई आफ्नो सहयोगी कर्मचारीका रुपमा लिएका थिए । मतदाताको लाइन मिलाउने सुरक्षाकर्मीको जिम्मेवारी लिएकी थिइन् महिला अधिकारकर्मी विष्णुमाया पाण्डेले ।
निर्वाचनमा ६ वटा चुनाव चिन्हमा मतदान भएको थियो । जसमा काउलीको सबैभन्दा बढी १० मत प्राप्त भएको थियो । विद्युतीय उपकरणबाट गरिएको मतदानमा आँप चिन्ह निकटतम् प्रतिस्पर्धी बन्न पुग्यो । आँपले सात भोट पाएको थियो । सो निर्वाचनमा मुलाले चार भोट, भेण्डी र मकैले छ÷छ भोट र फर्सीले दुई भोट पाएका थिए ।
निर्वाचन आयोगका आयुक्त दोलखबहादुर गुरुङको उपस्थितिमा भएको यो डमी निर्वाचनको मुख्य उद्देश्य नै विद्युतीय मेसिनका बारेमा सर्वसाधारणलाई जानकारी दिनु थियो । कार्यक्रममा मतदाता बनाइएका थिए विभिन्न राजनैतिक दलका प्रतिनिधि, पत्रकार तथा विभिन्न पेसाकर्मीहरुलाई । सो अवसरमा बोल्दै आयुक्त गुरुङले विद्युतीय मेसिनबाट गरिने मतदान धेरै सहज हुने बताए ।
‘विद्युतीय मेसिनबाट गरिने मतदान छिटो र छरितो हुनेछ’, गुरूङले भने, ‘मत बदरको संख्या पनि न्यून हुनेछ ।’ चुनाव चिन्हसँगै स्विच राखिएकाले पनि मतदान गर्न सर्वसाधारणमा पनि कुनै समस्या नहुने उनले जनाए ।
सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले निर्वाचन शान्तिपूर्ण गराउन सबैमा सहयोगको अपिल गर्नुभयो । सो अवसरमा बोल्दै चितवन क्षेत्र नम्बर ४ का मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले निर्वाचनमा सबै पक्षको सहयोग जरुरी रहेको बताए ।
‘निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित, र शान्तिपूर्ण बराउनका लागि ‘टिमवर्क’ चाहिन्छ’, उनले भने, ‘चितवनको सबै मतदान केन्द्रमा विद्युतीय मतदान भएकाले पनि सचेतना जरुरी छ ।’ नेपालमा विद्युतीय मेसिनबाट २०६४ को संविधानसभाको निर्वाचनमा पहिलो पटक मतदान गरिएको हो ।
काठमाडांै क्षेत्र नम्बर १ मा गरिएको यो मेसिनबाट मतदानलाई सोही वर्षको उपनिर्वाचनमा पनि निरन्तरता दिइयो । चितवनसहित देशका विभिन्न क्षेत्रहरुमा हँुदै गरेको यस पटकको उपनिर्वाचनमा पनि निर्वाचन आयोगले विद्युतीय मेसिनबाट निर्वाचन गराउँदै छ । आयुक्त गुरुङले भने, ‘हालै भारतमा सम्पन्न निर्वाचनमा समेत निकै प्रशंसनीय बनेको विद्युतीय मेसिन नेपालमा पनि सबैको लोकप्रिय बन्ने छ ।’
Discussion about this post