-मधुसूदन दवाडी
भनिन्छ, १२ वर्षमा खोलो पनि फर्कन्छ तर दरबार हत्याकाण्डको १३ वर्ष बितिसक्दा पनि आममानिसहरुले हत्यारा को हो भन्ने स्पष्ट जवाफ पाउन सकेका छैनन् । जति समय बित्दैछ, घटना झनै रहस्यमय बन्दैछ । आममानिसहरु सधैँ प्रश्न गर्छन्, के युवराज दीपेन्द्रले नै मारेको हो त ? विसं २०५८ जेठ १९ गतेको मध्यरातमा भएको राजा वीरेन्द्रको वंश विनाशपछि तत्कालीन सरकारले गठन गरेको छानबिन आयोगले पूर्वयुवराज दीपेन्द्रले नशाको सनकमा गोली चलाएको भन्दै घटनाको दोषी ठह¥याएको थियो, जसमा राजा वीरेन्द्रलगायत १० जनाको मृत्यु भएको थियो । तत्कालीन अवस्थामा जे–जसरी दरबार हत्याकाण्डको छानबिन भएको थियो, त्यसमा नेपाली जनताले खासै चित्त बुझाउन सकेनन् । हत्याकाण्डमा जे–जति बाँच्न सफल भए, उनीहरुले पनि घटनाको सत्यतथ्य सार्वजनिक गर्ने साहस गरेका छैनन् । घ
टना घटेलगत्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि सारा दोष थोपरिएको थियो र सम्पूर्ण जनआक्रोश उनीतिरै सोझियो । छाउनीको सैनिक अस्पतालदेखि आर्यघाटसम्म गिरिजालाई हत्यारा भन्दै ढुंगामुढा भइरह्यो । तत्कालीन अवस्थामा गिरिजालगायत कोही पनि केही बोल्न सक्ने अवस्थामा थिएनन् । गिरिजाले विभिन्न समयमा दिएका अन्तर्वार्ताहरुमा उनलाई धेरै ढिलोमात्र दरबार हत्याकाण्डका बारेमा जानकारी भएको थियो । जानकारी भएलगत्तै उनी दरबार पुगेका थिए, त्यहाँ पुग्दा सुनसान थियो र हत्या भएको स्थलमा सम्पूर्ण रगत पखालिएको थियो । हत्या स्थलमा रगत पखाल्नुको कारणले पनि घटनालाई सुनियोजित भन्न सकिन्छ ।
अहिले त वीरेन्द्रको वंश विनाश भएको घटनास्थललाई नै भत्काएर साना प्रमाण नष्ट गरिएको छ । घटना घटेको स्थललाई किन भत्काइयो भन्ने कोहीसँग स्पष्ट जवाफ पाइँदैन । दरबार हत्याकाण्डपछि प्रधानमन्त्रीको नाताले पनि आममानिसहरु स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति आक्रोशित भएका थिए । मजबुद सुरक्षा घेराभित्र दरबार हत्याकाण्ड भएकाले पनि हत्याको लागि दरबारबाहिरका मानिसहरुभन्दा पनि भित्रकै मानिसहरु जिम्मेवार रहेको देखिन्छ । नेपालको इतिहासमा राणाकालको उदय हुनुभन्दा अगाडि भएको कोतपर्वसँग मानिसहरुले यस घटनालाई तुलना
गरे । राजतन्त्रको स्थापना भएदेखि नै बाहिर देख्दा सतही रुपमा विष्णु भगवान्को अवतारजस्तो देखिए पनि भित्र भने राजदरबारमा जाल, झेल, षड्यन्त्र, धोका, अविश्वासले भरिएको थियो । राजदरबारका पूर्वसैनिक सचिव विवेक शाहले लेखेको ‘मैले देखेको दरबार’ नामको पुस्तकमा पनि दरबार हत्याकाण्डलाई नियोजित षड्यन्त्र भनेर उल्लेख गरिएको छ ।
दरबार हत्याकाण्डकै प्रसंगमा पूर्वप्रधानमन्त्ती गिरिजाप्रसाद कोइरालाले खासै केही नबोले पनि उनले घटनालाई ग्य्रान्ड डिजाइनको संज्ञा दिएका थिए । उनले यसबारेमा खुलासा भने गर्न चाहेनन् । दरबार हत्याकाण्डसँगै देशमा अराजकता बढ्दै जान सक्ने सम्भावनालाई भने कोइरालाको शासन सञ्चालनको अनुभव र परिपक्वताले ठूलो सहयोग गरेको थियो । उनले थोरै मात्र होशियारी नअपनाएको भए देशमा रगतको खोलो बग्ने सम्भावना पनि थियो र तत्कालीन माओवादीले पनि त्यस्तै अवस्था चाहेका थिए । हत्याकाण्डलगत्तै भूमिगत अवस्थामा रहेको माओवादीका नेताहरुबाट दरबार हत्याकाण्डका बारेमा त्यस्तै सनसनीपूर्ण धारणाहरु सार्वजनिक भए । माओवादी अध्यक्ष प्रचण्डले राजा वीरेन्द्र र मदन भण्डारीको हत्या भारतले गरेको भन्दै खुला भाषण गरे । आज दुवै हत्या रहस्यमय बनेका छन् । माओवादी अध्यक्ष प्रचण्डले जे–जसरी जंगलमा रहँदा यस्ता हत्याको सत्यतथ्य बाहिर आउनुपर्छ भन्ने आवाज उठाए, उनी आफैँ सरकारमा पुग्दा भने यसबारेमा एक शब्दसम्म पनि उच्चारण गरेनन् । मदन भण्डारीको हत्यासँगै सडक संघर्षमा होमिएको एमालेले पनि पटकपटक सरकारमा पुग्दा हत्याका बारेमा एक शब्द पनि बोलेन । यस्ता हत्याकाण्डहरु राजनीतिक शक्तिहरुलाई सत्तामा पुग्ने भ¥याङजस्तो मात्र बनेका छन् ।
दरबार हत्याकाण्ड जसले गरेता पनि यस घटनाले भने नेपाली जनताको राजतन्त्रप्रतिको अगाढ आस्थालाई नै बदलिदियो । वीरेन्द्रकै भाइ ज्ञानेन्द्र राजा त बने, तर नेपाली जनताले भित्र आत्मादेखि नै उनलाई राजाका रुपमा स्वीकार्न सकेनन् । फेरि, राजा ज्ञानेन्द्रले पनि तत्कालीन अवस्थामा अनावश्यक मह¤वाकांक्षा देखाए । राजनीतिक दलहरुलाई किनारा लगाउँदै राजा महेन्द्रको पञ्चायती मोडललाई फेरि ब्युँताउने प्रयास गरे । राजनीतिक दलका नेताहरुलाई जेल हालेर पञ्चायतकालका शासकहरु तुलसी गिरी, र्कीतिनिधि विष्टलाई खोजीखोजी सरकारमा ल्याए । आमनेपाली जनताको जनचेतना र अन्तर्राष्ट्रिय परिवेशलाई बुझ्न नसकी शक्तिशाली राजा बन्ने ज्ञानेन्द्रको सपना धेरै वर्षसम्म टिक्न सकेन । राजा ज्ञानेन्द्रका हरेक कदमले गर्दा त झन् जंगलमा रहेको माओवादी र संसद्वादी दलहरुबीचमा संयुक्त मोर्चा बन्न
पुग्यो । जुन पृष्ठभूमिमा दिल्लीमा दलहरुका बीचमा १२ बुँदे सहमति भएपछि त्यसकै आधारमा देशमा दोस्रो जनआन्दोलन हुन पुग्यो, जसकै आधारमा देशमा गणतन्त्र स्थापना हुने बाटो तयार भयो । सधैँ दरबारको नजिक रहँदै आएको नेपाली कांग्रेस र बहुदलीय जनवाद भन्दै संवैधानिक राजतन्त्रको वकालत गर्ने एमालेका नेताहरुको सोच पनि दरबार हत्याकाण्डपछि बदलिन गयो । जनताले सडकमा लगाउने हत्याराको नाराले पूर्वराजा ज्ञानेन्द्रको नैतिक बल पनि कमजोर बन्न पुग्यो । त्यस्तै, पूर्वयुवराज पारसका अनैतिक क्रियाकलापहरुका कारणले पनि नेपाली जनताले ज्ञानेन्द्रको वंशलाई राजाको रुपमा स्वीकार्न चाहेनन् । पारस र ज्ञानेन्द्रका क्रियाकलापहरु जनचाहना र अपेक्षा गरेअनुसार भएको भए पनि देशमा यति छिटै गणतन्त्र स्थापना हुने सम्भावना थिएन, नेपाली जनताले बिस्तारै दरबार हत्याकाण्डलाई बिर्संदै जाने सम्भावना थियो । ज्ञानेन्द्रले दरबार हत्याकाण्डले नेपाली जनतामा पारेको पीडालाई कम गर्नेभन्दा पनि झन् घाउमा नुन छर्कने काम गरे । तत्कालीन अवस्थामा भ्रष्टाचार र बेइमानीको कारणले संसद्वादी राजनीतिक दल तथा हत्याहिंसाको कारणले माओवादीको प्रतिष्ठा गुम्दै गएको भए पनि राजा ज्ञानेन्द्रभन्दा त बरू राजनीतिक दलहरु नै पो ठीक हुन् कि भन्ने भान आमजनतालाई पर्न गयो । दरबार हत्याकाण्डपछि विकसित राजनीतिक घटनाक्रमले जंगलमा रहेको माओवादीलाई शान्तिपूर्ण संसदीय राजनीतिमा अवतरण गर्न र पुराना संसद्वादी दलहरुलाई लोकतान्त्रिक गणतन्त्रको बाटोमा लाग्न उपयुक्त वातावरण तयार ग¥यो ।
यदि दरबार हत्याकाण्ड नभएको भए देशमा यति छिटो गणतन्त्रको स्थापना हुने थिएन भन्ने पनि कतिपय विश्लेषकहरु भन्ने
गर्छन् । हत्याकाण्ड हुनुभन्दा ठीकअगाडि राजा वीरेन्द्रले तत्कालीन माओवादीसँग वार्ता गर्ने वातावरण तयार गर्दे थिए, जुन तथ्यलाई स्वयं माओवादीका नेताहरुले पनि पुष्टि गर्दै आएका छन् । विसं २०३७ सालमा नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा शान्ति क्षेत्रको प्रस्ताव राखेका थिए । उनी शान्तिप्रिय राजा भएकाले पनि तत्कालीन अवस्थामा माओवादी विद्रोहलाई दबाउनका लागि सेना परिचालन गर्न दिएका थिएनन् । प्रहरी माओवादीसँग ज्यानको बाजी लगाएर लडिरहँदा सेना भने मूकदर्शक भएर बसिरहेको थियो । सेना परिचालन गरेमा धेरै मानिसको ज्यान जान्छ भन्ने वीरेन्द्रको मनोभावना
देखिन्थ्यो । सेना परिचालनकै विषयलाई लिएर तत्कालीन अवस्थामा प्रधानमन्त्री र राजाको बीचमा विवाद पनि देखिएको थियो । माओवादी भने राष्ट्रियताको मुद्दामा दरबारसँग नजिक देखिन्थ्यो र भारतीय विस्तारवादको विरोध गर्दथ्यो । दरबार हत्याकाण्डपछि मात्र माओवादी उग्र रुपमा दरबारको विरूद्ध उत्रिएको थियो । दरबार हत्याकाण्ड अगाडिदेखि नै ज्ञानेन्द्रमा भने राजा सक्रिय रहनुपर्छ भन्दै देखिने राजतन्त्रको पक्षमा वकालत गर्दथे । एउटा संयोग भनौँ वा योजना नै भनौँ, दरबार हत्याकाण्डपछि ज्ञानेन्द्रले उनको त्यही सपना पूरा गरेर छाडे । संवैधानिक राजाबाट सक्रिए बन्न खोज्दा नै नेपालमा राजतन्त्रको दिन गन्ती सुरू भयो ।
हरेक अँध्यारोपछि उज्यालोको प्रारम्भ हुन्छ भनेजस्तै नेपालको राजनीतिक इतिहासमा दरबार हत्याकाण्ड अँध्यारो घटनाका रुपमा चिनिए पनि त्यो घटनापछि नै नेपालमा गणतन्त्रका लागि उपयुक्त वातावरण तयार हुँदै गयो । देशमा गणतन्त्रको लहर आयो र देश लोकतान्त्रिक गणतन्त्रतर्फ मोडियो । दलहरुले राजालाई नारायणहिटीबाट निकाले, तर पनि देशमा लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन भने सकेको छैन । इतिहासले राजनीतिक दलहरुलाई राम्रो अवसर र मौकाहरु दिँदै आएको भए पनि दलहरुले भने ती सबै मौकाहरु चुकाउँदै आएका छन् ।
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दोस्रो संविधानसभा फेरि अर्काे मौका हो । दलहरुबीचमा देखिएको अनावश्यक विवाद र सत्ता–संघर्षलाई हेर्दा फेरि पनि गणतन्त्र संस्थागत नहुने हो कि भन्ने अवस्था सृजना हुँदै गएको छ । दरबार हत्याकाण्ड, ज्ञानेन्द्रको प्रत्यक्ष शासन र माओवादी विद्रोहको कहालीलाग्दो अवस्थाबाट शान्ति र लोकतन्त्रको अवस्थामा मोडिएको देशको राजनीति अबको राजनीतिक दलहरुको कलह, विवाद र गुटगत स्वार्थको फोहोरी राजनीतिबाट कता मोडिन्छ, त्यो भने हेर्न बाँकी छ । अहिलेको अवस्थामा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर देशमा शान्ति र समृद्धि स्थापना गर्न सकेमा नै स्वर्गीय राजा वीरेन्द्रलाई सच्चा श्रद्धाञ्जली हुनेछ । देशमा गणतन्त्र आए पनि स्वर्गीय राजा वीरेन्द्रका कयौँ विचारहरु आजसम्म पनि त्यत्तिकै समय सान्दर्भिक र अनुकरणीय छन् । उनको नरम, शिष्ट र भद्र शैली सबै नेपालीको मन र मस्तिष्कमा ताजा भएर सधैँ रहिरहने छ, जसले जति वीरेन्द्रको विरोध गरे पनि त्यो व्यक्ति उनको व्यक्तित्वका अगाडि झुक्न बाध्य बन्दथ्यो ।
Discussion about this post