नागरिक दैनिकका चितवन संवाददाता र सफल खबर अनलाइनका समाचार सम्पादक सूर्यप्रकाश कँडेलको पहिलो साहित्यिक कृति हो ‘मोसो’ । चितवनमा रही पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताएका कँडेलसँग निरन्तर चौध वर्षसम्म अन्नपूर्ण पोष्ट दैनिकमा काम गरेको अनुभव छ । त्यसअघि उनले पारदर्शी दैनिकमा चार वर्ष, चितवन पोष्ट दैनिकमा दुई वर्ष, ड्रिम्स दैनिकमा डेढ वर्ष र सबैको पत्रिका दैनिक र आदर्श समाज दैनिकमा एक–एक वर्ष सम्पादकीय भूमिकामा रहेर काम गरिसकेका छन् । भरतपुरमा रहेका कालिका एफएम र हाम्रो एफएममा समाचार सम्पादकका रुपमा काम गरेका कँडेलले मूलधारको अनलाइन पहिलो पोस्ट र बिजमाण्डुमा समेत संवाददाता भई काम गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक कँडेल विगतमा चितवनबाट प्रकाशित अनावरण साप्ताहिकको सम्पादक एवम् प्रकाशकसमेत हुन् । २०५५ साल असोजमा चितवन सन्देश साप्ताहिकबाट पत्रकारिताको यात्रा सुरू गरेका कँडेल गहन समाचार र फिचर लेखनमा दख्खल राख्छन् ।
विद्यालयदेखि नै साहित्य लेखन र पठनमा रूचि राख्ने पत्रकार कँडेल समाचारबाहेक गीत, गजल, मुक्तक, हाइकु र लघु कथा पनि लेख्छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति चितवनका सल्लाहकार कँडेल पत्रकारिताभित्र विकृति बढ्दा चिन्तित छन् । त्यही चिन्ताको उपज हो ‘मोसो’ उपन्यास । पत्रकारबाट लेखक बन्न पुगेका कँडेलको पहिलो साहित्यिक कृति ‘मोसो’ आज शनिबार दिउँसो दुई बजे नेपाल पत्रकार महासंघ चितवन शाखाको सभाहल भरतपुरमा विमोचन हुँदैछ । युरेका पब्लिकेसनबाट प्रकाशित ‘मोसो’ उपन्यासको कथावस्तु पत्रकारितासँग जोडिएको छ । प्रस्तुत छ, ‘मोसो’ विमोचनको पूर्वसन्ध्यामा चितवन पोष्टले पत्रकार एवं लेखक सूर्यप्रकाश कँडेलसँग गरेको स्रष्टा संवाद :
१) पहिलो कृति ‘मोसो’ आज सार्वजनिक हुँदैछ, कस्तो महसुस भएको छ ?
— कुनै पनि सर्जकलाई आफ्नो कृति बजारमा आउँदाको क्षण आनन्ददायी हुने गर्छ । ‘मोसो’ सार्वजनिक हुँदै गर्दाको क्षणले मलाई पनि खुसी दिएको छ । पाठकको माया पाउनेमा आशावादी छु ।
२) कति समय लगाएर लेख्नुभयो ‘मोसो’ ?
पत्रकारिता पेसामा फुर्सद मिलाउन ज्यादै कठिन हुने गर्छ । त्यसैले, उपन्यास लेखनका लागि समय मिलाउनु निकै चुनौतीपूर्ण रह्यो । पुस्तक लेख्न सुरू गरेर पूरै सिध्याउन ठ्याक्कै तीन वर्ष लाग्यो । उपन्यास आधा लेखिसकेपछि बीचको नौ महिना त एक शब्द नलेखीकन पनि बित्यो । कहिले दिनहुँ लेख्थेँ, कहिले हप्तौँ लेख्ने समय मिल्थेन । तीन वर्ष लगाएर पनि पूरा गरिछाडेँ ।
३) आमपाठकले ‘मोसो’ किन र केका लागि पढ्ने ?
— उपन्यास आफैँमा एउटा बेग्लै संसार हो । त्यहाँ विभिन्न पात्र, परिवेश, घटना, वेदना, आक्रोश, द्वन्द्व, कौतुहलता हुन्छ । ‘मोसो’मा पनि यी सबै कुरा छन् । सबैभन्दा ठूलो कुरा ‘मोसो’भित्र एउटा ठूलो सामाजिक सन्देश छ । पत्रकार भन्दैमा सबै दूधले नुहाएका हुँदैनन्, पत्रकारिताको आवरणमा गलत काम पनि हुन्छन्, भएका छन् भन्ने सन्देश ‘मोसो’बाट पाइन्छ ।
४) पत्रकारिता गर्दागर्दै साहित्य लेखनमा प्रवेश गर्ने रहर कसरी जाग्यो ?
— पत्रकारितामा दुई दशकभन्दा लामो समय बिताइसकेपछि केही कुरामा असन्तुष्टि जन्मियो । पत्रकारिताको आडमा सीमित पत्रकारले गरेका नराम्रा कामले समग्र पत्रकारलाई हेर्ने सामाजिक दृष्टि धमिलो हुन थालेपछि समाजको आँखामा पत्रकारिताको सही चित्र प्रस्तुत गर्ने जिम्मेवारी बोधले पनि ‘मोसो’ लेख्न प्रेरित ग¥यो ।
पत्रकारिताको पोखरी पछिल्लो समय धमिलिएको छ । हिलो जम्न थालेको छ । त्यही हिलोको बीचमा कमलका फूलजस्ता पत्रकार पनि छन् । हिलोमा रमाउने कीरा पनि छन् । इमानको गोरेटोमा हिँडिरहेका पत्रकार कमलका फूल हुन् । बेइमानीको कमाइ गर्ने पत्रकार कीरा हुन् । यो अन्तर देखाउन पनि ‘मोसो’को जन्म हुन पुगेको हो । ‘मोसो’लाई जन्माउन साहित्य लेखनमा प्रवेश गर्नैपर्ने भएकोले म त्यतातिर तानिएँ ।
५) अरुको कृति पढ्दा र आफैँले लेख्दामा के फरक हुँदोरहेछ ?
— अरुको कृति पढ्दा कृति लेखन र प्रकाशनको काम सजिलै हुन्छ होला भन्ने लाग्थ्यो । अहिले आफैँले कृति लेखेर प्रकाशनको घडीसम्म आइपुग्दा पुस्तक लेखन र प्रकाशन सोचेजस्तो सजिलो हुँदोरहेनछ भन्ने ज्ञात भयो ।
अर्को कुरा, अरुका कृतिमा आफूले खोजेको विषय नपाउन पनि सकिन्छ । आफूले पढ्न चाहेको कुरा कसैले लेखिदेओस् भन्ने पनि हुन्छ । त्यो चाहना पूरा नहुँदा आफैँले लेख्नुपर्ने हुन्छ । आफूले लेख्दाचाहिँ आफ्नो चाहनाअनुसार लेख्न पाइन्छ, तर छाडा हुन पाइन्न । लेखनीको दायरामा रहेर आफ्नो सन्देश पाठकसामु पु¥याउँदा छुट्टै आनन्द आउँदोरहेछ ।
६) समाचार लेखनले साहित्य लेखनमा कस्तो सहयोग पुग्दोरहेछ ?
— समाचार लेखन साहित्य लेखनभन्दा सजिलो हुन्छ । समाचार लेखन प्राविधिक खालको हुन्छ । समाचार वा फिचरलाई एउटा फम्र्याटमा लेखिन्छ, साहित्य लेखन अर्को फम्र्याटमा लेखिन्छ । अझ यसरी भनौँ, समाचार लेखनको क्यानभास सानो हुन्छ भने साहित्य लेखनको फराकिलो । फराकिलो क्यानभासमा कथावस्तुका रंगहरुलाई संयोजन गरी एउटा विशाल चित्र (कृति) तयार गर्नु निश्चय नै कठिन काम हो । तर, सानो क्यानभासमा चित्र कोरिरहेको व्यक्तिलाई ठूलो क्यानभासमा चित्र कोर्न असजिलो होला, असम्भव हुँदैन । चित्र कोरिरहेको अभ्यास काम लाग्छ । मलाई पनि त्यस्तै भयो । फिचर लेखनको सीपले साहित्य लेखनमा सहयोगी भूमिका खेल्यो ।
७) तपाईं यसै पनि पत्रकार, उपन्यासमा पत्रकारिता कत्तिको झल्किन्छ ?
— ‘मोसो’ उपन्यासको प्रमुख पात्र रिपोर्टर हो । ऊ फिल्डमै गएर रिपोर्टिङ गर्छ । नायकको रुपमा ‘मोसो’मा देखा परेको पात्र कर्मका हिसाबले भने खलनायक बनेको छ । पैसाको लागि ऊ पत्रकारिताको आचारसंहिता नाघेर काम गर्छ । जसरी हुन्छ आफ्नै दुनो सोझ्याउँछ ।
‘मोसो’मा पत्रकारिताभित्रका विकृतिको चिरफारमात्रै छैन, विभिन्न उपकथा र मूलकथासँगै जोडिएर प्रेमकथा पनि आउँछ । ‘मोसो’भित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ ।
८) विशुद्ध साहित्यकारहरुले लेख्ने र समाचार लेख्नेहरुले लेखेको पुस्तकमा के फरक पाउनुहुन्छ ?
— निश्चय नै फरक हुन्छ । साहित्य लेखनमै समर्पित साहित्यकारको कृति पढ्दा जुन साहित्यिक स्वाद पाइन्छ, त्यस्तै स्वाद समाचार लेखनबाट साहित्यमा आएकाहरुको कृतिमा पाउन सकिन्न । समाचार लेख्दा सरल भाषामा लेखिने हुनाले यस्तो अन्तर आउने हो । यो अन्तरलाई कम गर्न मैले ‘मोसो’मा निकै मेहनत गरेको छु ।
९) गजल विधामा कलम चलाउने मान्छे, तपाईंबाट त पाठकहरुले गजलकृतिकै अपेक्षा गरेका थिए होलान् नि ?
— साहित्यका सबै विधाको आआफ्नै विशेषता हुन्छन् । कविता, गजल, गीतले दिने मिठास कथा, निबन्ध र उपन्यासले दिन सक्दैन । कविता, गीत, गजललाई बिम्बको प्रयोगले शक्तिशाली बनाउँछ । नाटक, कथा, उपन्यासमा लेखकको सन्देशलाई वर्णनात्मक हिसाबले प्रस्तुत गरिन्छ । लेखकले कस्तो सन्देश कुन रुपमा दिन चाहेको छ ? त्यसैअनुरुप विधा छनोट गर्नुपर्छ । मैले समाजलाई दिन चाहेको सन्देश गजल वा कथाबाट सम्भव नभएकोले उपन्यास लेख्नुप¥यो । भविष्यमा मैले लेखेका गजलहरुको सङ्ग्रह पनि बजारमा आउन सक्छ ।
१०) पछिल्लो समय समाचार लेख्नेहरु साहित्य लेखनमा हाम फाल्ने क्रम बढ्दो छ । नेपाली साहित्य पनि पत्रकारहरुले नै धानिरहेका छन् भन्ने लाग्दैन ?
— केही पत्रकारले आफूलाई साहित्य लेखनमा लैजाँदैमा नेपाली साहित्य पनि पत्रकारहरुले नै धानिरहेका छन् भन्न मिल्दैन । साहित्य लेख्नेहरुले नै साहित्य धान्ने हो । नेपाली साहित्यमा केही पत्रकारले साहित्यकारका रुपमा राम्रो परिचय बनाइसकेका छन् । मोहन मैनाली, नारायण वाग्लेलाई उदाहरणका रुपमा लिन सकिन्छ ।
११) आगामी दिनमा साहित्य लेखनलाई निरन्तरता दिने सम्भावना कत्तिको छ ?
— साहित्य लेखनको प्रमुख पाटो बजार पनि हो । बजारमा आएका कृति पाठकमाझ कति चर्चित हुन सक्छन्, त्यसले पनि साहित्य लेखनलाई मलजल गर्छ । जहाँसम्म मेरो कुरा छ, मैले साहित्य लेखनलाई निरन्तरता दिने उद्देश्यले नै पहिलो कृति ‘मोसो’ बजारमा ल्याएको हुँ । ‘मोसो’ले पाठकको अपार माया पायो भने अर्को वर्ष अर्को उपन्यास लेख्नेछु । केही विषयवस्तु दिमागमा घुमिरहेका छन् । अहिलेलाई भने ‘मोसो’को सफलता वा असफलताले नै मेरो साहित्यिक भविष्यको निर्धारण गर्ने ठानेको छु ।
tmgorkhali@gmail.com
Discussion about this post