प्रत्येक व्यक्तिसँग निश्चित कथावस्तु हुन्छ । उपलब्ध कथावस्तुको आधारमा नै व्यक्तिले जिन्दगीको अभिनय गरिरहेको हुन्छ । व्यक्ति जहाँ छ, जे छ त्यही स्थानविशेष र परिवेश उसको निजी नाट्यमञ्च हुन्छ । आफ्नै आँखाका सामु दर्शक हुन पनि सक्छन् र नहुन पनि, तर कुनै न कुनै रुपमा हरेक पात्रका अगाडि—पछाडि, दायाँबायाँ यस्ता हरदृश्यलाई अवलोकन गर्नेहरु हुन्छन् ।
यतिबेला केही दिनदेखि ९३ वर्षीय वृद्ध मेरा जेठा बाबा महेश्वर घिमिरे खाटमा आराम गर्दै हुनुहुन्छ । जीवनको लामो यात्राले धेरै कुराहरु देखायो, धेरै पाठ पढायो र घोकायो । सदैव निश्चिन्त, निडर र प्रफुल्ल भइरहने उहाँको निजी आदत हो । यो आदत नै एक किसिमले उहाँको जीवनलाई सुरम्य बनाउन मह¤वपूर्ण भयो होला । जेठाबालाई औपचारिकरुपमा कसैबाट निर्देशित भई कुनै सिद्धाान्त र नीति–नियम घोकेर जीवनको कुनै ठाउँमा त्यसको प्रयोग गर्न कसैले कक्षाकोठाभित्र भेला गराएर पढाएनन् । उहाँलाई संसारले जीवनमा आवश्यक पर्ने धेरै कुरा भने सिकायो । खेतबारीमा पसिना सिञ्चन गर्न र मेहनतले अन्न भण्डारण गर्न उहाँले राम्रै कुशलता हासिल गर्नुभयो भन्ने लाग्छ ।
बिनाकाम हात बाँधेर मुखको आदेश चलाएर बसेको उहाँलाई कहिल्यै देखिएन । प्रस्ट वक्ता र हक्की स्वभावका जेठाबाले देखेका सबै घटनालाई दुरूस्त र सचित्र प्रस्तुत गर्न कहिल्यै अल्मलिनु भएन । उहाँको जीवनले भोगेका अनगिन्ती दुःखसुख र उकाली—ओराली गर्दा बनेका धेरै कथाहरु मेरा निम्ति रूचिकर मात्र बनेनन्, अभैm शिक्षाप्रद अध्यायहरु समेत हुने गरे । सङ्घर्षहरु धेरै भोग्नुप¥यो, उहाँले । काखे उमेरमा आफ्ना मातापिताले नेपालमा चटक्कै छाडेर उ बेलाको बर्मा देश पुगेका थिए । उहाँसँगै उहाँका दुई दिदी पनि नेपालमै अनाथ भएका थिए । विसं २०३० सालमा हामी २० जना सदस्यसहितको संयुक्त परिवार बर्मा देशबाट उहाँको काखमा आइपुगेका हौंँ । त्यससमय उहाँ झिँगटाले बनेको घरमा व्यवस्थित किसिमले बस्नुभएको थियो । बरन्डामा एउटा साइकल थियो । त्यससमय यी सबै कुराले राम्रो घरपरिवारको सङ्केत गर्दथे ।
गाउँ पञ्चायतमा उपप्रधानपञ्च हुनुहुन्थ्यो । उहाँका तीन छोरा र तीन छोरी छन् । उहाँका कान्छा छोरा कृष्ण एक महिनाले मेरा भाइ थिए । मिल्दो उमेर थियो, हाम्रो । उनीसँग खेलेर मेरो बाल्यावस्था रमाइलोसँग व्यतीत भयो ।
जेठाबा पटकपटक भन्नुहुन्थ्यो, ‘कान्छा बाआमाको काख र साथ मिलेको भएता पनि मातृत्वको प्राकृतिक काखले मलाई कहिल्यै न्यानो दिन सकेन ।
उहाँका हरेक कथावस्तुको मुख्य आशय त्यही रहन्थ्यो । बाबाआमासँग पर्याप्त माया र ममता नपाएकोले पनि होला उहाँ कठोर हृदयको त अवश्य हुनुहुन्थ्यो, तर अरुको दुःख देख्नुपर्दा भने उहाँका आँखा रसाउन ढिला गर्दैनथे ।
यो उमेरसम्म आइपुग्दा उहाँका हातपाखुराले आराम गर्नै चाहेनन् । जेठाबाले एकैछिन पनि समय त्यसै खेर जान दिनुभएन । आज उहाँ बिस्तारामा पल्टिनुभएको छ । हाम्रो परिवारको ‘बाघ’झैँ ठान्थेँ मैले उहाँलाई । उहाँको यो शरीर यसरी असक्त भई ओछ्यानको शरणमा पुग्ला भन्ने त सोच नै गरेको थिइनँ । युवावस्थाका दिनलाई खुबै सम्झना गर्दै भन्नुहुन्थ्यो, ‘मैले उसबेलामा एक मुरी धान मुखले, एक मुरी धान दायाँ हातले र एक मुरी धान काँधले बोकेर हिँडेको छु ।’
‘हाम्रो पहाड घर लमजुङमा अधिकांश छिमेकीहरु गुरूङ समुदायका हुनुहुन्थ्यो । सोल्टिनीहरुले धेरैपटक जाँड खुवाउन खुब कोसिस गरे तर मैले हात जोडेरै मुक्ति पाएँ, नखानेलाई कसैले जबर्जस्ती गर्दैनन्’, उहाँ ठट्टा गर्दै भन्नुहुन्थ्यो । उहाँको जीवनको पूर्वार्धमा मांसभोजन सबैभन्दा उत्तम खाद्य सामग्री थियो । मासुको व्यञ्जन तयार पार्न उहाँ आफैँ खटिनुहुन्थ्यो । कसैले किचन हेर्नै पर्दैनथ्यो । किचन व्यवस्थापन र मासुका थरीथरीका परिकार तयार गर्नुमा उहाँको अत्यन्त गहिरो सोख थियो । जीवनको उत्तरार्धले उहाँको कायामा आमूल परिवर्तन भएको छ ।
घरसँगै जोडिएको कालिका मन्दिरमा अठार पुराणहरु वाचन गरिए । प्रत्येक पुराणको रसले उहाँमा तरङ्ग थप्दै गए । जीवन अझ थप रसमय र राममय बन्दै गयो । जीवनमा उज्यालो आउन थाल्यो । उहाँको स्वभाव बदलियो र उहाँ शाकाहारी हुनुभयो । मांसभोजन इतिहासको पानामा सुरक्षित भयो । साँझ—बिहान जपध्यान पूजा—अर्चना अनिवार्य विषय बन्दै गए । कालिका मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत हुनुभयो । उहाँले मनलाई अमिलो बनाउँदै व्यथा पोख्नुहुन्छ, ‘आफूलाई पढ्ने, विद्यालय पुग्ने र गुरूहरुबाट सिक्ने, जान्ने सौभाग्य कहिल्यै जुटेन । जिन्दगीको जोहो चलाउनमै सारा समय खर्चिन प¥यो । जे सिकेँ, अरुबाट देखेर सिकेँ । चितवनमा आएर हलगोरू चलाउन जानेँ । सधैँ आँगनमा एक थान गाडा र एक हल गोरू अनिवार्य होऊन् भन्ने लाग्दथ्यो । गाडा तान्ने र खेत जोत्ने हलगोरू मेरानिम्ति मेरो परिवारका सबैभन्दा आत्मीय सदस्य भइरहे । म गोरूलाई खुबै माया गर्थेँ । मेरो आश्रयमा रहेका ती प्राणीलाई खान दिनमा कुनै कमी गर्दैनथेँ । माटोमा उनीहरुकै पसिना पोखेर मेरो भकारी भरिन्थ्यो । मेरा गोरूले पनि मलाई खुबै माया गरेको अनुभूति थियो ।’
उहाँको भनाइ छ, ‘कतै गएर घरको आँगनीलाई मेरा पैतालाले स्पर्श गर्न आइपुग्दा ती हलगोरूले मेरो सम्मान गर्न कुनै कन्जुस्याइँ गर्दैनथे । ती दुवै गोरूले एक किसिमको लामो सास तान्दथे । दुवै कान ठाडा बनाउँथे । घाँस चपाएर बसिरहेका गोरूहरु ढिला नगरी एक्कासि र अपर्झट बसिरहेको ठाउँबाट जुरूक्क उभिन्थे । मेरो छाती ढक्क भएर गौरवले भरिन्थ्यो । मलाई मेरो निम्ति सम्मान गर्ने निर्दोष गोरूहरु थिए । भकारोमा बाँधिएका थिए तर म उनीहरुलाई एकपटक नजिकै उभिएर सुन्थेँ र उनीहरुबाट सम्मान ग्रहण गरेर मात्र घरभित्र प्रवेश गर्दथेँ । पशुहरुको चेतनाले मलाई मान्छेजस्तै निकट तुल्यायो । मेरो कृषिसँग रहेको निकट लगावले गर्दा कतिपय अवस्थामा भूलवश मेरा हलगोरूले मैसँग रातभर खेत र बारी जोतेका छन् ।’
जेठाबा अगाडि भन्नुहुन्छ, ‘उ बेलामा हामीसँग घडीको राम्रो व्यवस्था थिएन । हामी घाम हेरेर समयको अड्कल गथ्र्यौं र रात्रिको समयले धेरैपटक धोका दिएकोले म जुनसुकै समयमा पनि गोरू लिएर बारी जोत्न निक्लँदो रहेछु ।’
यी कुराहरु सम्भवतः धेरैलाई असाध्यै सामान्य पनि लाग्न सक्लान्, तर मेरानिम्ति उहाँका यस्ता धेरै प्रकारका अनुभूति र जीवनचर्याका यावत् अवस्थाहरु कुनै लेखकका कलमले टिप्न नभ्याएका ज्ञानका अनमोल खजाना मात्र लागिरहे । उहाँलाई खुबै ध्यानमग्न भएर सुनेँ । उहाँका हरेक अनुभव र सुन्दर प्रस्तुतिका प्रत्येक बसाइँ र ती क्षणलाई मूल्य दिइरहेँ । मेरा छोराछोरी र नातिनातिना पनि अग्रजसँग रहेका यस्ता दुर्लभ ज्ञानका खरखजाना बुझ्न र जान्नमा सदैव उत्साही भइरहून् भन्ने चाहना छ ।
विसं २०४९ सालमा कालिका बोर्डिङ स्कुलको स्थापना गर्न उहाँले अहम् भूमिका निर्वाह गर्नुभयो । उहाँ अहिले पनि कालिका बोर्डिङ स्कुल (प्रस्तावित कालिका संस्कारकुलम् माध्यमिक विद्यालय)का संरक्षक हुनुहुन्छ ।
विसं २०१७ सालमा लमजुङ जिल्लास्थित श्रीमन्जाङ गाउँपालिकाको दास भन्ने पैतृक थलो छोडेर आएपछि चितवनको हाल भरतपुर महानगरपालिका—२६, ज्योतिनगरमा जीवनको लगभग सम्पूर्ण उमेर खर्च भएको छ, उहाँको । उहाँ भारतीय सेनाका निवृत्त हबलदार नन्दबहादुर गुरूङ, विपी कोइरालाको क्याविनेटमा विसं २०१६ सालमा स्वास्थ्यमन्त्री हुनुभएका जमानसिंह गुरूङ र उहाँका माइला छोरा पूर्वमन्त्री इन्द्रबहादुर गुरूङसित जत्तिको निकट अरु कसैसँग बन्न सकेको मैले थाहा पाइनँ ।
उहाँ बिरामी भएर ९३ वर्षको यो उमेरमा यतिबेला जीवन र मरणको युद्ध लडिरहनुहुँदा म उहाँको नजिक उभिएर यी सबै दृश्यहरुको साक्षी भएको छु । जेठाबालाई यतिखेर अझ मह¤वपूर्ण किताबको रुपमा देखेको छु । यो किताब मैले अझै पूरा सुन्न र पढ्न भ्याएको छैन । मेरा हजुरबा ईश्वरीप्रसाद घिमिरेले ९१ वर्षअगाडि लमजुङको श्रीमन्जाङको दास भन्ने ठाउँलाई छाडेर बर्मा देश जानुपर्दाको मिहिन अध्ययन गर्न बाँकी छ । बर्मा पुगेका हजुरबाले त्यही भूमिमा मेरा पिताजी, अर्का एक जना ठूलाबा र एक जना फुपूलाई जन्म दिनुभएको थियो । एउटा नाटक न हो, आखिर हरेकको जिन्दगी ! प्रत्येक व्यक्तिसँग एउटा कथा छ र ऊ त्यही कथासँग रिहर्सल गर्छ । कथाले मागेअनुसार आफ्नो बुताबर्कतले अभिनय गर्छ र नश्वर देहलाई सक्दो उपयोग गर्छ । शरीरबाट अलग भएका दिन, मानौँ नाटकको पर्दा खस्छ र नाटक सकिन्छ । यसप्रकार जीवन, कथाले मागेअनुसारको अभिनयसिवाय केही रहेनछ ।
Discussion about this post