१
सपनामा तिमीसँगै हुन्छु कैले कैले
अतीतका दिन सम्झी रून्छु कैले कैले
जिन्दगीको गोरेटोमा, एक्लै बरालिँदा
तड्पिएरै तिम्रो तस्बिर छुन्छु कैले कैले
टाढा हुँदा माया गाढा सधैँ हुन्छ किन ?
सम्झनामा मनमा कुरा बुन्छु कैले कैले
यो संसार उजाड अनि उराठ किन लाग्छ !
आफ्नै कथाव्यथा आफैँ सुन्छु कैले कैले
जेनतेन दुःखसुख चलेकै छ जिन्दगी
जिन्दगीले दिएका चोट गुन्छु कैले कैले
२
किन किन एक्लो महसुस हुँदैछ
भित्रभित्रै खोइ किन यो मन रूँदैछ
भाग्य खोज्दै हिँडिरहे जीवनभर
अनन्तको यात्रा जिन्दगी घुम्दैछ
सुख खोज्दै सात समुद्र डुलिरहेछु
आँसुको सागरमा जिन्दगी डुब्दैछ
चुँडिएको फूलझैँ बेवारिस जिन्दगी
मक्किएको धागोसरी नाता चुँड्दैछ
सपना थियो सजाउने हाँसो खुसीले
बिर्सिएर गन्तव्य खुसी अन्त मुड्दैछ
३
सयौँ चोट, पीडा यहाँ सहनैपर्ने रीत रैछ
हरपल बग्ने आँसु प्रभातको शीत रैछ
कसले पो बुझ्छ र यो मनका पीर, बह
कल्पनामै रमाउनु आखिरमा जित रैछ
मनमन्दिरमा सजाएर पूजा गरिरहेँ
साउनको भेलजस्तो हाम्रो प्रीत रैछ
सारा खुसीहरु दिएँ सपनाहरु सजाउँदै
कुन दैवले खोस्यो खुसी कसको हित रैछ
रून्छ मन आज सम्झी अतीतका दिन
सताउने आखिर अतीतकै गीत रैछ
४
जिन्दगी यो गलिरहेको छ
वियोगमा मन जलिरहेको छ
बाँचेकै छु बाध्यताको संसारमा
नियतिले पलपल छलिरहेको छ
खोइ कसका नजर लागे खुसीमा
कल्पनाको महल ढलिरहेको छ
जलिरहेको छु अतीतकै यादमा
मनमा आँधीबेरी चलिरहेको छ
सपना थियो सपनाकै जीवन बाँच्ने
जलेर सपनाहरु मन बलिरहेको छ
५
तिम्रो यादले नसताउने कहीँ कुनै ठाउँ छैन
छातीभित्रभित्र दुख्छ छाम्दा कतै घाउ छैन
तिम्रै यादमा जल्दैजल्दै बितेका छन पलहरु
नाता थियो मनमुटुको छोडी अन्त जाऊँ छैन
यो जिन्दगीको गोरेटोमा एक्लैएक्लै बरालिन्छु
तिमीसँग हाँस्ने रम्ने यहाँ सुन्दर गाउँ छैन
एक मुठी खुसी खोज्दै भौँतारिएकै छ जीवन
नुनसरी बिक्छन् यहाँ साँचो प्रीतको भाउ छैन
कस्तो कस्तो खेल यहाँ समयले खेलिरह्यो
जिन्दगी छ सागरबीच पार तर्ने नाउ छैन
Discussion about this post