नारायणगढ । सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको वार्षिक साधारण सभा पाँच दिनसम्म गर्दैछ । सहकारी संस्थाहरूलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गर्ने गरी साधारण सभा गर्न केन्द्रीय सरकारले नै निर्देशन दिएपछि सोहीअनुसार पाँच दिनसम्म साधारण सभा आयोजना गरेको संस्थाका अध्यक्ष थीरप्रसाद धितालले जानकारी दिए । संस्थाका सेयर सदस्य संख्याको आधारमा उपस्थित गराई १३ औँ वार्षिक साधारण सभा सम्पन्न गर्न लागेको उनले बताए ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै भरतपुर महानगरपालिका सहकारी तथा रोजगार शाखा प्रमुख रामबाबु पौडेलले सरकारी निर्देशनको पालना गर्दै सबै सहकारीले संस्थाको वार्षिक साधारण सभा गर्न आग्रह गरे । कोभिड–१९ का कारण परिस्थिति फरक बने पनि संस्थाको नीति नियमभित्रै रहेर काम गर्नुपर्ने भएकोले सबै सहकारीले स्वास्थ्य सुरक्षालाई विशेष ख्याल राखेर सभा गर्न उनले आग्रह गरेका हुन् ।
संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरेले सदस्यता संख्याको आधारमा संस्थाले तोकेको स्थानमा उपस्थित भई सहभागिता जनाइदिन सम्पूर्ण सेयर सदस्यहरूलाई आग्रह गरे । सभाको अन्तिम दिन मंसिर २४ गते चित्रावती लिजर सेन्टरमा हुने कार्यक्रममा भने संस्थाको मूल्यांकनमा परेका सेयर सदस्यहरूलाई सम्मान गर्ने उनले बताए । उद्घाटन सत्रमा संस्थाका सचिव मुकुन्द्रप्रसाद गौतमले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जयराम पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Discussion about this post